PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भारतबाट आउने मालबाहक सवारी साधनको छैन जाँच, हेलचेक्र्याइँका कारण बेलहियाका १९ कर्मचारी संक्रमित



पूजा पन्थी

भारतबाट आउने मालबाहक सवारी साधनको छैन जाँच, हेलचेक्र्याइँका कारण बेलहियाका १९ कर्मचारी संक्रमित

बुटवल : रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजेन परीक्षण भइरहेको छ। तर, मालबाहक सवारी साधनबाट आउने कसैको परीक्षण भने भएको छैन। त्यस्ता सवारी साधन मालसामान ढुवानीका लागि मुलुकका विभिन्न सहरमा निर्बाध गुड्छन्।

यसले कोरोना भाइरसको संक्रमणको भय झन बढाएको छ। भारतबाट आउने कुनै पनि मालबाहक सवारी साधनलाई नेपालमा मालसामान ढुवानी गरेर फर्किन कम्तीमा पाँचदेखि १५ दिन समय लाग्छ। यो बीचमा सवारी साधनका चालक, सहचालकको कैयौँ ठाउँमा सामाजिक घुलमिल हुन्छ।

भारतबाट आउने मानिसको जाँच गर्न नाकामा राखिएको हेल्थडेस्कले मालबाहक सवारी साधनमा आउनेको परीक्षण गर्दैनन्। स्थानीय प्रशासनले क्वारेन्टाइनका रुपमा मालबाहक सवारी साधनको व्यवस्थापन गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। तर, भन्सार कार्यालयले त्यो पालना गरेको छैन।

कोरोना संक्रमण नियन्त्रणमा गरेको हेलचेक्र्याइँका कारण भन्सारका १९ जना कर्मचारी संक्रमित भएका छन्। संक्रमित कर्मचारी बढ्दै जान थालेपछि प्रज्ञापनपत्र पास गर्न जनशक्ति अभाव देखिएको भैरहवा भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए। तर, पनि भाइरस नियन्त्रणका लागि केही प्रयास भएको छैन्।

यता, निषेधाज्ञाले सामान ढुवानी गर्न समस्या भएको गाडी चालकहरुको गुनासो छ। बजार बन्द हुँदा खानपिनमा कठिनाई भोगेको उनीहरुले बताए।

बेलहिया नाका हुँदै दैनिक तीनचार सय मालबाहक गाडी अहिले पनि नेपाल भित्रिरहेका छन्। यी गाडीका चालक र सहचालक गरी दैनिक सातआठ सय भारतीय बिना परीक्षण नेपाल प्रदेश गरिरहेका छन्। उनीहरु मुलुकका मुख्य सहरदेखि गाउँबस्तीसम्म पुग्छन्। यसले जोखिमलाई थप बढाइरहेको छ। भारतमा अहिले संक्रमण तीव्र छ। त्यसबाट नेपाल पनि अछुतो छैन।

महामारीको अवस्थामा मुख्य भन्सार नाकाहरुबाट अत्यावश्यक सामानमात्र ढुवानी हुनुपर्ने सरोकारवालाहरुको भनाइ छ। बाँकी सबैको परीक्षणपछि मात्रै विभिन्न जिल्लाहरुमा ढुवानीको अनुमती दिए भाइरस संक्रमण कम गर्नुपर्ने कतिपयको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell