काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा सपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको व्यवहार 'असहज' सुनियो। संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कामचलाउ बनेका ओलीले आज फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका हुन्।
राष्ट्रपति भण्डारीले सपथको तय ढाँचा वाचन गर्दै ओलीलाई पद तथा गोपनीयताको बाचा गराउँदै थिइन्। त्यसैक्रममा भण्डारीले 'मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु...' भन्दै थिइन्। त्यत्तिकैमा उनलाई ओलीले रोके।
प्रधानमन्त्रीको सपथ लिइरहेका ओलीले 'मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वक' सम्ममात्रै भने। 'प्रतिज्ञा गर्छु' चाहिँ भनेनन्।
ओलीले सपथको वाक्य पूरा नभनेपछि राष्ट्रपति भण्डारीले 'प्रतिज्ञा गर्छु' भन्न इसारा गरिन्। तर, ओलीले 'त्यो पर्दैन' भनेर टार्दिए। राष्ट्रपतिले जे भन्न इसारा गरेकी थिइन्, त्यो कुनै विवादास्पद विषय थिएन। राष्ट्रपतिको पदीय मर्यादालाई 'त्यो पर्दैन' भन्दै ओलीले टारेको टेलिभिजनबाट प्रसारित भइरहेको थियो।
राष्ट्रपतिलाई ओलीको 'निर्देशन' : त्यो पर्दैन pic.twitter.com/sVI1MbUcI8
— PahiloPost (@PahiloPost) May 14, 2021
त्यसपछि राष्ट्रपतिले हाँस्दै सपथका अन्य शब्दहरु अगाडि बढाइन्। एउटै पार्टीबाट राष्ट्रपति र प्रधानमन्त्री भएकाले हुनुपर्छ - राष्ट्रपतिले सहजै ओलीको 'निर्देशन' स्वीकारिन्। तर, राष्ट्रपतिको आग्रहलाई 'वेवास्ता' गरेको दृश्य शोभनीय भने देखिएको थिएन।
यता, राज्यमन्त्रीहरुलाई सपथ गराउँदा भने ओलीले सपथको तय ढाँचा जस्ताको त्यस्तै पढे र सपथ गराए। ओलीले मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वक काम गर्ने प्रतिज्ञा राज्यमन्त्रीहरुलाई चाहिँ गर्न लगाए। त्यहाँ चाहिँ 'स्केप' गरेनन्। मन्त्रीहरुले पनि ओलीले जस्तै 'त्यो पर्दैन' पनि भनेनन्।
तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिइरहेका ओलीले राष्ट्रपतिलाई 'टेकओभर' गर्दै आफ्नै शब्द चयन गरेको विषयले स्वभाविक रुपमा समाजिक सञ्जालमा बहस त ल्याउने भयो नै। अहिले सोसल मिडियामा उनको शैलीलाई लिएर टिप्पणी सुरु भइसकेको छ।
