PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दर्शकलाई नाटकबाट पर नराख्न युट्युबमा रिलिज गरिँदै 'मितज्यू'



लक्ष्मी बलायर

दर्शकलाई नाटकबाट पर नराख्न युट्युबमा रिलिज गरिँदै 'मितज्यू'

काठमाडौं : दुईजना बुढो मान्छे मित हुन्छन्। एकदिन उनिहरू आफ्नो पुराना दिनबारे कुरा गर्छन्। जवानीदेखि प्रेमका कुरा सम्झन्छन्। सँगै पूरानो समाजदेखि त्यस समयको मित्रताको प्रसङ्ग पनि। उक्त कथालाई रङ्गमञ्चका लागि निर्देशन गरे अभिनेता दयाहाङ राईले। नाटकको नाम 'मितज्यू'।

नाटक वैश्वाख ३१ गते युट्युब रिलिज हुँदैछ। शुक्रवार साझ पाँच बजे मण्डला थिएटरको आधिकारिक च्यानलमार्फत्। तर, नाटक पहिलो पटक देखाइन लागेको भने होइन।

पहिलोपटक वि.सं २०७० साल पुसमा मञ्चन भएको थियो मितज्यू। तीन हप्तासम्म चलेको नाटकलाई लेखेका हुन् सोमनाथ खनालले। काठमाडौं आउनुअघि स-साना नाटक लेखेका खनालको ब्ल्याकबक्स थिएटरका लागि पहिलो नाटक हो यो। त्यस समय नाटकले दर्शकबाट पनि राम्रो प्रतिक्रया पाएको थियो।

डिजिटल प्ल्याटफर्मका लागि नाटक तयार पार्न कथा रि-राइट गरियो। संगीत, मञ्चको डिजाइनदेखि भेषभुषासम्म परिवर्तन भयो। डेढ महिना लामो रिर्हसलपछि दोस्रो पटक तयार भयो सातवर्षअघि देखाइएको 'मितज्यू'। कलाकारहरू बुद्धि तामाङ, विजय बराल, उमेश तामाङ र सिर्जना सुब्बा यथावत् छन्। अन्य कलाकारहरू भने नयाँ छन्।

सुरुमा त नाटकलाई मञ्चमा नै देखाउने तयारी थियो। लकडाउन खुलेसँगै नाटक क्षेत्र संकटमा पर्छ भन्ने डर रहेछ लेखक खनालमा। त्यसैले देशव्यापी मोबाइल थिएटर सञ्चालन गर्ने सोच आएछ। फरकफरक ठाउँमा गएर खुल्ला ठाउँमा नाटक देखाउने योजनासमेत बनेको रहेछ।

तर, कोरोना भाइरसको संक्रमणका कारण थिएटरमा मञ्चन गर्न सकेनन्। त्यसैले रेकर्ड गरेर नाटक युट्युबमार्फत् रिलिज गर्न लागिएको निर्देशक दयाहाङ राईले बताए।

'बन्द कोठामा नाटक देखाउन नसके पनि खुल्ला ठाउँमा नाटक देखाउने योजना थियो। तर स्थिती यस्तो भयो कि मोबाइल थिएटरमा जान सकिएन। नाटक नदेखाउनु भन्दा भिडियोमा देखाउने कोसिस गरेका हौं,' उनले सुनाए।

परिस्थिति हेरेर युट्युब रिलिज गर्न लागिएको बताउँछन् सोमनाथ। यो नाटक पहिले र अहिले गर्दा फरक पाए उनले। पछाडि हेर्दा कति कुरा छुटेको अनुभव भएको बताउँछन्।

अहिलेको समयमा मान्छेलाई संस्कृतिको कुराले शान्ति दिने र घाउमा मल्हम लगाउने काम गर्ने बताउँछन् उनी। 'अहिले रोगले मान्छेसँग मान्छे डराउने अवस्था छ। तर पछि चाहिने भनेको समाज नै हो। जुन कुरा यो नाटकले भन्छ।'

भिडियोमार्फत् नाटक देखाउँदा दर्शक थिएटरमा नआउँलान् भन्ने नभएको होइन। उता विदेशमा भएका दर्शकले भने पहिलेदेखि नै भिडियोमा ल्याउन आग्रह गरेका थिए। यो पटक कोभिड-१९ का कारण दुबै समूहका दर्शक समेट्‍नेगरी डिजिटल रिलिजको निर्णय भयो।

सोमनाथ भन्छन्, 'नाटक भनेकै थिएटरका लागि हो। प्रत्यक्ष हेर्दा नै रमाइलो हुन्छ। जुन कुरा दर्शकले पनि बुझने छन्। नाटकप्रति माया गर्ने दर्शक थिएटरमा नै नाटक हेर्न आउने कुरामा विश्वस्त छु। तर हाललाई दर्शकलाई नाटकबाट पर नराख्न यो प्रयास गरेका हौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell