PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओलीको सत्ता निरन्तरताका 'सारथी' महन्थ ठाकुरको रणनीति अब के?



कमलराज भट्ट

ओलीको सत्ता निरन्तरताका 'सारथी' महन्थ ठाकुरको रणनीति अब के?
फाइल फोटो।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार पुन: प्रधानमन्त्री नियुक्त भएसँगै उत्कर्षमा पुगेको राजनीतिक रस्साकस्सी एकाएक थामिएको छ। ओली दोहोरिनुमा मुख्यत: सत्ता समीकरणमा निर्णायक जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको भूमिका रह्यो।

साथसाथै, महन्थ ठाकुरले विश्वासको मत प्रकृयामा तटस्थ बसेर उपेन्द्र यादव र बाबुराम भट्टराईको अलग धारलाई पार्टीबाट फुट्न जोगाए। अर्कातिर माधवकुमार नेपालले जेठ २ मा फर्किँने आफ्नो माग पूरा गर्ने वातावरण बनाएर पार्टी एकतावद्ध बनाउने बाटो समाए।

अन्तत: महन्थ र माधवले ओलीलाई त जोगाए नै साथसाथै पार्टी फुटको अपजस आफ्नो भागमा पर्नबाट पनि रोके। माधव नेपाल समूहको व्यवस्थापन सरकारमा सहभागिता देखि पार्टीमा ‘स्पेस’सम्मको माध्यमबाट हुने निश्चित भइसकेको छ। आफूलाई साथ दिएका माधव समूहका नेतालाई ओलीले मन्त्री बनाउँदैछन्। जेठ २ फर्किने गृहकार्य गर्न कार्यदल पनि बनाउँदैछ। तर, उसैगरी साथ दिएका महन्थ ठाकुरलाई के गर्ने? उनको रणनीति के हो भन्ने प्रश्न उठेको छ।

प्रधानमन्त्रीसँग वार्ता

बहुमत नपुगेर नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (उपेन्द्र-बाबुराम) को गठबन्धन सरकार नबन्ने निश्चित भएपछि प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बालुवाटार बोलाए। पुन: प्रधानमन्त्री बन्न लागेकोमा ठाकुर र महतोले बधाई दिए। प्रधानमन्त्री ओलीले धन्यवाद दिए। यो भेट ठाकुर र महतोले गुन लगाएको र ओलीले तिर्ने अवस्थामा भएको थियो। गुन तिर्नका लागि ओलीले ठाकुर र महतोलाई सरकारमा सहभागी हुन प्रस्ताव गरे। मिलेर सरकार चलाउन र ५ देखि ७ वटासम्म मन्त्रालय सम्हाल्न अनुरोध गरे। तर, ठाकुर र महतोले अहिले सरकारमा जान सम्भव नभएको जवाफ दिए। बरु उनीहरुले 'मधेशका बाँकी मागलाई अगाडि बढाउनुस्' भने।

ओलीले १५ मुद्दाका २०८ जनाको मुद्दा फिर्ता र रिहाईको निर्णय गरिसकेका छन्। मधेश र थारुहट गरी करिब १२ सय जना मुद्दा लागेर जेलमा छन्। जसपा नेताहरुले ओलीलाई बाँकी मुद्दा फिर्ता प्रक्रिया बढाउन अनुरोध गरेका थिए। साथसाथै संविधान संशोधनका लागि कार्यदल गठन र लाल आयोग प्रतिवदेन सार्वजनिकको विषयमा पनि ढिलाई नगर्न ध्यानाकर्षण गराए। यी कामहरु अघि बढेमा ३० दिनभित्र लिनुपर्ने विश्वासको मत दिने र त्यसपछि सरकारमा सहभागी हुने विषयमा सोच्न सकिने जवाफ दिएर महन्थ र राजेन्द्र राति बालुवाटारबाट निस्किए।

ठाकुर समूहको रणनीति

अहिले नै सत्तामा जाँदा मधेशमा नराम्रो सन्देश जाने र पार्टीभित्र उपेन्द्र र बाबुराम पक्षले प्रश्न उठाउने खतराको आंकलन ठाकुर समूहको छ। त्यसमाथि आफैँ सत्तामा जाँदा मुद्दा सम्बोधन पनि प्रभावकारी रुपमा अघि नबढ्ने निष्कर्ष ठाकुर समूहले निकालेको छ। पार्टीभित्र आफू कमजोर हुने र अर्को समूह (उपेन्द्र-बाबुराम) समूहले पार्टी नै फुटाउन सक्ने आंकलन गरेर ठाकुर समूहमा तत्कालै सत्तामा सहभागी नहुने निष्‍कर्षमा पुगेको हो।

हुन त राजनीतिको अन्तिम लक्ष्य सत्ता नै हो। तर, महन्थ ठाकुर निकट नेता डा सुरेन्द्र झाले जसपाको प्राथमिकतामा सत्ता नरहेको बताए।

‘सरकार हाम्रो प्राथमिकता हुँदै होइन। मुद्दाहरुको समाधान गर्नुपर्‍यो प्रधानमन्त्रीजीले। जुन काम उहाँले अगाडि बढाउनुभएको छ त्यसलाई निष्‍कर्षमा पुर्‍याउनुपर्‍यो। जनतालाई उहाँले भन्नुपर्‍यो यो आवश्यक काम थियो मैले गरे। त्यसपछि मात्रै अरु कुराहरु सोच्न सकिन्छ,’ झाले भने।

बिहीवार साँझ बालुवाटारमा नेताहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले मधेश मुद्दा सम्बोधन तदारुकताका साथ अगाडि बढाउने प्रतिवद्धता जनाएको नेता झाले जानकारी दिए।

‘प्रधानमन्त्रीले यो सबै अगाडि बढाउँछु भन्नुभयो। हामीले त्यसपछि सोचौला भन्यौं,’ झाले भने।

झाले मुद्दा सम्बोधनको प्रगति हेरेर ३० दिनभित्र प्रधानमन्त्रीले लिनुपर्ने विश्वासको मत दिने वा नदिने तय हुने बताए। मुद्दा सम्बोधन हुँदै गए विश्वासको मत दिने र त्यसपछि सत्तामा जान सकिने आफूहरुको रणनीति रहेको झाले जानकारी दिए।

‘संविधानको संशोधनका लागि कार्यदल गठन लगायत हाम्रो साथ समर्थनका लागि प्रधानमन्त्रीजीसँग जुन विषयहरु राखेका छौं। सवालहरु राखेका छौं। त्यसमा प्रधानमन्त्री सकारात्मक ढंगले तदारुकताका साथ अगाडि बढ्नुपर्छ। तराई मधेश र थरुहटको जनताले महसुस हुने गरेर काम अगाडि बढाउनुभयो भने त्यसबारेमा सोच्न सकिन्छ,’ उनले भने।

नेता झाले न्यायिक प्रक्रियामा रहेको रेशम चौधरीको मुद्दामा पनि सरकारले मध्यस्थता गरिदिनुपर्ने माग प्रधानमन्त्रीसँग राखिएको बताए।

‘रेशम चौधरीको मुद्दा न्यायिक प्रक्रियामा छ। हामीले प्रमाण जुटाइदिने हो। सरकारले मध्यस्थता गरिदिनुपर्छ भन्यौं,’ उनले भने, ‘प्रधानमन्त्रीजी सकारात्मक हुनुहुन्छ। तर, हामी रिजल्ट खोजिरहेका छौं। त्यहीँ रिजल्टमा हाम्रो मुभ डिपेन्ड हुन्छ।’

राजेन्द्र महतो निकट नेता मनिष सुमनले पनि मुद्दा सम्बोधन जसपाको बटमलाइन भएको बताए।

‘हाम्रो राजनीति मुद्दामा केन्द्रित छ, सत्ताका लागि होइन। प्रतिवद्धता अनुसार प्रधानमन्त्री अघि बढ्नुभयो भने हामी विश्वासको मत पनि दिन्छौं। सरकारमा सामेल हुन पनि कुनै दिक्कत हुनेछैन,’ उनले भने, ‘तर पहिला काम त हुनुपर्‍यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell