PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

गण्डकी प्रदेश : नेता सत्ताको खेलमा, जनता आइसोलेसन बेडमा ! संक्रमित अवस्थामा पीपीईसमेत नलगाई शपथ



रिना थापा

गण्डकी प्रदेश : नेता सत्ताको खेलमा, जनता आइसोलेसन बेडमा ! संक्रमित अवस्थामा पीपीईसमेत नलगाई शपथ

पोखरा: कोरोनाले गण्डकी प्रदेश आक्रान्त छ। कोरोनासँगै प्रदेशमा राजनीतिक गर्मी पनि चरम विन्दुमा छ। वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशको राजनीतिले ट्वीस्ट एण्ड टर्न लिइरहेको छ।

बुधबार विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्न बहुमत पुर्‍याउन सकेनन्। संविधानको धारा १६८ (२) बमोजिम कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। तर, नेपालीले पेस गरेको बहुमत दाबी नपुगेको भन्दै अस्वीकृत भयो।

नेपालीको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले दाबी दर्ता भएको ४५ मिनेटमै मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरिन्। उनको नियुक्तिसँगै राजीनामा दिएको ७२ घन्टामै सरकारमा गुरुङको ‘रिटर्न’ भयो।

बुधबार साँझै मुख्यमन्त्री गुरुङले पद तथा गोपनीयताको शपथ लिन प्रदेश प्रमुखको निवासमा पुगे। शपथ समारोहमा केही र निकट व्यक्तिबाहेकलाई प्रवेश निषेध थियो। कारण हो, मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण।

वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी अहिलेसम्म होम आइसोलेसनमा छन्। यद्यपि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको मुख्यमन्त्रीनिकट स्रोतको भनाई छ।

कोरोना पोजेटिभ रहेका मुख्यमन्त्री गुरुङ प्रेस संयोजक र आफ्नो चालकसँग प्रदेश प्रमुखको निवास पुगेका थिए। मुख्यमन्त्रीको शपथ लिन होम आइसोलेसनबाट प्रदेश प्रमुखको निवास पुगेका उनले स्वास्थ्य मापदण्डसमेत पूरा गरेका थिएनन्। यद्यपि त्यसभन्दा अघि सत्तारुढ दलका अन्य सांसदले स्वास्थ्य मापढण्ड मापन गरेरमात्रै शपथ लिने जिकिर गरेका थिए।

मापदण्ड बमोजिम गुरुङले पीपीईसमेत लगाएका थिएनन्। सामाजिक दूरीका नाममा शपथग्रहणमा सीमित व्यक्तिलाई मात्र प्रवेश भनिए तापनि कम्तिमा ३५ जना व्यक्ति सहभागी रहेको त्यहाँ उपस्थित एक अधिकारीले बताए। जबकी, जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा गर्दै कुनै सभा समारोह नगर्न र १० जनाभन्दा बढी जम्मा नहुन निर्देशन जारी गरिसकेको छ।

मुख्यमन्त्री गुरुङको शपथग्रहण कार्यक्रम २ मिनेटको मात्रै भएको थियो। तर मुख्यमन्त्रीले प्रमुखको निवासमा आधा घण्टा बढी समय व्यतित गरेका थिए।

‘आफ्नो मात्रै नभएर अरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पीपीईसम्म लगाइदिएको भए राम्रो सन्देश जाने थियो,’ सहभागी एकले भने। 

समारोहमा प्रदेश प्रमुख निवास कर्मचारी, प्रदेश प्रमुखको सुरक्षागार्ड, उपसभामुख, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको एसपी र डिएसपीको टोली सहभागी थिए।

यता शपथ, उता कोरोनाबाट १६ जनाको मृत्यु

कोरोना महामारीमा आफैं संक्रमित मुख्यमन्त्री गुरुङले यसरी शपथग्रहण गरिरहँदा उता प्रदेशभर १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए। यो संख्या हालसम्मकै उच्च हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट ज्यान गुमाएका १६ जनामध्ये ८ जना कास्कीका मात्रै हुन्। पछिल्लो एक हप्तामामात्रै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९७ छ।

बिहीबारमात्रै प्रदेशभर थप १४ संक्रमितले ज्यान गुमाएका छन्। जसमध्ये ९ जनामात्र कास्कीका छन्। नेताहरु सत्ताको खेलमा लिप्त भइरहँदा संक्रमण भने उकालो ग्राफमा छ। पछिल्लो २४ घण्टामा थप ५०६ जना संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २५ हजार ९५३ पुगेको छ। प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३१ छ।

मुख्यमन्त्री गुरुङले भने पुनर्नियुक्तिपछि पहिलो निर्णय कोभिड कोषलाई ४ करोड दिने घोषणा गरेका छन्। कोष कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले खडा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell