काठमाडौं : काठमाडौं उपत्यकाभित्र आज बिहानबाट अघिल्लो निर्णयलाई संशोधन गरेर निर्णय गरेको निषेधाज्ञा लागू भएको छ। आजबाट १५ दिनको लागि थप गरिएको निषेधाज्ञामा १० जना भन्दा बढी मानिस भेला भएर विवाह गर्न पाइँदैन, निजी निर्माणको काम गर्न रोक लगाइएको छ, अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई जरिवाना समेत लगाइएको छ।
पछिल्लो पटक थप भएको निषेधाज्ञा कार्यन्वय भए नभएको बुझ्न प्रमुख जिल्ला अधिकारी, काठमाडौंका प्रहरी प्रमुख लगायतले अनुगमन तिब्र बनाएका छन्। आज बिहानदेखि नै काठमाडौं उपत्यकाका सडकमा सुरक्षाकर्मीको उपस्थित बाक्लो रहेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठाउँ ठाउँमा चेक प्वाइन्ट राखेर चेकिङ गरिरहेको छ। काठमाडौं उपत्यकाभित्र ट्राफिक प्रहरीले ६७ ठाउँमा चेकिङ प्वाइन्ट राखेर चेक गरिरहेको छ।
आज बिहान ११ बजेसम्म अनावश्यक रुपमा सवारी कुदाएको भन्दै ५ सय ५१ वटा सवारी नियन्त्रणमा लिएको छ। जसमा ३ सय ७६ वटा दुई पाङ्ग्रे सवारी रहेका छन्। यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुनेछ। मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।
'पछिल्लो निर्णय अनुसार सुरक्षा प्रवन्ध मिलाएका हौं। अनावश्यक रुपमा हिँड्ने मानिस र सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना समेत लगाएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो।
यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ। मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन।
