काठमाडौं : गोदावरीमा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।

केन्द्रको यसअघि भौतिक उपस्थितिमै उद्घाटन गर्ने भनिएपनि चौतर्फी आलोचना भएपछि भर्चुअल माध्यमबाट उद्घाटन गरिएको हो। कोरोना महामारीले विकराल रूप लिइरहेको अवस्थामा सयौंको भिड जम्मा गरेर उद्घाटन गर्नु जोखिम हुने आँकलनपछि सहरी विकास मन्त्रालयले भर्चुअल माध्यमबाटै प्रधानमन्त्रीले उद्घाटन गर्ने बताएको थियो।

ठूलो क्षमतासहितको अन्तर्राष्ट्रियस्तरको सभाहल नहुँदा सरकारले आयोजना गर्ने सभा(सम्मेलनहरु राष्ट्रिय सभा गृहलगायतका स्थानहरुमा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसदका बैठकहरु सञ्चालन गर्दै आएकाले ठूलो क्षमताका सभाहलको अभाव खड्किँदै आएको छ।

कुल ४३ रोपनीमा निर्माण भइरहेको यस परियोजनाको ११ रोपनीभन्दा बढीमा क्षेत्रफलमा सभाहल, तीन रोपनीमा भित्री सडक, १३ रोपनीमा पार्किङस्थल र १६ रोपनीमा खुला स्पेससँगै बगैंचासहितको हरित क्षेत्र निर्माण भइरहेको छ।

सभाहलभित्रको निर्माण कार्य सकिएपनि बाहिरको काम भने अहिले पनि भइरहेको छ। सरकारले सभाहल निर्माणका लागि ६५ करोड रुपैयाँमा केसी(समानान्तर जेभीलाई ठेक्का दिएको थियो।
