बुटवल : रुपन्देहीका सबै पत्रपत्रिकाहरुले आगामी जेठ १ गतेदेखि सबै प्रकाशन बन्द गर्ने भएका छन्। कोरोना महामारीको दोस्रो लहरसँगै जिल्लामा आह्वान गरिएको निषेधाज्ञाका कारण प्रकाशन बन्द गर्न लागिएको हो।
निषेधाज्ञाका समयमा पत्रपत्रिका प्रकाशन तथा प्रशानका सामग्रीहरु पाउन समस्या हुने भएकाले बन्द गर्ने निर्णय गरिएको प्रकाशन तथा प्रशासरण समाज रुपन्देहीले जनाएको छ।
‘यो निषेधाज्ञाबाट हामीसँग आबद्ध सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदित चुनौती थपिँदै गएको छ। यसले गर्दा प्रकाशन तथा प्रसारण समाज नचाहँदा नचाहँदै पनि मिति २०७८ जेष्ठ १ गते देखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सूचना दिन बाध्य भएको छ,’ समाजद्वारा विहिबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसबाट पुग्न गएको असरप्रति हामी क्षमा चाहन्छौं र कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं।’
समाजका अध्यक्ष नवराज कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड–१९ को स्वास्थ्य मापदण्ड अपनाई प्रसारण गर्न अनुरोध गरिएको छ।
पत्रकार कोषमा साढे ७ लाख जम्मा
नेपाल पत्रकार महासंघ रुपन्देहीको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता भएको छ।
रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। कोषमा स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए।
उनका अनुसार साढे २ लाख रुपैयाँ पत्रकार महासंघको कोषमा प्राप्त भइसकेको छ। कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए।
महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाइन बैठकले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको थियो।
कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रुपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक विश्वास ढकालले बताए।
कोरोना महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केही हदसम्म भएपनि कोषमार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताइन्। पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरुलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ।
कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए। उनका अनुसार यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरि स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ।
कोषमा सहयोग गर्ने व्यक्तिहरुको नाम केहि दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष सञ्जय सौगातले जानकारी दिए। पत्रकारको उपचार, राहात तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ।
कोषमा जम्मा गर्न चाहनेले शाइनरेसङु्गा डेभलपमेन्ट बैंकको बुटवल शाखामा रहेको महासंघको बैंक खाता नम्बरमा ००१००१००००५०३३०००००१ जम्मा गर्न अपिल गरेको छ।
