PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

जनस्तरबाटै चीन सरकारसँग अपिल : भूकम्पपछि जस्तै कोभिड १९ सँग जुध्‍न चाहियो सहयोग



पहिलोपोस्ट

जनस्तरबाटै चीन सरकारसँग अपिल : भूकम्पपछि जस्तै कोभिड १९ सँग जुध्‍न चाहियो सहयोग

काठमाडौं : जनस्तरबाट नै छिमेकी मुलुक चीनसँग कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा सघाउनका लागि अपिल जारी भएको छ। कमिसनको विवादका कारण कोभिड १९ विरुद्धको खोप ल्याउने प्रकृया नै अवरुद्ध भइरहेको अवस्थामा जनस्तरबाट नै जनवादी गणतन्त्र चीनसँग नागरिक तहबाट अपिल गरिएको हो।

केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको छ। परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको छ। त्यही अवस्थामा सरकारी अस्पतालका डाक्टरहरुले समेत नेपालको स्वास्थ्य प्रणाली 'कोल्याप्स' भएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

यस्तै सन्दर्भमा नागरिक अपिलले मानवीय विपतसँग जुध्न छिमेकीको सहायता खोजेको हो। २०७२ सालको भूकम्पपछि नाकाबन्दीका बेला चीनले नेपाललाई गरेको सहयोग स्मरण गर्दै त्यस्तै भूमिका कोरोना भाइरस विरुद्ध पनि अपेक्षा गरेको हो।

नेपाली नागरिकका तर्फबाट, चीन सरकार र चिनियाँ नागरिकलाई नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति सहयोगी हात अघि सार्न अनुरोध गरेको छ।

अपिलमा थप खोप उपलब्ध गराउन अनुरोध गरिएको छ। अक्सिजन अभाव भोगिरहेको अवस्थामा चीनले उपलब्ध गराउन लागेको २० हजार सिलिन्डर र अन्य स्वास्थ्य सामग्री छिटो र छरितो ढुवानीको लागि अनुरोध गरेको छ। स्वास्थ्यकर्मीलाई चाहिँने आधारभूत सुरक्षाका सामग्रीहरु, पीपीई, टेस्टिङ किट, मास्क लगायत अन्य स्वास्थ्य उपकरण उपलब्ध गराउन आग्रह गरिएको छ।

उनीहरुले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मार्फत् अपिल चिनियाँ सरकार समक्ष पुर्‍याउन नेपाली जनताको अपिल पुर्‍याउन आग्रह गरेका छन्।

प्राध्यापक डाक्टर हेमराज पन्त, अभियन्ता जगन्नाथ लामिछाने, अभियन्ता प्रेम सापकोटा लगायत विभिन्न पेशा व्यवसायसँग जोडिएका ८३ जना नागरिकले सम्पूर्ण नेपालीका तर्फबाट यस्तो आग्रह गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell