PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अक्सिजन सिलिन्डर तातोपानी आयो भन्ने सरकारी 'प्रोपागान्डा', भन्सार प्रमुख भन्छन् : यहाँ आइसकेको छैन, कसले ल्याउँदै हो थाहा भएन



पहिलोपोस्ट

अक्सिजन सिलिन्डर तातोपानी आयो भन्ने सरकारी 'प्रोपागान्डा', भन्सार प्रमुख भन्छन् : यहाँ आइसकेको छैन, कसले ल्याउँदै हो थाहा भएन

काठमाडौं : आइतवार बिहानै राष्ट्रिय समचार समितिले सरकारले चीनबाट १८ हजार खाली सिलिन्डर नेपाल आइपुगेको समाचार प्रकाशित गर्‍यो। राससको समाचार अन्य मिडियामा स्वभाविक रुपमा सर्कुलर भयो किनकि सरकारी एजेन्सीले दिएको समाचारमा विश्वास नगर्ने विषय रहेन।

देशमा कोरोना संक्रमणको कारण अक्सिजन अभाव भइरहेको समयमा यसरी ठूलो सङ्ख्यामा सिलिण्डर आएकोमा धेरै मानिसमा आशा पलायो। सरकारलाई धन्यवाद दिनेहरु बढे। धेरैलाई लाग्यो अब अक्सिजन नै नपाएर मरिने अवस्था सकिनेछ।

धेरैले समाचार सकरात्मक भएको भन्दै सामाजिक सञ्ञजालमा शेयर समेत गरे। राससलाई उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिएका थिए। उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइने बताएका थिए।

तर, आज आउने भनिएको अक्सिजन सिलिन्डर चीन सरकारले अनुदानमा दिएको नभएर निजी क्षेत्रले ल्याउन लागेको खुलेको छ। अनि अहिलेसम्म सिलिन्डर नाकामा आइपुगेको समेत रहेनछ।

'हिजोदेखि हामी स्टेन्डबाइ छौं। अहिलेसम्म सिलिन्डर आइपुगेको छैन। सायद बेलुकासम्म आइपुग्ला कि,' तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले भने।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याउने तयारी थालेको थियो। यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो। आज ल्याउन लागिएको सिलिण्डर सरकार वा निजी व्यवसायी कसको भन्ने नखुलेको भन्सार प्रमुख गौतमले जानकारी दिए।

'व्यवसायीको हो भन्ने पनि सुनेका छौं। सरकारले अनुदानमा ल्याएको वा कसको भन्ने खुलेको छैन। भरे आइसकेपछि थाहा हुन्छ,' प्रमुख गौतमले भने। ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भने नाकामा नै सिलिन्डर आइसकेको जनाएका थिए। साथै तातोपानी नाकामा चीन सरकारले नेपाललाई हस्तान्तरण गर्ने पाण्डेले जनाएका थिए। चीन सरकारले नै हस्तान्तरण गर्ने भने पछि धेरैले जीटूजी अन्तर्गत अनुदानको सिलिन्डर आएको भन्दै सामाजिक सञ्जालमा लेख्न थाले - तातोपानीबाट तत्काल ल्याइहाल्न पर्‍यो।

 अझै सिलिन्डर कसको हो थाहा नभएको बताउनुले कतै यो प्रोपागान्डामात्र त होइन भन्ने शंका पैदा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell