काठमाडौं : नेकपा एमालेको विवाद मिलाउनका लागि गठित वार्ता टोलीको बैठक बस्न सकेको छैन।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता टोली मार्फत् संवाद गरिरहेका छन्। ओली समूहका वार्ता टोलीका नेता सुवास नेम्बाङले सोमवार अनौपचारिक छलफल भएको जानकारी दिए। नेपाल समूहका तर्फबाट वार्ता टोलीका नेता भीम रावलसँग अनौपचारिक छलफल भए पनि बैठकबारे भने टुंगो नलागेको नेम्बाङले बताएका छन्। भोलिसम्ममा बैठक बस्न सक्ने भए पनि तय भने भइनसकेको उनको भनाई छ।
'रावलसँग आज मेरो दुईपटक कुराकानी भएको छ। सायद भोलि बैठक बस्नसक्छ,' उनले भने।
रावलको स्वास्थ्यमा समस्या देखिएर वार्ता अनिश्चत भएको बताइए पनि नेम्वाङले आफूलाई त्यसबारे खबर नभएको बताए। उनले वार्ता टोलीलाई समयको दबाव भएकाले चाँडै बैठक बसेर समस्या समाधान गर्ने बताए। ओली - नेपालको आइतवार सिंहदरबारमा भएको वार्ताले १० सदस्यीय वार्ता टोली गठन गरेको थियो। ओलीका तर्फबाट ५ र नेपालका तर्फबाट ५ जना नेता वार्ता टोलीमा सहभागी छन्।
नेपाल समूहबाट रावलको नेतृत्वमा घनश्याम भुसाल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त वार्ता टोलीमा छन् भने ओली समूहबाट सुवास नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।
कार्यदललाई ३ दिनको समय दिइएको छ। वार्ता टोलीलाई एमालेमा प्रवेश गरेका माओवादी नेताको व्यवस्थापन, फागुन २३ पछि दुवै समूहका गतिविधिको मूल्याङ्कन लगायतका विषयमा अध्यन गरेर प्रतिवेदन दिन निर्देशन दिइएको छ। ओली नेपालबिच एमाले माओवादी एकताको अघिल्लो दिन २०७५ जेठ २ मा फर्कँने समझदारी बनेको छ। उक्त समझदारी अनुसार नेपाल समूह माथिको कारवाही फिर्ता भएको थियो भने नेपाल समूहले सामूहिक राजीनामा रोकेको थियो।