PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव नेपाल सहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्नैपरे ओलीलाई अधिकार



पहिलोपोस्ट

माधव नेपाल सहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्नैपरे ओलीलाई अधिकार

काठमाडौं : पुन: सत्तामा फर्किने रणनीतिका साथ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार नेतामाथिको कारवाही फुकुवा गराएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो।

'नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट उहाँहरुको निलम्बन फुकुवा गरिएको छ,' बैठकको निर्णयबारे जानकारी दिँदै सुवास नेम्वाङले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा एमाले अध्यक्ष ओलीले रणनीतिक रुपमा चार नेतामाथिको कारवाही फुकुवा गरेका हुन्। नेपाल पक्षका सांसदहरुले राजीनामा दिने रणनीति अख्तियार गरेसँगै ओलीले उनीहरुको कारवाही रोकेर आफ्नो पक्षलाई बलियो बनाउन खोजेका हुन्।

यसबाहेक पार्टीले लिने आकस्मिक निर्णयको अधिकार पनि केपी शर्मा ओलीलाई दिने निर्णय आजको बैठकले गरेको नेता नेम्वाङले जानकारी दिए।

'समसामयिक स्थिति /पार्टीको स्थितिलाई ध्यानमा राखेर काम कर्तव्य र अधिकारको निर्णय गर्ने जिम्मा ओलीलाई दिएको छ,' नेता नेम्वाङले भने, 'कतिपय निर्णय तुरुन्त गर्नुपर्ने हुन्छ। बैठक बस्न पनि सम्भव हुँदैन। त्यस्तो निर्णयको अधिकार अध्यक्षलाई दिएको हो।'

नेकपा एमाले पार्टी सचिव शेरबहादुर तामाङले बैठकको निर्णयलाई लिएर फेसबुक पोस्ट गरेका छन्। उनले चार नेतामाथिको निलम्बन फुकुवा गरिएको जनाउँदै 'यो अवसरलाई उपयोग गर्दै पार्टी एकताको पक्षमा उभिन नेताहरुलाई हार्दिक आग्रह गर्दछु,' भनेका छन्।

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले पार्टी एकताको लागी क. माधव नेपाल, क. भीम रावल, क. सुरेन्द्र पाण्डे, क. घनश्याम भुषाल...

Posted by Sher Bahadur Tamang on Wednesday, May 12, 2021

ओलीले सत्ता जोगाउनका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउन प्रयास आज बिहानदेखि नै थालेका थिए। उनले बिहान टेलिफोन गरेर नेता नेपाललाई बैठकमा सहभागी हुन डाकेका थिए। तर, नेता नेपालले फोनबाटै बैठकमा उपस्थित हुन नसक्ने जनाएका थिए। 

फोनबाट कुरा नमिलेपछि ओलीको प्रस्ताव लिएर अर्थमन्त्री विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए। उनी केहीबेर कुराकानी गरेर बालुवाटार फर्केका हुन्।

ओलीलाई जसरी भए पनि प्रधानमन्त्रीबाट हटाउन सक्रिय रहेका नेता नेपाल सहितको टिमले राजीनामा दिनसक्ने र त्यसले ओलीको योजनामा तुसारापात हुनसक्ने भएपछि स्थायी कमिटी बैठकले निलम्बन फुकुवा गरेको छ। निलम्बन फुकुवासँगै नेकपा एमालेका दुवै पक्षका नेताबिच सम्वादको बाटो खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell