बुटवल : रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ। क्यालिब्रेशन फ्लाइट अन्तर्गत विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावर लगायतमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन भनेर परीक्षण गर्ने गरिन्छ।
जसको लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नु पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आइसीबी टु का प्रमुख प्रवीण न्यौपानेले बताए। न्यौपानेका अनुसार विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतिय उपकरणहरु जडान गर्ने काम चैत दोस्रो हप्तामै सकिएको थियो।
‘क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक तयारीमा जुटेका थियौँ तर यही बीचमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै अहिले रोकिएको छ। हामी अहिले पनि निरन्तर क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्ने तर्फ प्रयास गरीरहेका छौँ। अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुने बित्तिकै काम शुरु हुन्छ, अहिले पनि हामी क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छौँ, जतिबेला पनि क्यालिब्रेशन फ्लाइट गर्न सक्छौँ, आवश्यक उपकरण सबै जडान भइसकेको छ,’ न्यौपानेले भने।
उनका अनुसार ती उपकरणहरुले काम गरेको या नगरेको विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ। त्यस्तै, बनाउनु पर्ने, सच्याउनु पर्ने समेत थाहा हुने भएकाले क्यालिब्रेशन फ्लाइट अनिवार्य रहेको उनको भनाइ छ।
आईसीपी २ को निर्माण जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनि हो। उता कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले विमानस्थलमा काम गरिरहेका छन्। उनीहरुलाई कार्य क्षेत्रमै रहने व्यवस्था गरी काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।
विमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवं प्राविधिकहरु कार्यरत छन्। अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको ईन्टेरियर, डेकोरेशन, फर्निसिङ, फर्स सिलिङ, एअर कन्डिशन जडान गर्ने, काम भइरहेको छ। त्यसैगरि गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किङका काम भइसकेका छन्।

‘एउटा एक्सरे मेशिन बाहेक विदेश बाट आउन पर्ने कुनै महत्वपूर्ण उपकरणहरु छैनन्,’ उने भने।
धावनमार्गका लाईटस, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेशिन, ब्यागेज ह्यान्डलिङ सिष्टम, लगायतका सबै काम सकिएका छन्।
उनले भने, ‘अहिले कोरोना भाइरसका कारणले केहि असहज अवस्था देखिएको हो, डर पनि छ तर काम भइरहेको छ, सहज अवस्था हुने बित्तिकै कुनै पनि बेला ब्रेक थ्रु हुनेछ।’
विमानस्थल क्षेत्र भित्रका अन्य पूर्वाधार निर्माण कार्य, विद्युतिकरण लगायतका सबै काम सकिएका छन्। फेन्सिङ (तारबार)को काम र पेरीफेरी रोड (ईनर) निर्माणको काम सकिएको छ भने बाह्य सडक निर्माण भइरहेको छ। बाह्य सडक निर्माणमा अहिले कोरोनाका कारण जनशक्तिको समस्या परेको अधिकारीले बताए।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट आईसीबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो।
तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले शिलन्यास गरेको यो विमानस्थल विभिन्न कारणले समयमै सम्पन्न हुन नसके पछि बारम्बार निर्माण सम्पन्न गर्ने तिथि पछि धकेलिँदै गएको थियो। अहिले यसै जुन मा सम्पन्न गर्नु पर्ने भएपनि फेरी कोरोना भाइरसका कारणले निर्माण सम्पन्न तोकिएको समयमा नहुने निश्चित छ।
