PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

वीरगंजमा थप ८ जना संक्रमितको मृत्यु, थप ९४ जना संक्रमित पहिचान



राधेश्याम पटेल

वीरगंजमा थप ८ जना संक्रमितको मृत्यु, थप ९४ जना संक्रमित पहिचान

वीरगंज : वीरगंजमा थप ८ जना कोरोना संक्रमतिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका १ जना रहेका छन्। जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन्। ८ जनामध्ये नारायणीमा चार जनाको २ जनाको स्पर्श मल्टीस्पेशलिटी अस्पताल गण्डक बहुअरी, नारायणी बयोधा र वीरगंज हेल्थ केयर अस्पतालमा १–१ जना गरी कुल ८ जनाको मृत्यु भएको अस्पतालले जनाएका छन्।

बुधवार अपरान्ह ३ बजेदेखि बिहीवार बिहान ६ बजेसम्म मृत्यु भएकाहरु ३५ वर्षदेखि ७८ वर्षसम्मका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले नगवाको बाबा होटलमा सञ्चालन गरेको कोभिड अस्प्तालको मृत्यु रिपोर्ट आउन बाँकी रहेको छ।

८ जनामध्ये रौतहट, गरुडा नपा ४ का ४१ वर्षीय पुरुषको बुधवार साँझ ५ बजेर २५ मिनेटमा नारायणी मृत्यु भएको थियो। १७ गते अस्प्ताल भर्ना भएका उनको सोही दिन एन्टीजीनमा पोजेटिभ देखिएको थियो। नारायणीमै बारा, इनार्वा बहडिल्वाका ३५ वर्षीय पुरुषको गएराति पौने १० बजे मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए। उनका अनुसार वैशाख २८ गते अस्पताल भर्ना भएका उनलाई सोही दिन एन्टीजीन विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो।

वीरगंज ५ कुमालटोलका ५८ वर्षीया महिलाको पनि नारायणीमा बिहीवार विहान डेढ बजे मृत्यु भयो। २० गते अस्पताल भर्ना भएकी उनलाई वैशाख २१ गते पीसीआरमा पोजेटिभ देखिएको थियो। नारायणीमै वीरगंज २६ सुगौलीविर्ताकी ४५ वर्षीया महिलाको बिहीवार विहान साढे ३ बजे मृत्यु भयो। उनको वैशाख १६ गते अस्पताल भर्ना भई सोही दिन एन्टीजीन विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो।


नारायणी बयोधा अस्पताल गण्डकमा पनि वीरगंज १० आदर्शनगरका ७८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारीअनुसार उनको बिहीवार बिहान साढे ३ बजे मृत्यु भएको हो। १६ गते अस्पताल भर्ना भएका उनमा सोही दिन एन्टीजीन विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो। वीरगंज २३ का ६२ वर्षीय वृद्धको वीरगंज हेल्थकेयर अस्पताल गण्डक बहुअरीमा बुधवार अपरान्ह ३ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले जनाए। २४ वैशाख वीरगंज हेल्थकेयरमा अस्पताल भर्ना भएका निजको वैशाख २६ गते पीसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसैगरी, वीरगंज २१ लिपनी विर्ताका ५२ वर्षीय पुरुषको र बारा, परवानीपुर गापा ४ चैनपुरका ५० वर्षीय पुरुषका बिहीवार बिहान क्रमशः २ बजे र २ बजेर २० मिनेटमा वीरगंज–१४ गण्डक बहुअरीस्थित भर्खरै सञ्चालनमा आएको स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा मृत्यु भएको छ। दुबै जना एक साता अघिदेखि कोरोना संक्रमण पुष्टि भएर केही दिन नारायणी अस्प्ताल वीरगंजमा उपचार गराउँदै आएका थिए भने तीन दिनदेखि स्पर्श अस्पतालमा भर्ना भई अक्सिजनको सपोर्टमा थिए।


९४ संक्रमित पहिचान

नारायणी अस्पताल वीरगंज प्रयोगशालामा गरिएको बुधवारको परीक्षणमा १ जना एन्टीजीनसहित ९४ जना संक्रमित थपिएका छन्। जसमा पर्साका ६९, बाराका १८ , रौतहटका ६, सर्लाहीहका १ जना गरी कुल ९४ जना रहेका छन्। १९२ जनाको स्वाब परिक्षण गर्दा ८ वर्षदेखि ८८ वर्ष उमेर समूहका ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell