PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

दश जनाको मृत्यु भएको जगरनाथपुर सिल, तराईमा ग्रामिण भेगमा बढ्दैछ संक्रमण



राधेश्याम पटेल

दश जनाको मृत्यु भएको जगरनाथपुर सिल, तराईमा ग्रामिण भेगमा बढ्दैछ संक्रमण

वीरगंज : कोरोना महामारीको दोस्रो चरणमा हटस्पट बनेको मुलुकको प्रमुख प्रवेशद्वार वीरगंजबाट पछिल्लो समय पर्सा र बाराको ग्रामिण भेगतिर संक्रमण फैलिने संकेत देखिएको छ।

चिकित्सकका अनुसार पर्सा र बाराका टाढाटाढाका गाउँबाट पनि सयौको सख्यामा ज्वरो,रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी समस्या लिएर विरामीहरु वीरगंज आइरहेका छन्।

पर्साको पश्चिमी क्षेत्र जगरनाथपुर गाउँपालिकामा पनि कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ। सो गाउँमा पछिल्लो ११ दिनमा १० जनाको मृत्यु भएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति र स्वास्थ्य कार्यालयले पहलकदमी लियो।

गाउँपालिकाको स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेर ज्वरो तथा रुघाखोकीको पत्ता लगाउन र उपचारको लागि वीरगंजबाट स्वास्थ्यकर्मी माग गरेपछि मंगलवार करिब एक दर्जन स्वास्थ्यकर्मी जगरनाथपुर गापाको वडा नं ५ चिलझप्टी पुगेको थियो। टोलीले गाउँमा तीन वटा टोली बनाएर ज्वरो, रुघाखोकीको विरामीको तथ्याक संकलन गरेपछि एउटै गाउँमा १७८ जना विरामी भेटिए।

सबैलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालमया भेला गरी स्वास्थ्य मापदण्ड पालना गरी ११ जनाको एन्टीजीन विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भयो। त्यसपछि २५ जना शंकास्पद विरामीको स्वाब संकलन गरी नारायणी अस्पताल वीरगंजमा ल्याइएकोमा बुधवार दिनमा परीक्षण गर्दा जम्मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तर गाउँमा संक्रमण पुष्टि भएकोले स्थानीय प्रशासनले उक्त गाउँलाई सिल गर्न प्रहरी चौकी जानकीटोललाई निर्देशन दिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी गराए। ‘जिल्ला भरी निषेधाज्ञा छ, उक्त गाउँमा केस भेटिएपछि स्थानीय प्रहरी चौकीलाई गाउँमा कसैलाई पस्न र गाउँबाट बाहिर जान निषेध गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘गाउँमा हुने विवाह भोज तथा अन्य सामूहिक ग्यादरिङले पनि चुनौती थपिएको छ।’

उनले गाउँमा हुने भेला, बगैता तथा पञ्चायती गृहमा हुने बैठक समेत कम गर्न आग्रह गरे। साथै, गाउँका किराना पसलमा पनि भीडभाड नगरी समान किनबेच गर्न प्रहरीले आपिल गरेको छ।

ग्रामिण भेगमा सतर्कता अपनाउन सुझाव

वीरगंजपछि पर्सा–बाराको ग्रामिण भेगमा कोरोना संक्रमण फैलिने संकेत देखिएपछि चिकित्सकहरुले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। नारायणी अस्पतालका वीरगंजका फैलिमी फिजिशियन डा. उदयनारायण सिंहका अनुसार एक साताभित्र वीरगंजमा कोरोना संक्रमण मत्थर हुने र ग्रामिण भेगमा तीव्रता लिने विश्लेषण गरे। ‘अहिलेको १० दिन वीरगंजको लागि जोखिमपूर्ण र चूनौती पूर्ण छ, त्यसपछि केही हदसम्म केस घट्ने देखिन्छ,’ उनले भने, ‘तर पर्सा, बाराका ग्रामिण भेगमा संक्रमण फैलिन खतरा छ, बेलामै स्थानीय प्रहरी चौकी तथा जनप्रतिनिधिले सतर्कता अपनाएर जनताको सेवामा जुटनु पर्छ ।’

उनले सबै पालिकाका प्रमुख तथा जनप्रतिनिधिसँग उपचार तथा अन्य बन्दोवस्तीको तयारीमा जुट्न पनि अपिल गरे। आइसोलेसन सेन्टर, औषधि उपचार, दक्ष स्वास्थ्यकर्मीको तैनाथी तथा राम्रो सुरक्षा प्रबन्धको तयारी गर्न पनि उनको अपिल छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell