PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सत्ता गठबन्ध‍नले बढाएको जनमोर्चाको किचलोः प्रमुख सचेतकको दाबी, 'थापा र शाहीका वक्तव्य भ्रामक'



पहिलोपोस्ट

सत्ता गठबन्ध‍नले बढाएको जनमोर्चाको किचलोः प्रमुख सचेतकको दाबी, 'थापा र शाहीका वक्तव्य भ्रामक'

पोखरा: राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेश सभा संसदीय दलकी सचेतक पियारी थापाले कृष्ण थापा र खिमविक्रम शाहीद्वारा जारी गरिएको विज्ञप्ति भ्रामक रहेको बताएकी छन्। थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत थापा र शाहीको विज्ञप्ति भ्रामक रहेको बताएकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशमा निर्वाचित सांसद खिमविक्रम शाही र कृष्णबहादुर थापाको विज्ञप्ति भनेर जुन भ्रामक विज्ञप्तिहरु सामाजिक सञ्जालमा आएका छन्, त्यसमा कुनै सत्यता नरहेको जानकारी गराउँदछु। एक त राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद कृष्णबहादुर थापा भन्ने नामको सांसद हुनुहुन्न उहाँको नाम कृष्ण थापा हो भने अर्को खिमविक्रम शाहीको नामबाट आएको विज्ञप्तिमा उहाँको हस्ताक्षर नभएको र कीर्ते काम भएकोले यस्ता भ्रामक समचार सम्प्रेषण नगर्न अनुरोध गर्दछु।’

प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार अपराह्न ४ बजेसम्मको समयावधि दिएकी थिइन्। नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई समर्थन नगर्ने जनमोर्चाका सांसद थापाले बताउँदै आएका थिए। यता पार्टीले नयाँ सरकार गठनमा समर्थन गर्न ह‍्वीप जारी गरेको थियो। तर, थापाले सरकार गठनको समर्थनमा हस्ताक्षर नगरी बुधबार गृहजिल्ला पुगेका थिए। पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई कारबाही गरी संसदीय दलको नेताबाट हटाएको थियो।

जनमोर्चाको विवाद बढेसँगै विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन सकेन। बहुमत पुर्‍याउन नसकेपछि सबैभन्‍दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८(३) अनुसार पृथ्वीसुब्बा गुरुङ पुनः  मुख्यमन्त्री नियुक्त भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell