भारतमा अहिले एउटा कार्टुन निकै चर्चित भइरहेको छ। मानिसहरु अक्सिजनको अभावमा ज्यान गुमाइरहेको अवस्थालाई चित्रण गर्दै प्रकाशित कार्टुनमा लेखिएको छ : भारतमा ३३ मिलियन देवी देवता छन् र तिनीहरु मध्ये एकजनाले पनि अक्सिजन उत्पादन गर्न सकेनन्।
सामाजिक संजालमा चर्चामा रहेको यो कार्टुन फ्रान्सको चार्ली हेब्दोले प्रकाशित गरेको दाबी गरिएको छ। कार्टुनमा चार्ली हेब्दोको नाम उल्लेख समेत गरिएको छ।
अप्रिल २८ मा यो कार्टुन तयार भएको देखिन्छ। कार्टुन प्रकाशित भएको धेरै समयपछि यो विषयलाई लिएर भारतमा बहस छेडिएको छ। कार्टुनको पक्ष र विपक्षमा सामाजिक संजालमा बहस भइरहेको छ।
हिन्दु धर्मावलम्बी बिच ३३ कोटी अर्थात् ३३ करोड देवी देवताको रहेको मान्यता छ। हेब्दोले यही विषयलाई इंगित गर्दै काटुन छापेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यद्यपि, उक्त कार्टुनमा भने ३.३ करोड देवीदेवता रहेको उल्लेख गरिएको छ।
चार्ली हेब्दोले यसअघि पनि धार्मिक विषयलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दै आएको छ। इस्लाम धर्मलाई लक्षित कार्टुनका कारण पटकपटक यो पत्रिका विवादमा पनि आएको छ। पैगम्बरले 'बम' बोकेको व्यङ्ग्यचित्र छापेका कारण पत्रिकाको कार्यालयमा हतियारधारीले आक्रमण नै गरेका थिउ।
सन् २०२० को अक्टोबरमा फ्रान्सको एक विद्यालयमा शिक्षकले पैगम्बरको कार्टुन देखाएपछि उनको हत्या भएको थियो। फ्रान्सेली राष्ट्रपति इमान्युल माक्रोनले कार्टुन देखाउनुलाई सही भन्दै धार्मिक कट्टरपन्थीविरुद्ध लड्ने बताएका थिए।
पैगम्बरको कार्टुन प्रकाशन गरेको बेलामा भारतका हिन्दुवादी संघसंस्थाले उक्त पत्रिकाको पक्षमा अभिव्यक्ति दिएका थिए। तर, त्यही पत्रिकाले भारतमा देखिएको संकटलाई लिएर हिन्दु धर्मसँग जोडेर व्यङ्ग्य गरेपछि भने विरोध भइरहेको छ। हेब्दोको यो कार्टुनलाई नरेन्द्र मोदी नेतृत्वको हिन्दुवादी विचारधाराबाट प्रेरित भारतीय जनता पार्टीमाथि प्रहार समेत भनिएको छ।
तर, 'अपइन्डिया' ले भने यो कार्टुन चार्लि हेब्दोकै भएको कुनै प्रमाण नभएको बताएको छ। 'फ्याक्ट चेक' का क्रममा हिन्दु धर्म लक्षित कार्टुन हेब्दोको वेभसाइटमा नभेटिएको अपइन्डियाको दाबी छ।
यो कार्टुन रेडिटबाट बाहिरिएको अनुमान गरिएको छ।
यद्यपि, हेब्दोले भारतको पछिल्लो अवस्थामाथि व्यङ्ग्य गरेर कार्टुन नछापेको भने होइन। ताज महल र महात्मा गान्धीको कार्टुन बनाइ हेब्दोले भारतमा अक्सिजनको अभावका साथै संक्रमणको विकराल रुपलाई व्यङ्ग्य भने गरेको थियो।
तर, हाल सामाजिक संजालमा भाइरल भइरहेको कार्टुन हेब्दोकै हो भन्ने प्रमाण नभएको अपइन्डियाले उल्लेख गरेको छ।