PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अक्सिजन चाहियो भन्दै मन्त्रीकै ट्विट : किन र कसका लागि थियो त्यो भाइरल भएको आह्वान?



सविन ढकाल

अक्सिजन चाहियो भन्दै मन्त्रीकै ट्विट : किन र कसका लागि थियो त्यो भाइरल भएको आह्वान?

जनकपुर !!

जानकी मेडिकल कलेज एण्ड हस्पिटलमा

२ जना बिरामीलाई अक्सिजन चाहियो !!

एउटा अप्रत्यासित ट्विट। ट्विट प्रत्यासित लागे पनि गर्ने व्यक्ति चाहिँ पक्कै अप्रत्यासित नै।

कोरोना भाइरसका संक्रमित बढेसँगै अस्पतालमा अक्सिजन अभाव छ। कतिपय अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसक्ने सूचना नै जारी गरे। बिरामीका आफन्त आफैँ भौतारिरहेका छन् - सास खोज्न।

यस्तो हाहाकारको अवस्थामा अक्सिजन चाहियो भन्दै हारगुहार गर्ने धेरै भेटिनु स्वभाविक नै हो। फेसबुकका वाल देखि ट्विटरतिर कि त समवेदना देखिन्छ किन यस्तै अभावका श्रृङ्खला।

माथि उल्लेखित पोष्ट तिनैमध्येको एक हो। फरक चाहिँ यति हो कि - यो पोष्ट कुनै सामान्य मानिसको होइन। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले गरेको अनुरोध! मन्त्रीले नै आफ्नो ट्विटरबाट यसरी अक्सिजन माग्नु पर्ने भएपछि समान्य मानिसको अवस्था के होला? प्रश्नसँगै सोसल मिडियामा ट्रोलहरु बनिरहेको छ।

मन्त्रीले नै अक्सिजनको अभाव पुष्टि हुने गरी गुहार लगाउने अवस्था चाहिँ कसरी आयो त?

उनले ट्विटबाट मागेको अक्सिजन आफ्नो वा आफ्नो परिवारका लागि भने होइन रहेछ। कोरोना संक्रमण भएर अञ्चल अस्पताल जनकपुरमा छट्पटाइरहेका एक विरामीका आफन्तबाट मन्त्री महतोसम्म आइपुगेको आग्रहका कारण उनले पनि खोजेकी रहिछिन् अक्सिजन।

उनले अक्सिजनका लागि ट्विटमात्र गरिनन्, धनुषाका प्रमुख जिल्ला अधिकारीदेखि अञ्चल अस्पतालका डाक्टरसम्मलाई फोन गरेर अक्सिजन मिलाइदिन आग्रह गरेको जानकारी दिइन्।

'उहाँको परिवारले मलाई फोन मार्फत् जानकारी दिनुभएको थियो। त्यसैले मैले सीडीओ सावदेखि डाक्टरलाई समेत फोन गरेर मिलाउन भनेको थिएँ। त्यसपछि ट्विटरमा समेत लेखेको हुँ,' मन्त्री महतोले भनिन्।

महतोको ट्विटपछि धनुषाका प्रदीप साहले अक्सिजन पाएका रहेछन्। अञ्चल अस्पताल जनकपुरमा उनको उपचार भइरहेको छ। एकाएक उनको स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। अस्पतालले कोरोना परीक्षण गर्न भनेपछि परीक्षण गरिएको प्रदीपका भाइ होमनाथ साहले बताए।

'अस्पतालले कोरोना परीक्षण गर्नु भन्यो अनि परीक्षण गरेर घर नै ल्याएका थियौं। तर पछि फेरी ग्राहो भएपछि अस्पताल लगिएको हो,' होमनाथले सुनाए।

साहलाई जेठ १ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

अहिले प्रदीपको अक्सिजन दिएरै उपचार भइरहेको छ। उनको स्वास्थ्यमा केही सुधार आएको छ। 'उहाँ (मन्त्री जुली महतो)लाई हाम्रो परिवारले चिनेको थियो। त्यही भएर काहीँ अक्सिजन नपाएपछि जानकारी गराएका थियौं,' होमनाथले भने।

त्यसो त मन्त्री महतोले देशभर नै अक्सिजन अभाव भइरहेकाले त्यसको व्यवस्थापनमा लागि परेको सुनाइन्। अक्सिजन मात्र होइन, उनको मन्त्रालयले संक्रमणका कारण बाबुआमा गुमाएका बालबालिकालाई समेत हेरचाह गरिरहेको दावी गरिन्।

'स्याङ्जामा पनि एक बाबुआमा गुमाएको बच्चालाई हेरचाह गरिरहेका छौं। कसैले समस्या पर्‍यो भने सकभर समधान गर्ने कोसिसमा छौं,' मन्त्री महतोले भनिन्।

दैनिक ७ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ। धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ। अस्पतालमा वेड छैन, वेड भए अक्सिजन छैन। साह परिवार जस्तै मन्त्रीसँग हारगुहार गर्ने धेरै आम मानिसको सम्बन्ध पनि छैन। तिनीहरुका लागि साहले जस्तै हारगुहार गरिदिने पाउनु कसरी? अर्कातिर मन्त्रीले नै ट्विट गर्नुपर्ने हालतले संकेत गरेको छ - मुलुकको बेहाल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell