काठमाडौं : सत्ता समीकरणमा निर्णायक जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षको बैठक बसिरहेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमै भेटेर आएका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको बैठक बसेको हो। बैठकमा १९ सांसद उपस्थित रहेको दाबी गरिएको छ।
विकसित राजनीतिक घटनाक्रममा अब कसरी अगाडि बढ्ने भन्नेबारे परामर्श भइरहेको एक सांसदले जानकारी दिए। ‘कसरी जाने, के गर्ने भन्ने विषयमा छलफलमा छौं,’ उनले भने।
जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकारका पक्षमा छन् भने ठाकुर र महतो कुनै पनि सरकार निर्माणमा संलग्न नभएर तटस्थ बस्ने लाइनमा छन्। ठाकुर र महतोले बुधवार प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए। आज बिहान देउवासँग भेटेर ठाकुर र महतो आफूपक्षीय सांसदसँग परामर्शमा लागेका हुन्।
