PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोना रोकथाम र नियन्त्रणमा सरकार विफल, वैकल्पिक सरकार नदिनु कांग्रेसकै कमजोरी : शेखर कोइराला



अनन्तराज न्यौपाने

कोरोना रोकथाम र नियन्त्रणमा सरकार विफल, वैकल्पिक सरकार नदिनु कांग्रेसकै कमजोरी : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार विफल भएको टिप्पणी गरेका छन्।

आइतबार साँझ विराटनगरस्थित कोइराला निवासमा संवाददातासँग कोइरालाले सत्तारूढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो’, उनले भने, ‘सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माणलगायतमा सरकार गम्भीर देखिएन।'

उनले कोरोनाविरूद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरिद गर्न सरकारलाई सुझाव दिए। उनले विकास निर्माणको खर्च कटौती गरेर तत्काल खोप खरिद गर्नुपर्नेमा जोड दिए। उनी भन्छन्, ‘सरकारको पहिलो कर्तव्य भनेकै जनता बचाउनु हो, जनता बचाउन अनुदानमा होइन विकास खर्च कटौती गरेर भए पनि खोप गरिद गर्नुपर्छ।’

कोइरालाले अमेरिका, रुस, चीन, भारत जहाँबाट भए पनि जतिसक्दो चाँडो खोप खरिद आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘उत्पादक राष्ट्रसँग सिधै सम्पर्क गरेर खोप किनेर जनतालाई लगाउनुको विकल्प छैन।’

खोप नलगाएका भन्दा लगाएकामा संक्रमणको जोखिम कम भएको उनले बताए।

कोइरालाले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकार मिलेर युद्धस्तरमा अस्थायी अस्पताल बनाउनु आवश्यक रहेको औंल्याए। उनले वडा तहसम्मै आइसोलेसन बनाउनुपर्नेमा समेत जोड दिए। अक्सिजन प्लान्ट र अक्सिजनको जोहो गरेर वितरण प्रणालीलाई समेत व्यवस्थित बनाउन उनले आग्रह गरे। अस्पतालहरूले १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न सम्भव नभएको उनको भनाइ थियो।

फरक प्रसंगमा कोइरालाले वर्तमान सरकारलाई विस्थापित गरेर जनता समाजवादी पार्टीका नेतृत्वमा सरकार बनाउन पहल गर्न नसक्नु कांग्रेसको कमजोरी रहेको टिप्पणी गरे।

‘पुस ५ को कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले उसले यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्थ्यो’, उनले थपे, ‘त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वास गुमाएको अवस्थामा कांग्रेसका नेतृत्वमा सरकार नबन्ने भएपछि जनता समाजवादी पार्टीका नेतृत्वमा सरकार बनाउन पहल नगर्नु कांग्रेसको कमजोरी हो।’

प्रधानमन्त्री ओलीको पुस ५ को कदमपछि राजनीतिक दलहरूमा ध्रुवीकरण बढेको उनको टिप्पणी थियो। उनले दलहरूबीच ध्रुवीकरण बढ्दा लोकतन्त्र नै कमजोर बन्ने अवस्था आएको सुनाए।

‘पुस ५ पछि दलहरूबीच तीव्र ध्रुवीकरण भयो, सत्तारूढमा मात्रै नभएर प्रतिपक्ष दलमा पनि ध्रुवीकरण देखियो’, कोइरालाले भने, ‘कांग्रेसमै पनि एउटा पक्ष चुनावमा जानुपर्छ भन्ने थियो भने अर्को पक्ष संसद पुनःस्थापना हुनुपर्छ भन्ने थियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell