PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सीसीएमसी बैठकमा स्वास्थ्य संकटकाल लगाउने विषयमा छलफल



पहिलोपोस्ट

सीसीएमसी बैठकमा स्वास्थ्य संकटकाल लगाउने विषयमा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा आज सिंहदरबारमा बसेको सीसीएमसी बैंठकमा कोरोना संक्रमण रोकथाम तथा उपचारको लागि स्वास्थ्य संकटकाल लगाउने विषयमा छलफल भएको छ।

लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली समेत बैठकमा सहभागी भएका हुन्। बैंठकमा स्वास्थ्य संकटकाल लगाउँदा हुने सहजता र असहजताबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

'स्वास्थ्य संकटकालको विषयमा पनि छलफलहरु भइरहेको छ। तर, अहिले संक्रमण रोग ऐनले नथामेको, गर्न नसकेको के के काम चाहिँ स्वास्थ्य संकटकाल लगाए हामीलाई सजिलो हुन्छ भन्ने बारेमा हामी तुलनात्मक अध्यनहरु गरिरहेका छौं,' मन्त्री ज्ञवालीले भने।

अहिले देशभर दैनिक ८ हजार भन्दाबढी कोरोना संक्रमित थपिरहेका छन्। दैनिक २ सय कोरोना संक्रमितको मृत्यु भइरहेको छ। अस्पतालमा अक्सिजनको अभाव रहेको छ। त्यसैले गर्दा केही निकायबाट स्वास्थ्य संकटकाल लगाउनु पर्ने आवाज समेत उठेको छ। तर, रिजल्ट नआउने भए स्वास्थ्य संकटकाल लगाएर कुनै फाइदा नहुने तर्क पनि उठेको छ। 

'रिजल्ट आउने हो भने संकटकाल आवश्यक हुन्छ। नत्र स्वास्थ्य संकटकाल लगाएर केही अर्थ हुँदैन,' मन्त्री ज्ञवालीले भने।

आजको बैठकले कोरोना संक्रमण रोकथाम तथा उपचारको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री तथा उपकरण जतिसक्दो चाँडो प्रकृयाबाट गर्ने सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। त्यसको लागि आवश्यक कानुन तर्जुमा देखि अन्य काम चाँडो गर्न प्रधानमन्त्री ओलीले निर्देशन समेत दिएको मन्त्री ज्ञवालीले जानकारी दिए।

देशको सम्पूर्ण स्वास्थ्य प्रणालीलाई एकिकृत रुपमा लगाउन जरुरी रहेको, तरल अक्सिजनका लागि भारतसँग पहल गर्ने र सिलिण्डर अभाव हुन नदिने, सिलिण्डर चीन र ओमनबाट आयत गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री ज्ञवालीले निजी क्षेत्रले चीनबाट सिलिण्डर समेत ल्याइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell