PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

धनगढीमाथि संघर्षपूर्ण जित निकाल्दै काठमाडौं बन्यो नेपाल सुपर लिगको च्याम्पियन



पहिलोपोस्ट

धनगढीमाथि संघर्षपूर्ण जित निकाल्दै काठमाडौं बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो।

जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। सुरुबाटै आक्रमक देखिएको काठमाडौंले पटकपटक आक्रमण गरेको थियो। खासगरी मेसोके र स्टेफिन बिनोङको पटकपटकको उत्कृष्ट प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले रोकिदिएका थिए। उता धनगढीका सर्वाधिक गोलकर्ता ओलावाले अफिज चोटका कारण चल्न सकेनन् भने आक्रमण राम्रो बुनेर पनि धनगढी फिनिसिङमा पटकपटक चुकेको थियो।

प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै, प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक आमनेसामने भएका थिए जसमा काठमाडौंले जित निकाल्दै उपाधि आफ्नो पक्षमा पार्‍यो।

पहिलो पटक लिगचरणमा काठमाडौंमाथि ३-० को सानदार जित निकालेको धनगढीले दोस्रो पटक प्लेअफमा २-१ गोलअन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। लिग चरणमा ४ जित १ हार र १ बराबरी खेलेको काठमाडौं १३ अंक जोडेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो।

उता धनगढी भने ३ जित १ बराबरी र १ हार ब्यहोर्दै १० अंक जोडेर प्लेअफमा पुगेको थियो। तर, प्लेअफमा धनगढीले काठमाडौंलाई हराएपछि धनगढीले सोझै फाइनल खेल्यो भने काठमाडौंले ललितपुरसँग दोस्रो प्लेअफ खेल्नु पर्‍यो। दोस्रो प्लेअफमा ललितपुरलाई हराउँदै काठमाडौंले फाइनलको यात्रा तय गरेको थियो।

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, प्रशिक्षक, इमर्जिङ प्लेयरलगायत विभिन्न विधाबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell