वीरगंज : पर्सा–बाराको दोसाँधमा रहेको परवानीपुर बजारमा निषेधाज्ञाको असर निस्प्रभावी देखिएको छ। स्थानीय प्रहरीले नै पसलेहरुसंग मासिक रुपमा नजराना लिइरहेको कारण परवानीपुर आसपासमा निषेधाज्ञामा कडाई नभएको स्थानीयहरुले आरोप लगाएका छन्।
पर्सामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाइए तापनि प्रहरी चौकी परवानीपुर र ईलाका प्रहरी कार्यालय परवानीपुर, बुनियादको उदासिनताको कारण यस्तो भइरहको परवानीपुरवासीको गुनासो छ। ‘प्रहरीले गाडीबाट मात्र गस्ती गरेकोजस्तो गर्छ, पसलहरु अगाडिबाट बन्द र पछाडीबाट चल्ने गर्छ,’ परवानीपुरका एक अगुवाले भने, ‘साँझको समयमा परवानीपुर बजारमा खद्यान्न देखि तरकारी बजार निर्वाद रुपमा खुल्ने गर्छ।’
साँझको समयमा सयौं जनाले नास्ता पसलमा नास्ता गर्छन भने घरेलु मदिराको व्यापार पनि खुबै भइरहेको बताइएको छ। परवानीपुर बजारमा पनि मास्क र समाजिक दुरी कायम हुदैन। बाराको बुनियादमा रहेको ईलाका प्रहरी कार्यालय परवानीपुरले पनि कोरोना महामारी नियन्त्रणमा परवानीपुर बजार आसपासमा खासै ध्यान नदिएको परवानीपुर गाउँपालिकाका बासिन्दाहरुको गुनासो छ। यस विषयमा पर्साका प्रहरी उपरीक्षक बेलहादुर पाण्डेले बुझ्ने आश्वासन दिए। उनले दोषी भेटिने सुरक्षाकर्मीलाई कारबाहीसमेत गर्ने आवशसान दिए।