PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ज्ञानको लवज :  कुन दिन अनुवादित राष्ट्र गान गाइजान्छ मेरो सहोदर



पहिलोपोस्ट

ज्ञानको लवज :  कुन दिन अनुवादित राष्ट्र गान गाइजान्छ मेरो सहोदर

  • वाग्ले सौगात -

मेरो कलम लामो समय चलेनौं। निश्चित अन्तरालमा तिमीलाई सुम्सुमाउने औँलाहरूले पनि तिम्रो बिर्को खोल्ने चेष्टा गर्न सकेनन्। जबजब नयाँ ताजा केही सम्झन्थेँ, अनेक दु: खद् र पीडाका घटनाहरूले तिनलाई थिच्दै चेप्दै सृजनाका गोरेटो नमीठोसँग मासिन्थ्यो। मानौं फुट्न आँटेका हिम्तालजस्तै! आज तिमी (मेरो दशै औँलाद्वारा दौड्ने मगजको प्रतिबिम्बित विद्युतीय कागजमा कोरिएर ध्वनीद्वारा झङ्कारित हुने आकारहरूका ठेली)लाई सङ्कलन गर्ने असामान्य धृष्टता गरेको छु। न्याय गरुँला झैँ लागेको छैन। खडेरीमा चुहाएको पसिनाले कति मानो अन्न देला? त्यसको जिम्मा समयले नै लेओस्।

खैर सुरु गरौँ।

शिक्षा, अर्थात् ज्ञान। तपाईँको र मेरो। हो हामी सबैको। मैले गर्ने हरेक क्रियाकलापहरू र म हिँड्ने भविष्यको विवेकी पथ आज म के सिक्दैछु भन्ने कुरामा पूर्णतः निर्भर हुने गर्दछ। उतिबेला हाम्रा पूर्खा ऋषिमुनिकहाँ जान्थे। उहीँ ज्ञान लिन्थे। उनलाई भोजन व्यवस्था गर्थे र ज्ञानको बदला सेवा गर्थे। विस्तारै पाठशालाहरू खुल्दै गए। नेपालको सन्दर्भमा त जयपृथ्वीबहादुर देखि दरबार, शान्ति निकुञ्ज, पद्मोदय र जुद्धोदयसम्म आइपुग्दा शिक्षालयहरू व्यवस्थित हुँदै गए। पठनपाठनलाई परिस्कृत गर्दै लगियो। पाठ्यक्रमलाई परिवर्तन गरियो। समयक्रमसँगै जब श्रमको मूल्याङ्कन गर्ने थिति बुझ्दै सिक्दै शिक्षा थप तरुण बन्दै गयो। विविध वाद र आन्दोलनमा यो पनि सरिक हुन थाल्यो। अनि यहाँ निजीकरणसँगै यसलाई रकममा जोख्न थालियो। हिसाब पढाउँदै विद्यालय सञ्चालकहरूले हिसाब गर्न थाले - शुल्क र थप शुल्कको।

आज मेरा बा र आमा, कहीँ आफूलाई चार कक्षामा अङ्ग्रेजी अक्षर ‘ए’ सिकाउने गुरु भेटेँ भने शिर निहुराएर नमन गर्छन्। तर, म र मपछिको भाइ गुरु, शिक्षकभन्दा माथि उठेर सरलाई माथ दिँदै हरिवंश आचार्यले सिकाएको लवजलाई हुबहु टिपेर - गुड मर्निङ टिचर भट्याइदिन्छौँ।

म लम्फु। अमरसिंह माध्यामिक विद्यालयमा नेपाली माध्यमबाट पढेर अङ्ग्रेजी लबदाङ्कमा ‘ए जोड’ तहबाट उत्तीण गरेको छात्र। यद्यपि, कक्षा दशसम्म म स्वयंलाई अङ्ग्रेजी पुस्तक पढ्न पटक्कै आउँथेन। त्यहाँको पानीले नै पचाम्थेन कि कुन्नी ! एकाध दानधर्मी पश्चिमा आउँदा बाहेक गह्रौँ भाष्य माडसाबले पनि बोल्दैन थिए। तर, जब दशजोड दुईका खातिर राजधानी पुगियो, कार्यालय सञ्चालन र लेखा अनि अर्थशास्त्र नाम गरेका सबै मैले अङ्ग्रेजीमा पढियो - बुझेँ बुझिँनको हिसाबलाई निकै पर धकेलिदिएर बिल्कुल उज्ज्वल भविष्य नाम गरेको अदृश्य सफलताको फल चाख्ने हतारमा।

समाज के खोजिरहेको थियो, मैलेमात्र होइन मेरा सहपाठीले पनि कहिल्यै सोचेनन्। व्यवहार कस्तो हुनुपर्छ र हामीले सिक्नुपर्ने के थियो, मेरा गुरुले कहिल्यै भनिदिएनन्। उनी पनि केवल पुस्तक घोकाइरहे र थापे आफ्नो नुनको मूल्य। आज अधिकांश मालपोते नेता र उनका तालुकदार पनि त यसरी नै यही बाटो आए। र, चाहिरहेका छन् त्यसैको निरन्तरता।

अब केहीबेर लेखुँ मेरो नजिकको मित्र इन्द्रेका बारेमा। ऊ काठमाडौंको एक प्रतिष्ठित क्याम्पसमा बीए तहमा पढ्दै छ। मानविकी सङ्कायबाट अध्ययन गराउने उक्त क्याम्पस अङ्ग्रेजीमा लेख्छ - ‘हामी नेपाली भाषालाई समेत प्राथमिकता दिइ विद्यार्थीहरूलाई भाषिक ज्ञान दिइ साहित्यमा समेत दख्खल बनाउँछौँ।’ कला संस्कृतिको जगेर्ना गर्न सिकाउने विद्यालयको छात्र इन्द्रे भन्छ, 'हाम्रो क्याम्पस सामुदायिक विकासका निम्ति जनतालाई सुसुचित गर्न स्थानीय भाषा सिक्नु अपरिहार्य छ भनेर बहुलताको रटान लगाइरहन्छ। अन्तर्राष्ट्रिय भाषामा बिल्कुल पृथक लवजका साथ।”

“आज म कक्षामा गुरुसँग मेरो राष्ट्रिय भाषामा कुरा गर्न खोज्दा मेरा गुरु मलाई अन्तराष्ट्रिय भाषामा सम्झाउनुहुन्छ अनि आन्तरिक मूल्याङ्कनमा कम अङ्क आएको कारणमा उहाँ भनिदिनुहुन्छ - भाषिक समस्या देखियो,” इन्द्रेले निधार खुम्चाउँदै थप गुनासो गर्‍यो।

आज प्रविधि र आधुनिकताको नाम भजाउन तल्लिन छन् शहरी क्षेत्रका अधिकांश विद्यालय एवम् क्याम्पस। विल्कुल अव्यवहारिक शिक्षाको खेती गरेर माडसाबलाई सवारी साधनको कर तिर्न प्रेरित गर्दै जहाजका जहाज खाँदेर नेपाली श्रमको उपहार कुरिअर गरिरहेका छन् ४५ डिग्री तापक्रममा। छानिएका एकाधले चार घडी राष्ट्रिय पोशाकमा कुनै उपाधि वा असल कार्यको तस्बिर सार्वजनिक गरे भने हाम्रो छाती चौडा भइजान्छ। नेपाली भ्यागुतो झनझन् सीमसारमा दौत्य सम्बन्धको मिष्ठान्न खाएर रात दिन यसरी उनैको नक्कल गरिरहेको छ। कुन दिन अनुवादित राष्ट्र गान गाइजान्छ मेरो सहोदर।

अब निश्चित प्रतिशतलाई रञ्जना लिपीको बचाउ गर्ने रौनक छाडेर, औँलामा गन्न सकिनेले माटोको टिको लाएर मेरो सार्वभौमिकता कहिलेसम्म बचिजान्छ? त्यसको उत्तर स्वयं बालुवाटार र शीतल निवास पनि दिन नसक्ला। यद्यपि, सञ्चालित विद्याका मन्दिरहरूले अनमोल ज्ञानको तथास्तुको सपना बाँढ्दै भेटीको झोली नगहिराए हुने ! तर मेरो अपेक्षा त फगत् सोझो कामना न हो। यथार्थ त कोरोना महामारी सुरु भए यता अनलाइन कक्षाका नाममा निजी विद्यालय एवम् क्याम्पसहरूले उठाएको चर्को शुल्कले थला परेका अभिभावकहरू नै कहन सक्लान्।

अनलाइन कक्षाबारे हजार बहस भइरहँदा र त्यसको प्रभावकारिताबारे लाख प्रश्न उठिरहँदा पनि मानौं पुजारी पाल्न मन्दिरले भजन गाइरह्यो। भक्तले भजन बुझ्यो बुझेन विश्लेषण गर्ने धैर्यता भगवानले किन्चित राखेनन्। र, त म र मजस्तै विद्यार्थीहरू आफ्नो भविष्यबारे पूर्णतया अन्योलमा छौँ। फलस्वरूप आज हजारौँ कर्णधारहरू विदेशमा पढ्न जानका लागि ऋण गरेर हातमा राहादानी र भिसा बोकेर महामारीकै बिचमा पनि लस्कर लगाइरहेछन् विमानस्थल वरिपरि।

हुन त म अकिञ्चनले के जान्दथेँ र ठूलाठूला ठेलीका ज्ञान। अनि मेरो सपना नभएको पनि हुनसक्छ विश्वव्यापी प्रतिष्पर्धा गर्ने। यद्यपि, आवश्यक सिद्धान्त पढाएर सोही अनुरूपको व्यवहारिक ज्ञान दिनसक्ने हो भने भनाइ र गराइको तात्विक भिन्नता पनि त आउने थिएन। सबैको मनोकांक्षा एकै मन्दिरले पूर्ण गर्न सक्तैन। मुलुक सम्वृद्ध गर्नलाई वैशाख १ ले नव वर्ष नै खोज्छ, विजया दशमीले शुभ नै चाहन्छ अनि नेपाली पाइलाले खप्तड नै टेक्ने हुटहुटी राख्छ। हो, हामी पनि विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्छ अनि हामीले पनि जान्नुपर्छ सारा संसारका तथ्य। मूल कुरो के भने पहिले आफ्नो समाज, संस्कृति, भाषा, व्यवहार, राजनीति, बुझियो भने बल्ल त्यसले व्यवहारिक परिणाम दिनसक्छ। मुलुकको संविधान पढाएर पहिले तपाईँ सार्वभौम सत्ता सम्पन्न धर्म निरपेक्ष भन्न सिकाउनोस्, तर तपाईँ त्यसैको अनुवादित अंश रटाइदिनुहुन्छ। तब कसरी अपेक्षा गर्नुहुन्छ दक्ष जनशक्ति र देशप्रेमी नेपालीको?

आज हजारौँ मधेशी साइकलले कागज माग्दा पोशाकको पहिचान दिने स्वघोषीत नेपाली पहाडी मन। त्यो मनलाई समानता र भेदभाव विरुद्धको शिक्षा दिनुपर्ने विद्यापीठ। तर, सात समुद्र पारिको लवज टिपेर देखावटी राष्ट्रभावमा नयनी जहाज इशारा गरिरहन्छ। रोमन लिपीले ढिँडो र खिर लेखेर खाजामा स्यान्डविज खुवाउने विद्यालय सङ्गितमा मादल सिकाएर वार्षिकोत्सवमा गितारले स्वागत गान गाउन लगाउँछ। अनि कहाँ कसरी बसोस् बाल मन र लवज बुद्ध भूमिमा? केका खातिर वाचन गरोस् तरुण मनले देवकोटा? अनि कसरी अपेक्षा गरोस् वयस्क नेपाली मन मुलुकमै रोजगार र सहजताको सुनिश्चितता?

मलाई बौद्धिक चोरीका बारेमा सिकाउने गुरुले इन्टरनेटबाट चोरेर हुबहु अध्ययन गराएको प्रमाण म उनैलाई दिन डराउँछु - आन्तरिक मूल्याङ्कन र परीक्षाफलको दुई/चार अङ्कको लोभ गरेर। ममात्र कहाँ, मजस्तै डेढ दुई सय कर्णधार पनि उस्तै छन्। नैतिक शिक्षा पढेर नैतिक दबाबमा परिरहेकाहरू, जो सिरकमुनि बारबार मुड्कL ठोकिरहन्छन्। अनि बाआमाले पाँच वर्षपछि एकै नेताको एकै छापमा सही ठोके झैँ उनैलाई जिउ जिउ गरिरहन अभ्यस्त छन्।

डेढ वर्ष यता निरन्तर अनलाइन कक्षा पढिरहँदा र निकै वर्षपछि एकोहोरो घर बसिरहँदा मैले पटकपटक आफैलाई नियालिरहेको छु। मनमा हजार थोक खेलाइरहँदा र व्यवहारिक नाम दिइएको कोरा ज्ञानको रटान लगाइरहँदा मेरो सिर्जनात्मकता मस्त निद्रामा सपना देखिरहेको छ। म स्वयंको समेत मौलिकता कुन्नी कता एकान्त खोजिरहेको छ। अनि मैले मेरो धरातल चाहेर वा नचाहेर भुलिरहेको छु। बरू भोगेको छु नजानिदो पीडा र समाएको छु नभेटिने र नटुङ्गिने गोरेटो। केवल फितला आश्वासन र कोरा ज्ञानको लवजमा फिँज झैँ लाग्ने गगनी सपना। बदलामा माडसाबलाई गाडीको कर तिर्न पठाएर बाको ४५ डिग्री तापक्रमको पसिना।

सायद, नहुने हो क्यार आफ्नै रोजाइसँग रिसाउन। अनि हुने थिएन सायद क्षणिक आवेगमा अक्षर छिरोल्न। यी आकारहरूसँग बाको सपना, आमाको चाहना अनि मेरा कल्पना घुलिएका छन्। ती केवल मेरा बा र आमाको मात्र सपना-चाहना नभई अधिकांश मेरा उमेरले भोगेको तीतो वास्तविकता हो। म बुझ्छु एकाध साथीहरूले जनाएको सहमती र साथीहरूले लेखेका पानाका अक्षरले दिएको विद्यालय सञ्चालकहरूको हर्ष। तर, तिनले के लेखे भन्दा पनि तिनले के सिके भन्ने वास्तविक परीक्षण माडसाबले गर्नुभयो भने हातमा के लाग्दो रहेछ? यहाँलाई अवश्य अवगत हुनेछ।

समस्या लाख छन्। पीडा असङ्ख्य। अनगिन्ति गुनासो पनि। मैले सुझाएको समाधानले मन्दिरको पाठ रोकियो भने म र मजस्तै सोच राख्नेहरू बेकारको गालीको चपेटामा परिन्छ। हुन त गाली पक्कै पाइन्छ भन्ने थाहा हुँदाहुँदै नै लेखेको हुँ मैले यो लेख। शिक्षामा गरेको व्यापारले अनि तपाईंले सही ठानेको पाठ्यक्रमले बनाइरहेको विद्यार्थीहरूको भविष्यले कुन दिशा पक्रिरहेको छ? हेक्का कति राख्नुभएको छ भन्ने नै मूल प्रश्न हो। तपाईँका पनि पक्कै होलान् छोराछोरी। ती यूरोप, अमेरिका वा अस्ट्रेलिया गएका छन् वा हामी झैँ यस्तै शिक्षा पाइरहेका छन् कुन्नि? यदि ती अन्तर्राष्ट्रिय महाविद्यालय वा विश्वविद्यालय अध्ययनरत् छन् भने सोधिदिनुस् तिनलाई त्यहाँको शिक्षा प्रणाली र राख्नुस् सुझाव सम्बन्धित निकायमा। कारण दोष तपाईँको मात्र पक्का होइन, भाषिक र सांस्कृतिक मोहले तपाईंलाई पनि सर्लक्कै छोपेको भने पक्का छ। यदि होइन, तपाईँले पनि आफ्ना छोराछोरीलाई कुरिअर गर्ने जनशक्ति बनाउने यन्त्रमा पठाउनुभएको छ भने तिनलाई एकै पटकमात्र एकैपटक मायाले सोधिदिनुहोस्, “के तिमीले पढेको ज्ञानको लवज बुजिरहेका छौ?”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell