PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विकास बजेट कटौती गरेर हेटौँडा उपमहानगरले अक्सिजन प्लान्ट निर्माण गर्ने, बजेट १ करोड २८ लाख



पहिलोपोस्ट

विकास बजेट कटौती गरेर हेटौँडा उपमहानगरले अक्सिजन प्लान्ट निर्माण गर्ने, बजेट १ करोड २८ लाख
फाइल फोटो।

हेटौँडा : कोरोना संक्रमण बढेसँगै आइसीयू तथा भेन्टिलेटरमा रहेर उपचार गर्नुपर्ने बिरामीलाई अक्सिजनको समस्या भएपछि मकवानपुरको हेटौँडामा अक्सिजन प्लान्ट स्थापनाको लागि हेटौँडा उपमहानगरपालिकाले पहल थालेको छ।

जसको लागि उपमहानगरपालिकाले हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड २८ लाख रुपैँया लगानी गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमण बढेसँगै हेटौँडामा अक्सिजन आवश्यक पर्ने संक्रमितहरु बढेपछि अक्सिजन अभावकै कारण बिरामीहरुले अकालमा ज्यान गुमाउने अवस्थाको सिर्जना नहोस् भनेर अन्य विकास बजेट कटौती गरेरै भएपनि आफूहरुले अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न बजेट छुट्टाइएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए।

उपमहानगरपालिकाले आजै अक्सिजन प्लान्ट स्थापनाको लागि सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको छ।

दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने

कोरोना संक्रमणको दर बढिरहेको सन्र्दभमा हेटौँडा अस्पतालमा उपचाररत विरामीलाई अक्सिजन अभाव भएपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ।

उपमहानगरपालिकाले प्लान्ट निर्माणमा केहि समय लाग्ने देखेपछि हाल दैनिक रुपमा कम्तिमा १ सय सिलिण्डर अक्सिजन ल्याउन उपमहानगरपालिकाले आज आफ्नो दुईवटा टिपरहरु नुवाकोट र इटहरी पठाएको छ। ति टिपरहरुले आजै रातिसम्म अक्सिजन ल्याइसक्ने उपमहानगरपालिकाले जनाएको छ।

अक्सिजनकै अभावमा बिरामीहरुले ज्यान गुमाउन नपरोस् भन्ने मान्यताको साथ आफूहरुले काम अघि बढाएको हेटौँडा उपमहानगरपालिकाले जानकारी दिएको छ। पछिल्लो समय हेटौँडा उपमहानगरपालिकामा संक्रमितहरुको संख्या बढ्दै गएको र अक्सिजन चाहिने संक्रमितहरु पनि बढेको कारण स्थानीय सरकारले पहलकदमी बढाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell