PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ओली नेपाल भेट्दै, साढे २ घण्टा कुराएर नेपालले के को गरे तयारी?



पहिलोपोस्ट

ओली नेपाल भेट्दै, साढे २ घण्टा कुराएर नेपालले के को गरे तयारी?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बिच भेटवार्ता हुने भएको छ।

आज विहानै ओलीले भेटका लागि प्रस्ताव राखेकोमा नेपालले साढे दुई घण्टापछि मात्रै समय दिएका थिए। आफ्नो समूहसँगको छलफलपछि ओली-नेपाल भेट हुन लागेको ओली निकट नेताले बताएका छन्।

'बिहानै प्रधानमन्त्रीले भेटौं भन्नुभयो। उहाँले साढे २ घण्टा भन्नुभएको थियो। अब भेट हुन्छ,'  उनले भने।

बालुवाटारमा नभेट्ने अडानमा रहेका नेपालले सिंहदरवारमा भेट्न प्रस्ताव गरेका छन्। यद्यपि, स्थान भने यकिन नभएको स्रोतको भनाई छ।

आजै बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटीको बैठकले नेपाल सहितका नेताहरुलाई निलम्बन कारवाही फुकुवा गरेको थियो। उक्त कारवाहीको फुकुवापछि  वार्ता गर्ने भन्ने रणनीतिमा नेपाल समूह थियो।

नयाँ सरकारका लागि गठबन्धनलाई बहुमत पुर्‍याउन नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामाको तयारी गरेका थिए। गत आइतवार नै राजीनामाको तयारी भएको भए पनि अन्तिममा रोकिएको थियो। ओलीलाई सत्ताबाट बाहिर्‍याउने हो र नयाँ सरकार गठनका लागि बाटो खोल्ने हो भने आजै नेपाल समूहले राजीनामा गर्नुपर्ने छ। त्यसका लागि नेपाल समूहले ४ बजे सम्मको अल्टिमेटम दिएको छ।

ओलीलाई दिइएको अल्टिमेटममा २०७५ जेठ २ गते फर्किनुपर्ने अडान कायमै राखेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उक्त माग दुत्कार्दै आएका छन्। साथै आजै बसेको स्थायी कमिटी बैठकले सबैखाले निर्णय लिने अधिकार ओलीलाई सुम्पेको छ। सत्ता बचाउनका लागि ओलीले जस्तोसुकै कदम पनि लिन सक्नेछन्, पार्टीको बैठक त्यसमा चाहिन्न। त्यसैले पनि दुई नेताबिच हुने बैठक र दुवै नेताले लिने रणनीति सबैको चासोक विषय बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell