PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

भागवण्डा मिलाउन कर्णालीका मुख्यमन्त्री शाहीलाई हम्मे हम्मे, पार्टीभित्र मनाउने कि कांग्रेस-माधव समूहलाई?



पी बी खड्का

भागवण्डा मिलाउन कर्णालीका मुख्यमन्त्री शाहीलाई हम्मे हम्मे, पार्टीभित्र मनाउने कि कांग्रेस-माधव समूहलाई?

सुर्खेत : कर्णालीमा नवनियुक्त तीन जना मन्त्रीहरुको शपथग्रहण कार्यक्रम स्थगित भएको छ। बिहीबार विहान ११ बजेका लागि निर्धारण गरिएको शपथग्रहण कार्यक्रम अहिलेसम्म हुन सकेको छैन।

बुधवार मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक कलह साम्य पार्न माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेसँगै सत्ता साझेदार नेपाली कांग्रेस सत्ता समिकरणको बार्गेनिङमा उत्रिएको छ।

प्रदेश प्रमुखको कार्यालयले सोही अनुसारको तयारी गरे पनि स्वयम् मुख्यमन्त्री शाहीले सपथ ग्रहणको कार्यक्रम स्थगित गरी सत्ता साझेदार दलहरुसँग छलफलमा जुटेका छन्।

मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएर पद जोगाइदिएको नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि पूर्वनिर्धारित शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो। ‘सत्ता साझेदार दलसँग आवश्यक छलफलका लागि स्थगित गरिएको भन्ने बुझिएको छ,’ मुख्यमन्त्री शाहीको सचिवालयले भन्यो।

मुख्यमन्त्री शाहीले सत्ता जोगाएको कांग्रेसलाई एउटा मात्रै मन्त्रालय दिने गरी अन्य मन्त्रालयको भागबण्डा मिलाउन लागेसँगै कांग्रेस असन्तुष्ट बनेको हो। मुख्यमन्त्री शाहीले कांग्रेसलाई एउटा मात्रै मन्त्रालय दिएपछि कांग्रेस संसदीय दल अप्ठ्यारोमा परेको छ।

दुई गुटमा विभाजित कांग्रेसलाई एउटा मन्त्रालय निल्नु न ओकल्नु भएको छ। सोही मुख्यमन्त्री शाहीसँग दुई वटा मन्त्रालय माग गरिरहेको छ।

सरकारमा को जाने भनेर कांग्रेसभित्र खिचातानी भएको हो? भन्ने प्रश्नमा कांग्रेसका एक सांसद भन्छन्, ‘कांग्रेसभित्र खिचातानी भन्दा पनि सम्मानजनक रुपमा सरकारमा कसरी सहभागी हुने भनेर छलफलको क्रममा छ।’

उनले अनुसार ढिलो चाँडो सरकारमा सहभागी हुने बताए। बिहीवारको शपथग्रहण कार्यक्रम स्थगित गरेर मुख्यमन्त्री शाही, नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही र एमालेको नेपाल समूहका नेता प्रकाश ज्वालाबिच सत्ता समीकरणको विषयमा छलफलमा छन्।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि मन्त्रालय फुटाएरै भए पनि तीन जनालाई मन्त्रीमा नियुक्त गरेका माओवादी केन्द्रका मुख्यमन्त्री शाही कांग्रेस असन्तुष्ट बनेपछि अप्ठ्यारोमा परेका छन्।

पटक पटक धरापमा परेको पद जोगाइदिएका कांग्रेस र एमालेलाई मिलाउनु पर्ने बाध्यता एकातिर छँदै छ, त्यसमा पनि आफ्नै दलका सांसदलाई मिलाउन हम्मे हम्मे परेको छ शाहीलाई।

बुधवार मात्रै नियुक्त गरेका तीन सांसदलाई थामथुम पार्नकै लागि दुई जनालाई राजीनामा दिन लगाएरै भएपनि मन्त्रीमा नियुक्त गरेका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा गोपाल शर्मा, आन्तरिक मामिला कानून, युवा तथा खेलकुद मन्त्रालयमा विन्दमान विष्ट र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा सीताकुमारी नेपालीलाई नियुक्त गरेका हुन्। बुधवार राजीनामा दिने र नियुक्त गर्ने पाँच जना नै माओवादी केन्द्रका हुन्।

बैशाख ३ गते विश्वासको मत लिएर मुख्यमन्त्री शाहीले पहिलो पटक पुर्नगठन गरेका थिए। त्यत्तिबेला फ्लोर क्रस गरी विश्वासको मत दिएका एमालेका माधव नेपाल समूहका तीन जनालाई मन्त्री नियुक्त गरिसकेका छन्। अमरबहादुर थापालाई भोतिक पूर्वाधार विकास मन्त्री, नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र कुर्मराज शाहीलाई भूमि, व्यवस्थाप, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।

कांग्रेसले सरकारमा कसलाई पठाउने भन्ने टुंगो नलगाइसकेकाले भागमा परेको सामाजिक विकास मन्त्रालय भने मुख्यमन्त्री शाहीले सम्हालिरहेका छन्। बधुवार मन्त्रालय फुटाएसँगै अब कर्णालीमा मन्त्रालयको संख्या आठ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell