PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कोरोना अस्पतालको भित्री व्यथा : प्रयोगमा आएको केही दिनमै चुहिन थाल्यो पानी, निर्माण कम्पनी भने यसअघि नै पुरस्कृत



पी बी खड्का

कोरोना अस्पतालको भित्री व्यथा : प्रयोगमा आएको केही दिनमै चुहिन थाल्यो पानी, निर्माण कम्पनी भने यसअघि नै पुरस्कृत

सुर्खेत : कर्णाली प्रदेश अस्पतालको नयाँ भवनमा पछिल्लो समय ओपीडी सेवा र कोरोना भाइरस संक्रमित बिरामीको उपचार सेवा थालिएको दुई हप्ता भयो। बाहिरबाट हेर्दा चिटिक्क देखिने प्रदेश अस्पतालको नयाँ भवनमा स्वास्थ्यकर्मी र बिरामीले भने सास्ती बेहोरिरहेका छन्।

म्यादभन्दा ६ महिना अगावै निर्माण सम्पन्न भएको भवनमा पानी चुहिनेलगायतका समस्याले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीले सास्ती बेहोर्न बाध्य भएका हुन्। ४२ करोड बढी लागतमा निर्माण भएको भवन ‘फुल फेज’ प्रयोगमा ल्याएको दुई हप्ता नहुदैँ यसरी सास्ती बहोरिरहेका छन्।

२०७६ साउनमा निर्माण कम्पनीले भवनको जिम्मा प्रदेश अस्पताललाई लगाएको थियो। अस्पतालले नवनिर्मित भवनको जिम्मा लिए पनि प्रयोगमा भने ल्याएको थिएन। तर, पछिल्ला दिन कोरोनाका बिरामी बढेसँगै सम्पूर्ण भवनको ब्लकहरु प्रयोगमा ल्याउन खोज्दा सिलिङबाट पानी चुहिने, विद्युतको वाइरिङ, प्लम्बरिङ र फ्लोरिङमा थुप्रै समस्या देखिएको अस्पतालले जनाएको छ।

‘भवन बुझेको वर्ष दिन भयो, तर, प्रयोगमा ल्याएको दुई हप्ता जति,’ प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘पानी चुहिने, ट्वाइलेट ब्लक भएर कोठा भरिने, ठाउँ ठाउँको धाराहरु आफैँ टुट्ने, विद्युतको पनि वाइरिङ पनि क्वालिटीको नभएको, फ्लोरिङ पनि ठाउँठाउँमा च्यातिएको छ।’

उनका अनुसार अहिले गर्भपतन गराउने कक्ष (क्याक)मा पानी चुहिएकै कारण बेड राख्न नसकेको बताए।

निर्माण कार्यको जिम्मा पाएको चितवनको आशिष कन्ट्रक्सनले २०७३ माघमा करिब ४२ करोड रुपैयाँमा ठेक्का लिएको थियो। म्यादभन्दा ६ महिना अगावै भवन हस्तान्तरण गरी पुरस्कृत बनेको निर्माण कम्पनीले गुणस्तरहिन सामाग्रीको प्रयोग गरेको हुनसक्ने अस्पतालको भनाई छ। कम्पनीले हतार हतारमा हस्तान्तरण गरेको र आफुहरुले इमान्दारितापूर्वक बुझेको निर्देशक डा. खड्काको भनाई छ। भवन त्यत्तिबेलै प्रयोगमा नल्याई लामो समयपछि प्रयोगमा ल्याउँदा निर्माण कम्पनी पन्छिने दाउमा छ। निर्माण कम्पनीले हस्तान्तरण गरेको एक वर्षसम्म जिम्मेवारी लिने भए पनि अस्पतालको भवन एक वर्ष बढी बितिसकेकाले पन्छिने दाउमा लागेको हो।

सामान्य अवस्थामा पनि बिरामीको चाप लाग्ने प्रदेश अस्पतालमा पछिल्ला दिन कोरोना भाइरस संक्रमणका बिरामीले थेगी नसक्नु छ। जसले गर्दा पनि अहिले विरामी र स्वास्थ्यकर्मीले समस्या भोग्नु परेको अस्पतालको भनाई छ।

‘यस्तो यस्तो समस्या भयो छिटो मर्मत सुधार गरिदिनुपर्यो भन्दा त्यत्तिराम्रो रेस्पोन्स नगरिदिदाँ अहिले अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीले समस्या भोगिरहनुपरेको छ’ निर्देशक डा. खड्काले भने।


प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का।


यता, अस्पताल भवन निर्माणको निरीक्षण गर्ने जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले निर्माण कम्पनीलाई मर्मत सुधारका लागि ताकेता गरिरहेको जनाएको छ।

‘निर्माण कम्पनीलाई हामीले जानकारी गराईसकेका छौँ,’ इन्जिनियर नरेन्द्र बुढाले भने, ‘बन्दाबन्दीले पनि समस्या भईरहेको छ, जतिसक्यो छिटो आएर मर्मत सुधार गर्न कम्पनीलाई ताकेता गरेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell