PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

शनिवार वीरगंजमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, होम आइसोलेसनका एक जनाको गयो ज्यान



राधेश्याम पटेल

शनिवार वीरगंजमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, होम आइसोलेसनका एक जनाको गयो ज्यान

वीरगंज : वीरगंजमा शनिवार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका एक जना रहेका छन्। मृतकमध्ये ३ जना महिला र ५ जना पुरुष रहेका छन्। २५ वर्षदेखि ९० वर्ष उमेर समूहका संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको विभिन्न अस्पतालहरुले जनाएका छन्।

नारायणी अस्पताल वीरगंजमा ५ जना, तराई हस्पिटल पावरहाउस र वीरगंज हेल्थकेयरमा १/१ जनाको र एक जनाको पर्साको एक पालिकामा होम आइसोलेसनका मृत्यु भएको हो। पर्साका ५ जना मृत्तक मध्ये २ जना वीरगंज महानगरका, २ जना जगरनाथपुर गाउँपालिका र १ जना कालिकामाई गाउँपालिकाको रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले जानकारी गराएका छन्।

प्रशासकीय अधिकृत समेत रहेका श्रीवास्तवका अनुसार पर्साको जगरनाथपुर गाउँपालिलका-५ चिल्झप्टीका ९० वर्षीया वृद्धाको शुक्रवार राति साढे ८ बजेको समयमा होमआइसोलेसनमै मृत्यु भएको बताए। त्यसैगरी, सोही पालिका वडा नम्बर ६ का अर्का ८५ वर्षीय वृद्धको शनिवार बिहान २ बजे नारायणी अस्पतालमा मृत्यु भएको छ।

होम आइसोलेसनमा मृत्यु भएकी संक्रमितमा बैशाख ३० गते नारायणीमा गरिएको गाउँका २५ जनाको पीसीआरमध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएकोमा उनी पनि त्यही समूहको रहेको श्रीवास्तवले जानकारी गराए। नारायणीमा मृत्यु भएका वृद्धको २९ गते अस्पताल भर्ना गरी ३० गते पीसीआरबाट पोजेटिभ देखिएको थिए।

पर्साको कालिकामाई गाउँपालिका-२ भेडिहारीकी ६५ वर्षीया वृद्धाको वीरगंज हेल्थकेयर अस्पतालमा शनिवार बिहान साढे ८ बजे मृत्यु भएको छ। २६ गते पीसीआर पोजेटिभ आएपछि २७ बैशाखमा उनलाई अस्पताल भर्ना गरिएको थियो।

वीरगंज-३ छपकैयाका ६५ वर्षीय वृद्धको गएराति सवा ८ बजे तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनी १६ गते अस्पताल भर्ना भई २८ गते पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको थियो।

त्यसैगरी, वीरगंज-१५ भिस्वाका ६२ वर्षीय वृद्धको शनिवार अपरान्ह ४ बजे नारायणीमा मृत्यु भएको छ। २६ गते अस्पताल भर्ना भएका उनको एन्टिजिन परीक्षणबाट सोही दिन पोजेटिभ देखिएका थिए।

त्यस्तै, नारायणीमा मृत्यु हुने दुई जनामध्ये कलैयाको बेलहीयाका २५ वर्षका पुरुष रहेका छन् भने अर्का बारागढी गाउँपालिका-२ का ४२ वर्षीय पुरुष रहेका छन्। बेलहियाका संक्रमितको शनिवार बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको थियो भने बारागढीका संक्रमितको शनिवार बिहान ११ बजेर ५ मिनेटमा भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले जानकारी दिए।

बेलहियाका संत्रमित २६ गते अस्पताल भर्ना भई २९ गते उनको पीसीआर पोजेटिभ आएको थियो भने बारागढीका संक्रमित २९ गते अस्पताल भर्ना भएपछि एन्टिजिनमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी, नारायणीमै रौतहटका संक्रमितको मृत्यु हुनेमा बंकुलकी ३५ वर्षीया महिला रहेकी छन्। उनको शनिवार पौने १२ बजे उपचारको क्रममा मृत्यु भएको थियो। ३० गते पीसीआरबाट पोजेटिभ देखिएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन्।

नयाँ संक्रमितको संख्या घट्यो

नारायणीमा शनिवार गरिएको पीसीआर परीक्षणमा कुल १९२ जनाको स्वाब परीक्षण गरिएकोमा ४४ दशमलव ७९ प्रतिशत अर्थात ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल पीसीआर प्रयोगशालाले जनाएको छ। यसअघि करिब ५० प्रतिशतभन्दा बढिको दरमा संक्रमण पुष्टि हुँदै आएको थियो।

७ देखि ९८ वर्ष उमेर समूहका ८६ जनामध्ये ६१ जना पुरुष र २५ जना महिला रहेको नारायणी अस्पतलाका कोभिड फोकल पर्सन डा दासले जानकारी गराए। उनका अनुसार पर्साका ५८, बाराका १५, रौतहटका १०, सर्लाहीका ३ गरी कुल ८६ जना संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell