PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै



पहिलोपोस्ट

एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै
फाइल फोटो

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

काठमाडौं यसअघि लिग चरणमा शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने ललितपुर तेस्रो स्थानमा रहँदै फाइनलको प्लेअफमा पुगेको थियो। प्लेअफमा धनगढीले काठमाडौंलाई हराउँदै फाइनल प्रवेश गर्‍यो भने ललितपुरले बुटवल लुम्बिनीलाई हराउँदै फाइनलको बाटो खुलै राखेको थियो। आज हुने खेलमा विजेता हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछन्। वुटवल लुम्बिनीसँग खेलेको २४ घण्टा नबित्दै ललितपुर काठमाडौंसँग प्रतिस्पर्धामा उत्रने छ।

यसअघि काठमाडौं र ललितपुर प्रतियोगिताको उद्घाटन खेलमा आमनेसामने भएका थिए। जसमा काठमाडौंले १-० को संघर्षपूर्ण जित निकालेको थियो।

बुटवलसँगको जितपछि ललितपुरका खेलाडी कमल श्रेष्ठले पोस्टम्याच प्रेजेन्टेसनमा भनेका थिए, ‘हामी टफ ४ मै गाह्रो गरि आएको थियो। अब टप ४ मा पुगेपछि कसरी फाइनल पुग्ने भनेर मोटिभेट छ।’

त्यस्तै ललितपुरका गोलकिपर अर्पण कार्कीले उद्घाटन खेलमै हारको बदला लिने योजना रहेको बताए। उनले भने: ‘हामी रिबेन्ज लिने नै लक्ष्य छ। भोलि जितेर जुन नमिठो सुरुवात भएको थियो, त्यसमा भोलि जित निकाल्दै त्यसको बदला लिने मनस्थिति छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell