PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल सुपर लिगलाई फर्केर हेर्दा : गोलमा विदेशी खेलाडीको बोलवाला, घरेलु लिगमा सम्भावना बढायो कति?



मुकुन्द घिमिरे

नेपाल सुपर लिगलाई फर्केर हेर्दा : गोलमा विदेशी खेलाडीको बोलवाला, घरेलु लिगमा सम्भावना बढायो कति?

काठमाडौं :  नेपाल सुपर लिग (एनएसएल) का सुरुवाती केही खेल चल्दै गर्दा काठमाडौं उपत्यकामा बढ्दो कोरोना महामारीका कारण निषेधाज्ञा जारी भयो। जसको निषेध गरिएका कुराहरुमा स्पस्ट उल्लेख थियो: समूहमा खेलिने खेल पनि। लगत्तै जारी एनएसएल के हुने भनेर अन्योल उत्पन्न भयो। तर खेलकुद मन्त्रालयमार्फत सिसिएमसीमा सिफारिस भएसँग स्वास्थ्य मापदण्ड पुरा गरेर एनएसएलले प्रतियोगिता निरन्तरताको अनुमति पायो।

नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाइज लिग सम्पन्न भयो। अक्सनमा अक्सर क्रिकेटरहरु देखिने गरेकोमा यसपटक फुटबलका खेलाडीहरु देखिए। २० हजारदेखि २ लाख हुँदै खेलाडीहरुले राम्रै पैसा पनि पाए। त्यस्तै विदेशी खेलाडीका रुपमा अफ्रिकाभन्दा बाहिरबाट पनि खेलाडीहरु नेपाल आए। अर्थात युरोपका खेलाडीको खेल कौशल पनि दशरथ रंगशालामा देख्ने अवसर मिल्यो। भलै कोरोनाका कारण दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति निषेध थियो। दर्शक निषेध गरिए पनि पहिलो संस्करणमै सुपर लिगले नेपाली फुटबल वृत्तमा राम्रै चर्चा कमायो।

अघिल्लो वर्ष नेपालको शीर्ष लिग ए डिभिजन लिग र पहिलो सिजनको एनएसएललाई हेर्ने हो भने अफ्ठ्याराहरु अहिलेको वर्षमा धेरै देखिन्छन्। सबैभन्दा ठूलो कुरा त कोरोना महामारीले दर्शकको प्रवेश नै सम्भव नभए पनि भर्चुअल रुपमा दर्शकको क्रेज राम्रै बटुल्न सक्यो।


एनएसएल लिगका सम्झनलायक कुराहरु


काठमाडौं र विराटनगरको त्यो खेल

प्लेअफको होडमा रहेका काठमाडौं रेजर्स र विराटनगर सिटीबीचको खेल प्रतियोगिताकै प्रतिस्पर्धात्मक मध्येको एक बनेको थियो। प्रतियोगितामा गोलको खडेरी लागि रहँदा उक्त खेलमा काठमाडौं रेजर्सले २ गोलले पछि रहेको अवस्थाबाट पुनरागमन गर्दै ५-४ ले जित निकाल्यो।

रोमाञ्चक खेलमा काठमाडौंका मेस्सोउके ओलोमोउले ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी बने।

विराटनगरले खेलको ५ औं मिनेटमै एडिलेजा सोमिडेको गोलमा अग्रता बनाएको थिए। त्यस्तै, ३३ औं मिनेटमा विराटनगरका पेड्रो माञ्जीले गोल थप्दा काठमाडौं दुई गोलले पछि परेको थियो। तर, त्यसको दुई मिनेट नबित्दै काठमाडौंका ओलोमोउले गोल फर्काए। त्यसको अर्को मिनेटमै उनले नै दोस्रो गोल थप्दै खेल बराबरीमा ल्याए। त्यस्तै, ४१ औं मिनेटमा काठमाडौंका स्टेफेन बिनोङले गोल फर्काउँदा पहिलो हाफमा काठमाडौं ३-२ ले अगाडि रह्यो।

दोस्रो हाफमा ओलोमोउले नै फेरि अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे। उनले खेलको ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरे। उता विराटनगरका लागि ७८ औं मिनेटमा कप्तान रञ्जित धिमालले गोल फर्काउँदै आफ्नो टिमलाई खेलमा फर्काउन चाहे। तर, काठमाडौंका छिरिङ गुरुङले ८२ औं मिनेटमा गोल फर्काउँदा विराटनगर फेरि दवाबमा आएको थियो।

यद्यपि खेलको अतिरिक्त समयमा विराटनगरका पेड्रो माञ्जीले गोल थपे। तर, खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन। र, काठमाडौंले ५-४ को गोलअन्तरले जित निकाल्दै प्लेअफका लागि क्वालिफाइडसमेत भयो।

विवादमा रेफ्री र विराटनगर

प्रतियोगितामा खास गरी लिग चरणमा रेफ्रीहरु विवादमा रहे। यतिसम्मकी विभिन्न टिमहरुका प्रशिक्षक नै रेफ्रीको आलोचनामा उत्रियो। त्यसमध्येमा सबैभन्दा अगाडि देखिए विराटनगरका प्रशिक्षक यान ल। अझ विराटनगरको पाँचौ खेलमा त खेलको स्पीरिटमाथि नै धावा बोलियो।

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत १९ औं खेलमा ललितपुर सिटीले विराटनगर सिटीमाथि सहज जित निकाल्दै प्लेअफका लागि क्वालिफाई भएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तनावपूर्ण खेलमा विराटनगरलाई ४-० गोलअन्तरले हराउँदै ललितपुरले प्लेअफको यात्रा सुनिश्चित गरेको थियो।

खेलमा अग्रता ललितपुरले ३६ औं मिनेटमा अञ्जन बिस्टको गोलमा गरेको थियो। त्यस्तै, विराटनगरका सर्वाधिक गोलकर्ता पेड्रो माञ्जीले लगातार हेण्डबलको अपिल गरेपछि पहेँलो कार्ड खाएका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको ललितपुरका लागि दोस्रो हाफमा विमल रानाले गोल थपे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा तनावको स्थिति उत्पन्न भएको थियो। विराटनगरका अफिसियलहरु झगडामै उत्रिएका थिए भने खेलाडीहरुलाई पनि मैदानबाहिर बोलाएका थिए।

पेड्रो माञ्जीलाई छाडेर अन्य विराटनगरका खेलाडीहरु मैदान बाहिर गएका थिए। झगडा साम्य पार्न एनएसएलका आयोजकहरु त्यहाँ पुगेका थिए। त्यसको केहीबेरमा खेल सुरु त भयो तर खेल सुरु हुनसाथ विराटनगरले फ्रिकिक जित्यो त्यसमा ललितपुरका खेलाडी असन्तुष्ट हुँदै रेफ्रीसँग अपिल गरे।

तर, खेलाडी खेलाडीबीच पनि केहीबेर तनावको स्थिति केहीबेर रह्यो। त्यस्तै खेलको ८५ औं मिनेटमा कप्तान रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका विजय धिमाल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि विराटनगर १० खेलाडीमा सीमित भएको थियो।

ललितपुरका लागि तेस्रो गोल अन्जन विष्टले खेलको ८१ औं मिनेटमा गोल थपे भने नुर्लान नोब्रुजोभ अतिरिक्त समयमा गोल थप्दा खेल ललितपुरले आफ्नो पक्षमा पार्‍यो। खेलपछि पनि विराटनगरका प्रशिक्षक यान ल ले रेफ्रीको क्षमतामाथि प्रश्न उठाउँदै स्कुल स्तरको प्रतियोगिता गर्ने किसिमको भएको तर्क गरेका थिए।

नेपाल सुपर लिग अन्तर्गत शनिवार दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा गरेको ‘लफडा’लाई लिएर विराटनगर सिटी एफसीले माफीसमेत मागेको थियो। खेलको बीचमै खेलाडीहरुलाई मैदानबाहिर बोलाउने निर्णय खेलाडीको नभएर व्यवस्थापनको भएको भन्दै विराटनगरले माफी मागेको हो।

‘एउटा सुन्दर खेलको स्पीरिटलाई बिगार्ने हाम्रो इन्टेनसन थिएन’, विराटनगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले समर्थक, शुभचिन्तक र फुटबल परिवारमा परेको ‘हर्ट’ लाई महसुस गरेको छ।’

यद्यपि घुमाउरो पारामा रेफ्रीको निर्णयलाई लिएर अझै असन्तुष्ट रहेको विराटनगरले स्पष्ट पारेको छ। प्रतियोगितामा आफ्नो क्लबमाथि भएका गलत निर्णयबारे अपिल गर्दा नसुनिएको भन्दै विराटनगरले उल्लेख गरेको छ: यसले एनएसएलको स्तर माथि लैजाँदैन।

ललितपुरको लाखे

शीर्ष चारमा रहँदै प्लेअफमा पुगेपछि ललितपुर सिटी एफसीका प्रशिक्षक राजु तामाङले 'लाखे' शब्दमा जोड दिए। यसअघि पनि उनले लाखे जागेको प्रतिकृया दिएका थिए। उनको भनाइ थियो : ललितपुरको लाखे जागेको छ, जागिसकेको लाखे रोकिँदैन।

सुरुवाती ४ खेलमा जित निकाल्न नसकेको ललितपुरको पछिल्लो पुनरागमन हेर्दा साँच्चै लाखे जागेकै जस्तो पनि देखिएको थियो। तर क्वालिफायर्सको खेलमा काठमाडौंसँग पराजय ब्यहोर्दै ललितपुर बाहिरियो।

ललितपुर टिमको सफलताको सुरुवात हुँदैगर्दा 'लाखे'को सिम्बोल अगाडि आउनु संयोग मात्रै होइन। खासमा ललितपुर सिटी एफसीले प्रतियोगिताको अघिबाटै ललितपुरको सांस्कृतिक पक्षबाट पकड राम्रो बनाउने गरि अघि बढेको थियो।

खेलाडी लिन राम्रै खर्च गरेको ललितपुरले आफ्नो टिमको ट्याग लाइन नै बनायो: आयो लाखे।

प्रतियोगितामा 'लाखे' टोलीको सुरुवात खासै राम्रो हुन सकेन। उद्घाटन खेलमै पराजयबाट सुरुवात गरेको ललितपुरले सुरुवाती खेलहरु हेर्दा प्रतियोगिताको प्लेअफमा नपुग्दै बाहिरिने सम्भावना देखिएको थियो। खास गरी राम्रो प्रदर्शन गरेर पनि फिनिसिङमा चुक्दा तीन खेल त बराबरीमै टुंग्याएको थियो ललितपुरले।

नतिजा राम्रो नआएपछि त्यसबिचमा ललितपुरमा प्रशिक्षक परिवर्तनसमेत भयो। र, नाटकीय रुपमा फर्ममा टिम आयो।

गोलमा विदेशी खेलाडीको बर्चस्व

नेपाली राष्ट्रिय टोलीको खेलको आलोचना हुँदा केन्द्रमा पर्ने गर्छ फिनिसिङ। जसको पछिल्लो उदाहरण हो थ्री नेसन्स कप। उक्त प्रतियोगितामा नेपाल च्याम्पियन त बन्यो तर प्रतियोगिता भर हेर्ने हो भने नेपालले गोल गर्न धेरै संघर्ष गर्न परेको थियो।

त्यसको छाप सुपर लिगमा पनि देखियो। अर्थात गोल गर्ने सन्दर्भमा नेपाली खेलाडी धेरै पछि रहे। प्रतियोगितामा कुल ५८ गोल लाग्यो जसमा २६ गोल त विदेशी खेलाडीले नै गोल गरे। जबकी लिगमा २० जनाको हाराहारीमा मात्र विदेशी खेलाडी थिए।

त्यस्तै सर्वाधिक गोलकर्ताको सूचिमा काठमाडौं रेजर्सका मेसोके ओलमोउ रहे। उनले सर्वाधिक ८ गोल गर्दा पेड्रो माञ्जी र ओलावाले अफिजले समान ४/४ गोल गरे। त्यसबाहेक स्टेफेन बिनोङ, सन्तोष तामाङ, अञ्जन विष्टले समान ३/३ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell