PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अक्सिजन सिलिण्डरमा 'उठाएको' विषयमा कसले बोल्यो झुट? प्रहरीले वा उद्योगीले?



पहिलोपोस्ट

अक्सिजन सिलिण्डरमा 'उठाएको' विषयमा कसले बोल्यो झुट? प्रहरीले वा उद्योगीले?

काठमाडौं : ट्रमा सेन्टरका निमित्त निर्देशक डाक्टर सन्तोष पौडेलले दुई दिनअघि फेसबुकमा भयपूर्ण अवस्थाबारे पोस्ट गरे। अक्सिजन अभाव भोगिरहेको मुलुकमा उनले पोस्ट गरेको विषयले धेरैको ध्यान खिच्यो। त्यसले सामाजिक सञ्जाल पनि ततायो।

उनले लेखेको कुरा निकै मार्मिक थियो। संवादमा आधारित थियो उनको पोस्ट। कोरोना भाइरसको संक्रमणले अस्पताल अस्तव्यस्त हुँदाको अवस्थालाई त्यो संवादले चित्रण गरेको थियो। सँगै प्रहरी प्रशासनमाथि गम्भीर आरोप पनि थियो त्यसमा। 

अहिले देशका सबैजसो अस्पतालले अक्सिजनको अभाव भोगिरहेका छन्। दिनहुँ अक्सिजन आपूर्ति नहुँदा मानिसहरु मरिरहेका छन्। कोरोना संक्रमितहरु अस्पतालेको शय्यामा मात्र होइन अस्पताल प्राङ्गणमा नै अक्सिजन नपाएर छटपटाइरहेका छन्। ट्रमा सेन्टरमा पनि अक्सिजनको अभाव देखिएको छ।

यस्तो अवस्थामा ट्रमालाई पठाउन लागेको अक्सिजन प्रहरीले अन्यत्रै लिएर गएको विषय गम्भीर थियो। अस्पतालमा रहेका बिरामीको हालत यस्तो अवस्थामा के होला? सबैतिर चासो हुनु स्वभाविक बन्यो।

डाक्टर पौडेलले राखेको फेसबुक स्टाटसमा अस्पतालमा अक्सिजन नआएपछि अक्सिजन उत्पादन गर्ने उद्योगसँग सम्पर्क गर्दा अस्पतालको भागको अक्सिजन प्रहरीले आएर लगेको जवाफ मिलेको उल्लेख छ। त्यसले उनलाई भावुक र आक्रोशित पनि बनाएको देखिन्छ उनको पोस्ट हेर्दा। 

'हजुरहरूलाई राखेको अक्सिजन सिलिन्डर पुलिसको ठूलो मान्छेहरू आएर लिएर गए। हामीले के भन्ने सर, जबरजस्ती गरेपछि,' डाक्टर पौडेलले अक्सिजन किन नआएको भन्दै उद्योगमा फोन गरेपछि उद्योगीले फोनमा दिएको जवाफ यही रहेको उल्लेख गरेका छन्।

आखिर प्रहरीका ती कुन पदका व्यक्ति थिए जसले अक्सिजन उठाएर लगेका थिए? डाक्टर पौडेलका अनुसार नै ४ बजे अस्पतालमा आइपुग्ने अक्सिजन पौने ५ बज्दा पनि पुगेको थिएन। त्यस्तै, अस्पतालमा बाँकी १५ मिनेटको लागि पुग्ने अक्सिजन मात्र रहेको स्टाटस उनले लेखेका थिए। 

उनको भावुक स्टाटसपछि प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ। सामाजिक सञ्जालमा नेपाल प्रहरीलाई मेन्सन गर्दै धेरैले प्रश्न गरेका छन् - यस्तो अवस्थामा प्रहरीले अक्सिजनको सिलिन्डर उठाउन मिल्छ?

प्रहरी सङ्गठनमाथि नै प्रश्न उठेपछि शुक्रवार नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै यस्तो घटना नभएको दाबी गरेको छ। 'जसरी सामाजिक सञ्जालमा कुरा आइरहेका छ। त्यस्तो केही भएको छैन,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तकुमार कुँवरले भने।

प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल प्रहरीले व्यक्तिगत प्रयोगको लागि सिलिन्डर लैजाने गरेको कुरा 'कपोलकल्पित आरोपमामा कुनै सत्यता नभएको' उल्लेख छ। त्यस्तै नेपाल प्रहरीको अस्पतालले नियमित रूपमा शंकर अक्सिजन प्लान्ट, बालाजुबाट नियमित अक्सिजन लैजाने गरेको पनि स्वीकार गरेको छ। सीसीएमसीले तोकेअनुसार दैनिक २ सय सिलिन्डर अक्सिजन नेपाल प्रहरीले त्यही प्लान्टबाट लैजाने गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले व्यक्तिगत रुपमा सिलिन्डर नलगेको भन्दै खण्डन गरेको छ। चिकित्सकले अक्सिजन अभाव हुँदा भोग्नुपरेको पीडा एकातिर छ भने अर्कातिर प्रहरी भनिरहेको छ - डाक्टरको भनाइ गलत हो। प्रहरीको विज्ञप्ति पछि न फेसबुकमा पोस्ट गर्ने चिकित्सक सम्पर्कमा आउन चाहे न अक्सिजन प्लान्ट संचालक नै। महामारीको यस्तो अवस्थामा व्यवसायीले नै झुटो बोलेर डक्टरलाई भ्रममा राखे अथवा प्रहरीले सिलिण्डर लगेर पनि आफ्नो बचाउमात्र गर्‍यो। प्लान्टका संचालकले मुख नखोलुन्जेल यो विषय के हो प्रस्ट हुने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell