PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अक्सिजन नआएपछि प्रदेश अस्पतालले उठायो हात : अब कोरोनाको बिरामी भर्ना लिन सकिन्नँ



पी बी खड्का

अक्सिजन नआएपछि प्रदेश अस्पतालले उठायो हात : अब कोरोनाको बिरामी भर्ना लिन सकिन्नँ

सुर्खेत : कर्णालीका दश जिल्लाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन अभाव भएको छ। कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्टले थेग्न नसकेपछि अक्सिजन अभाव भएको हो।

अक्सिजन अभाव भएपछि अस्पतालले कोरोना भाइरस संक्रमितका बिरामी भर्ना नलिने भएको छ।

अस्पताललाई प्लान्टबाहेक दैनिक ३०० सिलिण्डर अक्सिजन आवश्यक भएपनि अहिले आपूर्ति हुन नसकेको अस्पतालले जनाएको छ।

अक्सिजन भर्नका लागि खाली सिलिण्डर नेपालगञ्ज पठाए पनि अक्सिजन खोसाखोस हुदाँ भरेर ल्याउन नसकिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। ‘अहिले देशभरी नै अक्सिजनको समस्या त छँदै छ,’ निर्देशक डा. खड्काले भने, ‘हाम्रो अस्पतालमा आपूर्ति हुने भनेको नेपालगञ्जबाट हो, अहिले त्यहीका स्थानीयले खोसाखोस गर्न थालेपछि यता ल्याउन सक्ने कुरै भएन।’

अक्सिजनको आपूर्ति सहज नभएकै कारण अस्पतालमा विरामी भर्ना लिन नसकेको उनको भनाई छ।

‘भर्ना भएका विरामीलाई हाई फ्लोरमा अक्सिजन दिनुपर्ने अवस्था छ,’ उनले भने,‘अस्पतालमै अक्सिजन छैन, भने भर्ना लिएर मात्रै के गर्नु, भर्ना लिएका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था छ।’

अस्पतालमा रहेको प्लान्टले हाल सय जना बढी बिरामीलाई पाइप लाइनमार्फत अक्सिजन दिईरहेको छ। अस्पतालले थप १०० जना बिरामी भर्ना लिन सक्ने भएपनि अक्सिजनकै अभावले बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको अस्पतालको भनाई छ।

अस्पतालले सार्वजनिक रुपमै सूचना निकालेर कोरोना संक्रमितका बिरामी भर्ना नलिने भनेपछि प्रदेश सरकारको चर्को आलोचना भएको छ।

महामारी नियन्त्रण र बिरामीको उपचारमा गम्भिर नबनेको भन्दै चौतर्फी आलोचना भएको हो।

प्रत्येक आर्थिक वर्ष बजेट कार्यान्वनय गर्न नसकेर आलोचना खेपेको प्रदेश सरकारले त्यो बजेट कोरोना महामारी नियन्त्रणमा खर्च गर्नुपर्ने सुझाएका छन्। स्वास्थ्यको पूर्वाधार बलियो बनाए यहाँ जनता उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने भन्दै सरकारको विरोध गरेका छन्।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सरकारसँग पर्याप्त स्रोत हुदाँहुदैँ पनि जिम्मेवार नहुदाँ जनताले अनाहकमा ज्यान गुमाईरहेको भन्दै आफ्नो सामाजिक सञ्जालमार्फत सरकारलाई असक्षमताको पराकाष्ठा नै भनेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘महामारीको विचमा अस्पताललाई यस्तो (भर्ना नलिने) सूचना सार्वजनिक गर्नुपर्ने स्थितिमा पुर्याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो। प्रदेश सरकारसँग स्रोत अभाव छैन। संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो। आफुसँग भएको स्रोतको पनि उचित परिचालन पनि गर्न नसक्ने, अरुको सहयोग पनि लिन नसक्ने भएपछि अनाहकमा जनताको ज्यान गईरहेको छ। अझै जाने कुरा अस्पतालले प्रकाशित सूचनाबाट सजिलै अनुमान लगाउन सकिन्छ। अरुले सहयोग गर्ने हो, सुझाव दिने हो, ढंग जिम्मेवारी लिएका व्यक्तिहरुले नै पुर्याउनुपर्छ। प्रचारमुखी भन्दा परिणामुखी काम गरौँ। पहिला महामारीबाट जनताको ज्यान जोगाऔँ। अरु कुरा पछि गर्दै गरौला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell