PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बालकृष्ण खाणले कोभिड-१९ रोकथाम, न्यूनिकरण तथा उपचारबारे स्वास्थ्यमन्त्रीको गराए ध्यानाकर्षण



पहिलोपोस्ट

बालकृष्ण खाणले कोभिड-१९ रोकथाम, न्यूनिकरण तथा उपचारबारे स्वास्थ्यमन्त्रीको गराए ध्यानाकर्षण

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन सम्पर्क गरी कोभिड-१९ रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा ध्यानाकर्षण गराएका छन्।

सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षाको दायित्व सरकारको भएको भन्दै खाणले कोभिड-१९ रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकारले राज्यका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि द्रुत गतिमा विदेशबाट खोप आयात गर्नु पर्नेबारे ध्यानाकर्षण गराए।

कुराकानीको क्रममा उनले कोही पनि नेपाली नागरिक खोपबाट बञ्चित हुने अवस्था नओस् भन्दै त्यसका लागि सरकारले यथाशीघ्र आवश्यक खोप आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गर्न माग गरे। उनले ज्येष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज दिन बाँकी रहेको र दोस्रो डोज दिने समय सीमा धेरै कम रहेकोले यथाशक्य चाँडो दोस्रो खोप दिने व्यवस्था गर्न जोड दिए।

त्यसैगरी, प्रमुख सचेतक खाणले देशभर अक्सिजनको अभावमा संक्रमितहरुले अकालमा ज्यान गुमाउन परिरहेको बारे मन्त्री त्रिपाठीलाई स्मरण गराए। अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिण्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत सरकारलाई उनले अनुरोध गरे।

हाल स्वास्थ्य सामग्री र उपकरणहरुको अभाव हुँदै गएको अवस्थाले गर्दा संक्रमित र अन्य रोगका बिरामीहरुको समेत उपचारमा कठिनाई भइरहेको भन्दै उनले यस विषयमा सरकार संवेदनशिल र जिम्मेवार हुनु पर्नेमा जोड दिए। सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्नुपर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell