PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने प्रक्रिया शुरु भइसक्यो : मुख्यमन्त्री पौडेल



पहिलोपोस्ट

प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने प्रक्रिया शुरु भइसक्यो : मुख्यमन्त्री पौडेल
फाइल फोटो।

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया शुरु भइसकेको बताएका छन्।

मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुखहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यकता परेका कुराहरुको माग राख्न अनुरोध गरे। उनले पैसा अभावका कारण कुनै पनि काम नरोकिने बताए।

पौडेलले पैसा आवश्यक भए सरकार उपलब्ध गराउन तयार रहेको बताउँदै सबै अस्पतालका आवश्यकताहरु पूरा गर्न निर्देशन दिए। मुख्यमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणका लागि संघीय सरकारले पूर्ण अधिकार दिएकोले कोभिड नियन्त्रणका लागि आवश्यक रकम खर्च गर्न नहिच्किचाउन अनुरोध गरे। महामारी नियन्त्रणमा पैसा वा अन्य आवश्यकता वाधक हुन नहुने उनको भनाइ थियो।

मुख्यमन्त्री पौडेलले महामारी नियन्त्रण गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताए। उनले अहिले सरकारको सबै शक्ति कोभिड नियन्त्रणमा लागेको बताउँदै कुनै पनि हिसाबले यो वा त्यो गर्न पाइनँ भन्न नपाइने बताए। आवश्यकताहरु सरकार समक्ष राख्न र तत्काल कार्यान्वयन गर्न उनको निर्देशन थियो।

पौडेलले अक्सिजनको उपलब्धताका लागि सरकार लागेको जानकारी दिए। उनले प्रदेशमा आवश्यकताअनुसारको आइसोलेसन, कोभिड अस्पताल र ति अस्पतालहरुलाई आवश्यक पर्ने जनशक्तिलगायतका आवश्यकताको अभाव हुन नदिन सरकार सक्रिय रहेको बताए।

भिडियो कन्फ्रेन्समार्फत भएको कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारी, १३ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका, गाउँपालिका महासंघका अध्यक्षहरु, महानगर तथा उपमहानगरपालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरुले कोभिड १९ ले पारेको समस्याका विषयमा जानकारी गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell