PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रदेश २ का तीन जिल्लामा जेठ १० गतेसम्मको लागि लम्बियो निषेधाज्ञा



पहिलोपोस्ट

प्रदेश २ का तीन जिल्लामा जेठ १० गतेसम्मको लागि लम्बियो निषेधाज्ञा

जनकपुरधाम : प्रदेश २ का तीन जिल्लामा लगाइएको निषेधाज्ञा १० दिनको लागि थप गरिएको छ। प्रदेशको सर्लाही, धनुषा र महोत्तरीमा लगाइएको निषाधाज्ञा १० दिन सम्मका लागि बढाउने तीन जिल्लाका जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेका हुन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कोरोना संक्रमणदर कम गर्न तथा चेन ब्रेक गर्न निषेधाज्ञा लगाइए पनि संक्रमण तथा मृत्युदरमा सुधार नआएकाले जेठ १० गतेसम्मका लागि जिल्ला संकट व्यवस्थापन समितिको बैठकबाट निषेधाज्ञाको समय थपिएको जानकारी दिए।

यस्तै, जिल्ला संकट व्यवस्थापन समिति धनुषाको बैठकले अस्पतालहरुमा अक्सिजनको माग अत्यधिक बढेपनि सीमित सिलिन्डर रहेकाले १ सय २५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउनका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले निषेधाज्ञा कार्यान्वयनका लागि खटाइएका सुरक्षाकर्मीहरुको इन्धन तथा सुरक्षा उपकरणका लागि ७ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय समेत गरेको छ।

जिल्लामा एम्बुलेन्स पर्याप्त भएपनि बिरामीहरुले समयमा एम्बुलेन्स नपाएको, बिरामीलाई अस्पतालसम्म नपुर्‍याएको तथा अत्यधिक भाडा लिने गरेको गुनासो आएकाले त्यस्तो नगर्न आग्रह गर्दै त्यस्तो गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको प्रजिअ बास्तोलाले बताए।

यस्तै, सर्लाही र महोत्तरीमा पनि १० दिनका लागि निषेधाज्ञा थपिएको छ। आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले भोलि राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो।

यसअघि सर्लाहीमा बैशाख २५ गते राति १२ बजेदेखि बैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा लगाइएको थियो भने महोत्तरीमा बैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।

निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतकाहरु बन्द रहने छन्। स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने छ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell