PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माधव नेपाल ओलीतिर ढल्किएपछि सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार अल्पमतमा, जसपा निर्णायक



एम बम

माधव नेपाल ओलीतिर ढल्किएपछि सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार अल्पमतमा, जसपा निर्णायक

कैलाली : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट माओवादी केन्द्रले नेतृत्व गर्ने अवसर पाएको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य अन्ततःअन्योलमा परेको छ।

प्रदेश सभामा नेकपा एमालेको माधव नेपाल पक्षको पकड छ। ५२ सदस्यीय प्रदेश सभामा एमाले एक्लैसँग २५ सदस्य छन्। २५ मध्ये ओली पक्षका सदस्यको सङ्ख्या ६ जना छ भने सभामुखसहित अन्य १९ जना नेपाल पक्षका हुन्। १४ सदस्य रहेको माओवादीबाट एक जना एमालेतर्फ लागेर निलम्बनमा परेपछि १३, काँग्रेससँग १२ र जनता समाजवादी पार्टीका दुई सदस्य छन्।

यसअघि माधव पक्षको पकडको भरमा चलिरहेको माओवादी नेतृत्वको सरकार अब एमाले एक्लैले सञ्चालन गर्ने गरी गृहकार्य थालेपछि अन्ततः अल्पमतमा परेको हो। तर एमालेलाई मात्रै नभएर अन्य दललाई पनि सरकार सञ्चालनको गठबन्धन तयार पार्न सहज अवस्था भने छैन।

सर्वोच्च अदालतले एमाले-माओवादीलाई पूर्ववत् अवस्थामा ल्याइदिएपछि नै प्रदेशमा सरकार परिवर्तनको पहल नभएको भने होइन। तर, ओली समूहभन्दा नेपाल समूह बलियो भएका कारण सरकार फेरिन सकेको थिएन।

अहिले माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेभित्र नेपाल समूहका प्रकाश शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन्।

ओली पक्षका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले गत पुस १४ मा बर्खास्त गरेका थिए। त्यसपछि माओवादी केन्द्रका अर्का सांसद झपट बोहराले २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएर ओली समूहतर्फ लागेका थिए। त्यसपछि उनको प्रदेशसभा सदस्य पदमुक्त भएको छ। उनी सुदूरपश्चिमका माओवादी नेता लेखराज भट्टसँगै एमालेमा प्रवेश गरेका थिए।

जसपा निर्णायक

एमालेलाई सरकार सञ्चालन गर्न जसपाको साथ चाहिन्छ। उता माओवादीका १३, काँग्रेसका १२ र जसपाका दुई मिले पनि सरकार बन्ने सम्भावना उत्तिकै छ। तर केन्द्रमा विभाजित देखिएको जसपाको प्रदेशमा कस्तो भूमिका रहने त्यसमा भर पर्छ। जनता समाजवादी पार्टीका दुवै जना सदस्य पूर्व राजपाअर्थात् महन्त–राजेन्द्र पक्षका भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने सम्भावना प्रबल रहेको एमाले सदस्यहरूले अड्कल काटिरहेका छन्।

मुख्यमन्त्री भट्टले पदबाट हटाइदिएका पूर्वभौतिकपूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले अब अहिलेको सरकार परिवर्तन हुने बताए। ‘यो सरकार हिजो एक परिस्थितिमा बनेको थियो। अहिले फरक परिस्थिति छ। संसदमा ठूलो दल एमालेको सरकार गठनका लागि काम हुन्छ,’ उनले भने। एमालेका सदस्यहरूले सरकार गठनबारे केन्द्रको निर्णय कुरेको बताएका छन्। माधव नेपाल पक्षका सांसद तारा लामा तामाङले केन्द्रले जे भन्छ त्यहीँ हुने बताए। ‘अहिले कोरोनासँग कसरी लड्ने भन्ने नै मुख्य विषय छ, सरकारबारे केन्द्रमा जे हुन्छ यहाँ पनि त्यहीँ हुने हो,’ उनले भने।

केन्द्रमा जनता समाजवादी पार्टीका महन्त ठाकुर र राजेन्द्र महतो पक्षले ओली सरकारलाई सहज पारेजस्तो यहाँ पनि जसपा सांसदले आफूहरूलाई सघाउने विश्वास उनीहरूको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पनि अब प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने बताए। ‘अब सरकारको नेतृत्व नेकपा एमालेले गर्छ,’ उनले भने, ‘हामीले गृहकार्यमा सुरु गरिसकेका छौं।’

तर जसपाले भने केन्द्रमा जसरी प्रदेशमा पनि आफूहरू तटस्थ रहने बताएको छ। जसपाकी प्रदेश सभा सदस्य मालामती कुमारी रानाले भनिन्, ‘हाम्रा माग र मुद्दाहरू अहिले पनि सम्बोधन हुन बाँकी नै छन्। त्यसैले हामी न सरकारमा सहभागी हुन्छौँ। न सरकार ढलाउन लाग्छौं।’

मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारले कुनै काम समेत गर्न नसकेको भन्दै विगत लामो समयदेखि आलोचित हुँदै आएको छ। उनले दुई जना मन्त्री खाली भएको लामो समय भइसक्दा आफ्नै पार्टीबाट मन्त्री समेत नियुक्त गर्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell