PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

२४ घण्टामा गण्डकीमा २३ जनाको कोरोनाका कारण मृत्यु, थप ६८० जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

२४ घण्टामा गण्डकीमा २३ जनाको कोरोनाका कारण मृत्यु, थप ६८० जनामा संक्रमण पुष्टि

पोखरा : गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रवार थप २३ जना संक्रमितको मृत्यु भएको हो।

योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ। आज थपिएको मृत्युको संख्या प्रदेशमा हालसम्मकै उच्च हो। यसअघि सबैभन्दा बढी बुधवार १६ जनाको ज्यान मृत्यु भएको थियो। प्रदेशमा बैशाख महिनामा मात्रै १ सय ३४ कोरोना संक्रमितको मृत्यु भएको छ।

आज मृत्यु भएका संक्रमितमध्ये १० जना कास्कीका रहेका छन्। पोखरा महानगरपालिकाका ९ र १ जना रुपा गाउँपालिका गरी कास्कीमा १० संक्रमितको मृत्यु भएको हो। योसँगै जिल्लामा मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ।

त्यस्तै, कास्कीपछि स्याङ्जामा एकैदिन ६ जना संक्रमितको मृत्यु भएको छ। स्याङ्जा गल्याङ नगरपालिका-३ का २६ वर्षीय पुरुष सहित ६ जना संक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो। योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ।

यता बागलुङमा पनि आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बागलुङ बडिगाड गाउँपालिका-४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ-७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ। योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या १७ पुगेको छ।

तनहुँमा पनि थप ३ संक्रमितको मृत्यु भएको छ। तनहुँको भीमाद नगरपालिका-६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी-६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका-३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा ज्यान गएको छ। योसँगै तनहुँमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ।

आज गण्डकी प्रदेशमा थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ३३ पुगेको छ। प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५७ पुगेको छ। पछिल्लो २४ घण्टा ४ सय ३१ जना निको भएको छन्। प्रदेशमा निको हुनेको संख्या १९ हजार ३५ पुगेको छ।

आज थपिएका संक्रमितमध्ये ३ सय ६ जना कास्की जिल्लाका रहेका छन्। कास्कीमा आज थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ४० पुगेको छ।

नवलपरासी पूर्वमा ८७, स्याङ्जामा २३, म्याग्दीमा ५२, पर्वतमा ६१, गोरखामा ७४, लमजुङमा ४६, तनहुँमा २७ जना संक्रमित थपिएका छन्।

लमजुङमा हाल १ सय ७२, गोरखामा ४ सय ४९, तनहुँमा ३ सय ६२, नवलपरासी पुर्वमा ६ सय ६९, स्याङ्जामा ४ सय २५, पर्वतमा ४ सय १९, बागलुङमा ७ सय २५, म्याग्दीमा ३ सय १७, मनाङमा ३९ र मुस्ताङमा ५० जना सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell