पोखरा : सधैँझै महेन्द्रपुल, नेपाल टेलिकमको भवन नजिकै सडकमा लाम लागेर बसेका थिए चारजना मानिस। ती अनुहार अघिल्तिर थिए – सियो, धागो, बुटपोलीस र ब्रस।
श्रम गरेर खानेहरूको भोकलाई निषेधाज्ञाले कहाँ निषेध गर्थ्यो र? भोक मेट्ने रकम जोहो गर्न बसेका थिए उनीहरू। बाटुवाको जुत्ता सिलाएर वा सफा गरेर जुटाउनु थियो छाक टार्ने खर्च।
सुनसान सडकमा कोही आउलान् भनेर पर्खनु उनीहरूको आशा मात्र होइन बाध्यता रहेछ।
‘कोही आइहाले साँझ पेट भर्ने बाटो हुन्छ कि?,' ३६ वर्षीय विष्णु दाहालले आशा व्यक्त गरे।
उनी रौतहटबाट पोखरा बसाइ सरेको २४ वर्ष पुगेछ। आमा, श्रीमती र तीन सन्तान उनको भरमा छन्। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहरले विष्णु र उनको परिवारको पेटमा लात हाने सरह भएको छ। पहिलो लहरले पारेको प्रभाव कम हुँदै थियो। लागेको ऋण फिर्ता गर्न संघर्षरत् थिए, फेरि सुरु भयो उस्तै सकस। त्यो समय त बितेर गयो। अब भने रोगसँग डराएर भोक मर्ने स्थिति रहेन र निस्किए सडकमै। 'कमाइबिना कसरी टिक्नु?,’उनी निराश सुनिन्छन्।
कास्कीले सुरुवातमा एक साता लामो निषेधाज्ञा जारी गर्यो। संक्रमण बढेसँगै प्रशासनले वैशाख मसान्तसम्म निषेधाज्ञा कडा रुपमा लागू गरेको छ। महिनाभर एक छाक खाएर टारेपनि कोठा भाडा कसरी तिर्ने? उनलाई पीर छ।
रासनपानीदेखि छोराछोरीको पढाई खर्च जोहो गर्न सडकमा त निस्किए तर अहिले सडक सुनसान छ। पोखरामा दिनदिनै बढीरहेको संक्रमण देखेर मानिस त्रसित छन्। अत्यावश्यक अवस्थामाबाहेक कोही घरबाहिर निस्केका छैनन्। यस्तो बेलापनि उनको आशा – कोही आइहाल्छन् नि। काम दिइहाल्छन् कि भन्ने।
‘बजारमा हल्काफुल्का मान्छे र बाइकको चहलपहल देखेर आएको,’ उनले भने।
निषेधाज्ञाले आफ्नो रोजिरोटी बन्द भएपनि सरकारको निर्णयमा भने समर्थन रहेछ विष्णुको। पहिलो लहरको कोरोनामा पनि सरकारले देश ठप्प पार्नुको साटो नियम कडा बनाउनु पर्ने थियो भन्ने तर्क सुनाउँछन्। ‘सुरुको बन्द बेक्कारको लाग्यो त्यति बेला नियम कडा गरेर अहिले बल्ल यस्तो अवस्थामा बन्द गर्नुपर्ने थियो,’ उनले भने।
खान, बस्न समस्या नभइदिएको भए आफू पनि घरमै बसेर संक्रमण नियन्त्रणमा योगदान पुर्याउने सुनाउँछन्। तर, घरमा धुम्धुम्ती बसेर सुन्न सक्दैनन् भोका सन्तानको रोदन।
दाहालभन्दा केही पर थिए, राजकुमार राउत। उनी उमेरले ६० टेक्दै छन्। भारतको विहारबाट नेपाल आएको दशकौं बितिसक्यो। वर्षौदेखि अरुको जुत्ता सियर आफ्नो पेट भर्दै आएका छन्। जारी निषेधाज्ञाले उनलाई पनि भोको पारेको छ। बजारमा मानिस नहिँडेपछि जुत्ता कसको फाट्नु? कसरी फोहोर हुनु? अनि कसरी गर्नु राजकुमारले आम्दानी?
आफूलाई छाक टार्नै मुश्किल भएको सुनाउँछन् राउत।,‘भोकमरी लागेको छ,’ मधुरो स्वर निस्कियो उनको।
सामान्य अवस्थामा दैनिक ५ सय देखि ७ सय आम्दानी गर्थे उनले। मीठो मसिनो खाएर बस्न पुगेकै थियो। मान्छेको चहलपहल बढी हुँदा कमाइ पनि राम्रै हुन्थ्यो। खर्च गरेर बचेको पैसा घरमा श्रीमतीलाई पनि पठाउथे।
अब के गर्ने?
‘कोठा भाडा त तिर्नपर्यो नत्र साहुसँग खटपट हुन्छ,’ आफ्नै लवजमा भने। उनी प्रश्न गर्छन्,‘कोठामा कति बस्नु? बरु सडकमै बस्ने। बाटैमा खाने बाटैमा सुत्ने हामी सडककै मान्छे हो।’
दिनभर कमाएर राति पेट भर्ने वर्गलाई एक महिना लामो समय भएको बताउँछन् उनी। अघिल्लोपटक लकडाउनमा भने उनी भारत पुगे। त्यसैले भोकै बस्नु परेन।
परिस्थिति सहज भएपछि पुनःगत असोजमा नेपाल फर्किए। यसपालि समेत निषेधाज्ञा हुनुपूर्व आफूलाई थाहा भएको भए घर फर्किने उनले सुनाए।
‘अघिल्लो पटक लकडाउन हुने छनक पाएलगत्तै म भारत गएँ। योपाली बन्द हुने थाहा पाइएन। नत्र जान्थें घर,’ उनको बोली सरकारको संक्रमण नियन्त्रणका लागि शून्य तयारीप्रति व्यङ्ग्यजस्तै सुनियो।
देश कोरोना भाइरसको महामारीले आक्रान्त छ। महामारी नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ। जसको प्रभाव यी पात्रहरूजस्ता सयौंको जीवनमा परेको छ। सरकारले बिर्सिएको सडकमा आश्रित यी वर्गका लागि योजना के? निषेधाज्ञा बढ्दै गए रोग नभइ भोकले सताएको यी मानिसले कसरी जीविका चलाउने?
तातो अलकत्रमाथि भोक, प्यास र हावाहुरी नभनी नाङ्गो पैताला सयौं किलोमिटर दूरी पार गर्ने मजदुरदेखि, भोकले सडकमै ज्यान गुमाउन बाध्य सूर्यबहादुर तामाङ जस्ता पात्रको कथा पहिलो चरणको लकडाउनमा पढ्यौं। यो पटक त्यस्ता दर्दनाक घटना पुन: दोहोरिँदो छ। किनकि फेरि महामारीको चपेटामा दैनिक काम गरेर छाक टार्ने मजदुर नै परेको प्रष्ट्याउँछ विष्णु र राजकुमारको कथाले।