PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वाग्मतीका मन्त्रीहरु कोरोना रोकथाममा खटिएको गर्छन् दावी, तर संक्रमितको संख्या झनझन उकालो लाग्दै



निशा गुरुङ

वाग्मतीका मन्त्रीहरु कोरोना रोकथाममा खटिएको गर्छन् दावी, तर संक्रमितको संख्या झनझन उकालो लाग्दै

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नियुक्त गरेका तीन मन्त्रीहरुले सपथ लिएको भोलिपल्टबाटै कोरोनाको महामारी रोकथाममा लागेको दावी गरेका छन्।

मन्त्री भइसकेपछि कार्यक्रम तथा उद्घाटनमा सहगागी नभएको भन्दै कोरोना रोकथाममा लागि परेको तीनै मन्त्रीहरुको दावी छ। मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे, उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेतलाई नियुक्त गरेका थिए।

सामाजिक विकासमन्त्रीमा नियुक्त भएकी बस्नेतले कोरोना महामारी रोकथाममा निकै अग्रसरता देखाएकी छिन्। दिनरात महामारीमा परेका बिरामीहरुलाई कसरी बचाउने भन्ने विषयमा खटिरहेको उनको दावी छ।

मन्त्री बस्नेतले अहिलेको महामारीमा जनचेतना, अक्सिजन प्लान्ट, पीसीआर ल्याबको विषयमा काम भइरहेको बताइन्। उनले भोलि हेटौँडामा चीनबाट अक्सिजन आउने जानकारी समेत दिइन्।

त्यस्तै, उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल पनि विकास निर्माणको काममा भन्दा प्रदेशमा अक्सिजनको माग कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा लागिपरेको उनका स्वकीय सचिव दिपेन्द्र पौडेलले जानकारी दिए। मन्त्री नेपाल आगामी वर्षको नीति तथा कार्यक्रमको छलफल र बजेट तर्जुमा गर्न व्यस्त रहेको उनले बताए।

त्यस्तै, आन्तरिक मामिला तथा कानुमन्त्री केशवराज पाण्डे पनि अक्सिजनको कमी हुन नदिन लागिपरेको उनका स्वकीय सचिव विष्णु दाहालले जानकारी दिए। सबै भन्दा ठूलो मान्छेको ज्यान भएको भन्दै विकासको कामलाई थाँती राखेर अहिले कोरोना महामारी रोक्न लागिपरेको उनले जानकारी दिए।

प्रदेशका मन्त्रीहरु कोरोना रोकथाममा सक्रिय भएपनि मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक सयको हाराहारीमा बढ्दै छ। त्यतिमात्र होइन  अक्सिजनको अभावले हेटौँडा अस्पताललगायत निजी क्षेत्रका अस्पतालहरुले कोरोना संक्रमित भर्ना लिएर उपचार गर्न नसकिने भनेर शुक्रवार दिउँसो सार्वजनिक सूचना जारी नै गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell