PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निजी अक्सिजन कम्पनीको भरमा गण्डकीका अस्पताल, कति हुन्छ उत्पादन?



रिना थापा

निजी अक्सिजन कम्पनीको भरमा गण्डकीका अस्पताल, कति हुन्छ उत्पादन?

पोखरा : नेपाल कोरोनाको दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा बेड र अक्सिजन अभाव मृत्युको कारण बनिरहेको छ। दोस्रो लहरमा नेपालले अक्सिजन अभावलाई झेलिरहेको छ। काठमाडौं, बुटवल, वीरगंज जस्ता ठूला शहरका अस्पतालमा समेत अक्सिजन अभाव छ। कति अस्पतालले अक्सिजन नभएकै कारण बिरामी लिन मानेका छैनन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले पोखरामा संक्रमणको ग्राफ दिनानु दिन उकालो लागेको देखाएको छ। तर, हालसम्म जिल्लाले अक्सिजन अभाव भने झेल्नु परेको छैन। पोखराले जिल्लाबाहिर समेत अक्सिजन निर्यात गरिरहेको छ।

पोखरामा अक्सिजन उदपादन गर्न कालीगण्डकी अक्सिजन ग्यास प्रालि र पोखरा अक्सिजन ग्यास प्रालि गरी दुई निजी प्लान्ट छन्। दैनिक १५ सय बढी सिलिन्डर अक्सिजन भर्न सक्ने दुई प्लान्टको क्षमता छ। अहिले पोखरा अक्सिजन ग्यास प्रालिले दैनिक ८ सय सिलिन्डर अस्पतालमा सप्लाई गरिरहेको छ। पोखरालाई अक्सिजन अभाव नभएपनि सिलिन्डर जुटाउन भने सकस परेको छ। पोखरामा सिलिन्डर अभावले समस्या ल्याउने सम्भावना देखिएको छ।

आफूहरुसँग स्रोतसाधन र सिलिन्डर भए पोखरालाई अक्सिजनको अभाव हुन नदिने पोखरा अक्सिजन प्रालिका प्रमुख दिपक भण्डारी बताउँछन्

‘सिलिन्डर अभाव छ, ग्यासको अभाव छैन’, भण्डारीले भने, ‘स्रोतसाधन भए हामीले पुर्‍याउन सक्छौँ।’

प्रालिले सामान्य समयमा दैनिक १ सय देखि डेढ सयको हाराहारीमा सिलिन्डर पठाउँथ्यो। अहिले दैनिक ८ सयको हाराहारीमा अस्पताललाई मात्र अक्सिजन पुर्‍याइरहेको छ। १५ सय सिलिन्डर क्षमता भएको प्रालिले प्रतिघण्टा ३० सिलिन्डर भर्नसक्छ। उसले कामको चाप बढी भएर कामदार समेत थपेको छ। तर, व्यक्तिले घरमा सिलिन्डर जोहो गर्दा अभाव देखिएको छ।

महामारी चलिरहँदा अक्सिजनको सहायतामा बस्ने अन्य रोगका बिरामीलाई अक्सिजन पुर्‍याउनु अर्को चुनौती रहेको भण्डारी बताउँछन्। उनका अनुसार कोरोना अगाडि ७० प्रतिशत अक्सिजन घरमा बसेका विभिन्न रोगका बिरामीलाई खपत हुन्थ्यो। महामारीमा अन्य रोगका बिरामीलाई सिलिन्डर अभाव नहोस् भनेर प्रालिले १ सय सिलिन्डर मगाएको थियो। तर, त्यो सिलिन्डरको हिसाब छैन।

‘दोस्रो लहर चलेपछि १ सय सिलिन्डर मगाएका थियौँ तर त्यो कहाँ गयो?’ उनले प्रश्न गर्दै भने, ‘नागरिक आफैँले बुझनुपर्‍यो अबको सहयोग भनेको व्यक्ति र साथीभाइको हो।’

व्यक्तिले अनावश्यक रुपमा सिलिन्डरको जोहो गरेर राख्दाआवश्यक बिरामीले नपाउन सक्छन्।

उनले भने, ‘बुझेर ल्याउ, फिर्ता देउ, अप्सनल राख्ने कि यस्तोबेला कसलाई प्राथमिकता दिने?’

प्रालिले अन्य जिल्लामा पनि अक्सिजन पठाइरहेको छ। यद्यपि प्रालिको पहिलो प्राथमिकता कास्की जिल्ला छ। कास्कीपछि प्रालिले गण्डकी प्रदेशभित्रको जिल्ला हेरिरहेको छ।

पोखराको अर्को निजी अक्सिजन उत्पादक हो कालीगण्डकी प्रालि। कालीगण्डकीले पनि पोखरा अक्सिजन प्रालि जति नै दैनिक अक्सिजन पुर्‍याइरहेको छ। प्लान्ट स्थापना गर्दा प्रदेशलाई लक्षित गरेको हुनाले अक्सिजन उत्पादनमा समस्या नहुने कालीगण्डकीका अध्यक्ष कालिदास बरालको भनाइ छ। सिलिन्डर र बत्ति हुने हो भने प्रदेशलाई पुग्ने उनको दावी छ।  तर, सिलिन्डरको अभावले समस्या हुन सक्ने सम्भावनामा केही सचेत हुनुपर्ने उनी सुझाउँछन्।

उनले सिलिन्डर अभावलाई आफ्नै शैलीमा व्याख्या गर्दै भने, ‘अहिले परिस्थिति कस्तो भइदियो भने जन्ती १ सय जना बोलाएको थियौँ, १ बोरा चामल पकायो चम्चाले बाढेर प्लेटमा खान दिनुपर्ने भयो। हामीलाई र देशलाई समस्या परेको यहीँ हो।’

कालिगण्डकीले पनि जिल्लाबाहिर अक्सिजन पुर्‍याइरहेको छ। २५ सय सिलिन्डर उपलब्ध रहेको कालीगण्डकीले प्रतिघण्टा २० सिलिन्डर भर्न सक्छ। दुवै उत्पादकले महामारी अगाडि आफैँ अस्पतालमा अक्सिजन लैजान्थे। तर, अहिले भने दुई प्रालिभित्र अस्पतालको गाडी पर्खेर बसिरहेका हुन्छन्। सामान्य समयमा अस्पतालमा समेत कम अक्सिजन खपत हुन्थ्यो।

बरालले पोखराको एक अस्पतालको उदाहरण दिँदै भने, ‘सामान्य समयमा प्रत्येक दिन २० देखि ३० आफैँ लैजान्थ्यो अहिले १ सय ५० सिलिन्डर लिन आउँछन्।’

पोखरामा सरकारीसहित निजी अस्पतालले कोरोना बिरामी उपचार गरिरहेका छन्। निजी अस्पतालमा गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पताल कोरोना फोकस अस्पताल नै हुन्।

गण्डकी मेडिकल कलेजमा आजसम्म १ सय १० बिरामी छन्। अस्पतालका अनुसार कोरोना बिरामीका लागि दैनिक २ सय ३१ सिलिन्डर खपत भइरहेको छ। डाक्टरका अनुसार सामान्य, भेन्टिलेटर र हाइपmलोमा गरी बिरामीको अवस्था हेरेर अक्सिजन प्रदान गरिन्छ।

अहिले पश्मिाञ्चल सामुदायिक अस्पतालमा १ सय २८, पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा ६० देखि ७०, सरुवा रोग अस्पतालमा ४०, मेडिप्लसमा १५५ देखि १६०, चरक मेमोरियलमा १ सय बढी, मणिपाल शिक्षण अस्पतालमा १ सय ५ सिलिन्डर कोरोना बिरामीका लागि मात्र दैनिक खपत भइरहेको छ।

पोखराका कुन अस्पतालमा कति सिलिन्डर र अक्सिजन प्लान्ट छ?

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल, मणिपाल शिक्षण अस्पताल, फेवासिटी अस्पताल, मातृशिशु अस्पतालमा अक्सिजन प्लान्ट छ। तर, मणिपाल र फिस्टेल अस्पतालको प्लान्ट बिग्रिएको छ।

१३० सिलिन्डर रहेको गण्डकी मेडिकल कलेजको प्लान्टले दैनिक २२ सिलिन्डर भर्न सक्छ। मातृशिशु अस्पतालले प्रतिदिन १० अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छ। अस्पतालमा १४ सिलिन्डर छन्।

फेवासिटी अस्पतालसँग हाल १४ सिलिन्डर छन् भने अस्पतालको प्लान्टले प्रतिदिन ३० अक्सिजन सिलिन्डर उत्पादन गर्नसक्छ।

मणिपाल शिक्षण अस्पतालको प्लान्ट नचलेपनि दैनिक ४० अक्सिजन सिलिन्डर उत्पादन गर्ने क्षमता छ। अस्पतालसँग हाल १३० सिलिन्डर छ। सञ्चालनमा नआएको फिस्टेल अस्पतालको प्लान्टले दैनिक ३० अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने क्षमता छ। फिस्टेलको २५ सिलिन्डर छ। बाँकी अन्य अस्पताल गरी कास्कीमा थप २ सय १५ सिलिन्डर छन्।

निर्देशनालयका अनुसार प्रदेशमा प्रतिदिन १ हजार ८ सय ८९ अक्सिजन सिलिन्डर उत्पादन गर्ने क्षमता छ। प्रदेशमा जम्मा ५ हजार ६ सय ३२ सिलिन्डर उपलब्ध छन्।

त्यस्तै, कोरोना डेडिकेटेड अस्पताल पश्चिमाञचल क्षेत्रिय अस्पताल र सरुवा रोग अस्पतालमा समेत अक्सिजन प्लान्ट उपलब्ध छैन। गतवर्ष क्षेत्रिय अस्पताललाई सरकारले प्लान्ट निर्माण गर्नका लागि बजेट दिने बताएको थियो। तर, उक्त बजेट अस्पतालले अस्वीकार गरेको थियो। सरुवा रोग अस्पताललाई भने अक्सिजन प्लान्ट निर्माण गर्न १ करोड ४० लाख रुपैयाँ बजेट दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell