PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बुढानिलकण्ठको भेटले बालुवाटारमा हलचल, नेपाल समूहले सामूहिक राजीनामाको तयारी गर्दा ओलीको दाउ के?



प्रकाश भण्डारी

बुढानिलकण्ठको भेटले बालुवाटारमा हलचल, नेपाल समूहले सामूहिक राजीनामाको तयारी गर्दा ओलीको दाउ के?

काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले पदबाट राजीनामा दिने तयारीलाई पुनः अघि बढाएका छन्। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना माग पूरा गर्ने कुनै संकेत नगरेकाले राजीनामाको लागि तयार भएको नेपाल समूहका सांसदहरुको भनाई छ। उच्च स्रोतका अनुसार राजीनामाका लागि सोमबार नै तयारी भएको भए पनि केही सांसदहरु भने उक्त निर्णयबाट पछि हटेका थिए। हाल २० जना सांसद राजीनामाका लागि तयार भएको स्रोतले बतायो।

'राजीनामाको तयारी र निर्णय त सोमबार नै भएको हो। यो अब जतिबेला पनि अघि बढन सक्छ,' स्रोतले भन्यो।

सोमबार ओलीले आफ्नो समूहलाई अलमल्याउँदा राजीनामा रोकिएको उक्त समूहको विश्लेषण छ। यद्यपि अन्तिम समयसम्म पनि वार्ताको लागि फेरि पनि आफ्नो तर्फबाट पहल गरिने सांसदहरुले बताएका छन्।

सांसद जीवनराम श्रेष्ठले माग सुनुवाइका लागि अन्तिम घडिसम्म पनि कुर्ने बताए। 'समय जति बित्दै जान्छ त्यति नै हामी निर्णायक अवस्थामा पुग्दै जान्छौँ। तर अन्तिमसम्म पनि हामी कुर्छौँ,' उनले भने।

राजीनामा कहिले?

नेपाल समूहले आइतबार नै सामूहिक राजीनामाको लागि तयारी थालेको थियो। राजीनामाका लागि सांसदहरु सिंहदरबार जम्मा भएकोमा दोस्रो तहका नेतामार्फत ओली समूहले संवाद गर्न चाहेपछि अलमलमा परेका थिए। सांसदहरुको भेलालाई रोकेर वरिष्ठ नेता माधवकुमार नेपालले ओली समूहका नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङसँग वार्ता गरेका थिए। उक्त वार्तापछि पनि तिक्तता भने कम भएन। केही समयमै ओलीले कडा शब्दमा विज्ञप्ति जारी गरेका थिए। नेपालले पनि ६ बुँदे प्रस्ताव अघि सारेका थिए। सिंहदरबारको उक्त भेलाले सोमबार बिहानसम्मको अल्टिमेटम दिएको थियो। अल्टिमेटमको समयमा पनि ओली-नेपालबीच वार्ता हुन नसकेपछि भने नेपाल समूहले सोमबारको प्रतिनिधि सभाको बैठकमा ओलीले विश्वासको मत लिने कार्यसूची रहेकोमा ह्वीप उल्लंघन गर्दै बैठक बहिस्कार गरेको थियो।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार गठबन्धनको बहुमतको सरकारका लागि आह्वान गरिसकेकी छन्। नेपाल समूहले राजीनामा दिएमा निर्णायक गठबन्धन बन्न सक्छ। अहिले नेपाल समूहले राजीनामा गरे वा जनता समाजवादी पार्टी, नेपाल सिंगो गठबन्धनका पक्षमा उभिएमा मात्रै नयाँ सरकारका लागि बहुमत पुग्ने अंकगणित छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूह नयाँ गठबन्धनका लागि तयार छन्। तर नेपाल समूहले साथ दिएमा मात्रै उक्त गठबन्धनको सरकार बन्ने छ।

नेपाल समूहका नेताहरुका अनुसार त्यसका लागि नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने बचन दिएका छन्। आफ्ना पक्षका २० सांसदलाई राजीनामाका लागि तयारी अवस्थामा राखेको नेपालले देउवालाई बताएको एमाले स्रोतको भनाई छ। बिहीबारसम्म नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्ने भएकाले सो अवधिसम्म प्रधानमन्त्री ओलीको निर्णय कुर्ने नेपाल निकट एक नेताले बताए।

बालुवाटारलाई अन्योल

बुधबार दिउँसो बालुवाटारमा जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ओलीलाई भेटेका छन्। उक्त भेटमा महन्थले गठबन्धन सरकारका लागि आफ्नो सहयोग नहुने बताएका थिए। त्यस लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ठाकुरले जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्णय वैधता नदिन आग्रह गरेका छन्। उनले राष्ट्रपतिलाई आफू प्रथम अध्यक्ष भएको दाबी गरेका थिए।

'उपेन्द्रजीले निर्णय गरेर हुँदैन। प्रथम अध्यक्ष म हुँ। उहाँलाई वैधता नदिनु होला भनेर उहाँले कुरा राख्नु भयो,' स्रोतले भन्यो।

एकातिर गठबन्धनका लागि पहल भइरहेको र त्यसमा आफ्नै पार्टीको नेपाल समूह सहभागी हुन लागेपछि ओलीलाई भने अन्योल भएको छ। अब के गर्ने भन्नेबारेमा कुनै रणनीति बनिनसकेको उनी निकट नेताले बताए। यद्यपि गठबन्धनको सरकार बनिहाल्ने संकेत भने नदेखिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए।

'अहिलेसम्मका गतिविधि हेर्दा त नयाँ सरकारकै लागि त्यस्तो संकेत देखिएको छैन्,' उनले भने।

बुढानिलकण्ठको भेटले हलचल

ओलीले पछिल्लो समय नेपाल समूहप्रति नरम नीति अपनाएका छन्। पार्टीको ह्वीप नै उल्लंघन गरेको भए पनि नेपाल समूहलाई कारबाही भएको छैन। नेपाल समूहका सांसदहरुलाई कारबाहीका लागि वैशाख १० गते बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नै तयारी गरेको भए पनि संसदको अंकगणितले ओली रोकिएका थिए। नेपाल समूहका सांसदलाई कारबाही गरिए विपक्षी गठबन्धनलाई सरकार बनाउन सजिलो हुने भएकाले तत्काल कारबाही नभएको ओली निकटहरु बताउँछन्।

तर, मंगलबार रातिको देउवा-नेपाल भेटपछि भने ओली झस्किएका छन्। देउवा निवास बुढानिलकण्ठमा भएको अबेर रातिको भेटमा नेपालले राजीनामाको बचन दिएको सूचना ओलीले पाएपछि उक्त कदम रोक्न बालुवाटारले पहल गरिरहेको छ।

'बुधबार राति नेपालले देउवालाई तपाईंलाई कति सांसद आवश्यक पर्छ ढुक्क हुनुस् हामी राजीनामा गर्छौ भनेपछि अब नयाँ तरिकाले अगाडि बढनुर्ने भएको छ,' बालुवाटार स्रोतले भन्यो।

ओलीको अस्त्र

संसदमा विश्वासको मत गुमाइसकेका ओलीले गठबन्धनको सरकार बन्नबाट रोक्न हरसम्भव प्रयास गरिरहेका छन्। त्यसका लागि नेपाल समूहका सांसदहरुको राजीनामा रोक्नेदेखि जसपा फुटाउनेसम्मका पहल भइरहेका छन्। विश्वासको मतअघि नफुटेको जसपा अब भने फुटको डिलमा पुगेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई नयाँ गठबन्धनमा लाग्दा ठाकुर भने ओलीलाई जोगाउने कित्तामा छन्।

नेपाल समूहका सांसदहरुलाई राजीनामाबाट रोक्न नेपाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्नेसम्मको आश्वासन आएको नेपाल समूहका नेताहरुको दाबी छ। 'अहिले उहाँ हाम्रो कदम रोक्न विभिन्न षडयन्त्रमा लाग्नुभएको छ। प्रधानमन्त्रीसम्मका लोभ देखाउनुभएको छ,' नेपाल निकट एक नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell