स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले ग्रानडामाथि सानदार जित निकालेको छ। लस कारमेनेस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ को सहज जित निकालेको हो।
खेलको १७ औं मिनेटमै लुका मोड्रिचको पासमा अग्रता बनाएको रियलका लागि पहिलो हाफको इन्ज्युरी टाइममा रोड्रिगोले गोल थपे। उता घरेलु टोलीका लागि जर्ज मोलिनाले ७१ औं मिनेटमा सान्त्वना गोल फर्काए। त्यसको पाँच मिनेट भित्र रियलले दुई गोल थप्यो। ७५ औं मिनेटमा अल्भारो ओड्रिओजोला र ७६ औं मिनेटमा करिम बेन्जेमाले गोल थप्दा मड्रिडले ४-१ को जित निकालेको हो।
जितसँगै रियलले उपाधि उचाल्ने सम्भावनालाई कायमै राखेको छ। रियलले ३६ खेलबाट ७८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानको एट्लेटिको मड्रिडले समान खेल खेलेर ८० अंक जोडेको छ। त्यस्तै तेस्रो स्थानको बार्सिलोनाले ७६ अंक जोडेको छ।
