PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

यौन दुर्व्यवहारको आरोप खेपिरहेका प्राध्यापकलाई बचाउ गर्न खोजेको भन्दै विद्यार्थीको आपत्ति



पहिलोपोस्ट

यौन दुर्व्यवहारको आरोप खेपिरहेका प्राध्यापकलाई बचाउ गर्न खोजेको भन्दै विद्यार्थीको आपत्ति

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीहरुले यौन दुर्व्यवहारको आरोप खेपिरहेका मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङलाई बचाउ गर्ने मनसायका साथ विभागका पूर्व प्रमुखहरुले जारी गरेको विज्ञप्तिलाई लिएर आक्रोश व्यक्त गरेका छन्।

समाजशास्त्र विद्यार्थी फ्रन्टका संयोजक जगत विकले विज्ञप्ति जारी गर्दै प्राध्यापकमाथि लागेको यौन दुर्व्यवहारको आरोप निश्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले विचाराधिन मुद्दालाई प्रभावित गर्ने हिसाबले बन्द कोठाबाट विज्ञप्ति जारी गर्दै नहिँड्न पूर्व विभागीय प्रमुखहरुलाई चेतावनी दिएका छन्।

‘अवान्छित ढङ्गले पीडितलाई मिल्न उपदेश दिँदै अँध्यारो कोठाबाट वक्तव्यबाजी नगर्न हामी समाजशास्त्रर मानवशास्त्रका तीनजना पूर्व प्रमुखहरुलाई सचेत गराउन चाहन्छौँ। साथै, कुनैपनि न्यायपूर्ण समाजमा पाच्य नहुने उहाँहरुको गैरन्यायिक कदमप्रति खेद व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि समाजशास्त्र/मानवशास्त्र विभागका तीन जना पूर्व प्रमुखहरु प्राडा ओम गुरुङ, प्राडा रामबहादुर क्षेत्री र प्राडा पदमलाल देवकोटाले घटनालाई मिलाउन दबाब दिँदै संयुक्त वक्तव्य जारी गरेका थिए।

यस्तै, विद्यार्थीहरुले मानवशास्त्र विभाग प्रमुख डम्बर चेम्जोङलाई पनि निश्पक्ष न्यायिक प्रक्रियामा समावेश हुन सुझाव दिँदै पीडित भनिएकी महिलालाई अपशब्द बोल्ने र लान्छित गर्नेजस्ता अराजक गतिविधि नगर्न चेतावनी दिएका छन्। विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको वातावरण बदल्नका लागि दबाब दिन नागरिक समाज, पत्रकार, बुद्धिजीवी लगायत सबैलाई अपिलसमेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell