PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

जनताको स्वास्थ्यमा सरकारले खेलबाड गरेको देउवाको आरोप, गण्डकीको बेहाल सुनाए कांग्रेस नेताले



रिना थापा

जनताको स्वास्थ्यमा सरकारले खेलबाड गरेको देउवाको आरोप, गण्डकीको बेहाल सुनाए कांग्रेस नेताले
फाइल फोटो

पोखरा : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ संक्रमणको विषयलाई लिएर चिन्तित नभएको टिप्पणी गरेका छन्। उनले जनताको स्वास्थ्यमाथि सरकारले खेलबाड गरेको गम्भीर आरोप पनि लगाए।

नेपाली कांग्रेसले कोभिड १९ विरुद्धको अभियान अन्तर्गत गण्डकी प्रदेशमा आयोजना गरेको भर्चुअल छलफलमा देउवाले भने, 'सरकारलाई चिन्ता छैन। जनताको स्वास्थ्यमा खेलबाड गर्न थाले।'

देउवाले आफ्ना नेताहरुलाई सम्बोधन गर्दै 'सोसल डिस्ट्यान्सिङ' अपनाउन सुझाए। 'बिरामीलाई अस्पताल लैजान सघाउँ,' देउवाले भने, 'सरकारलाई हामी दबाव दिन्छौं।'

अक्सिजन प्लान्ट राख्ने काम सरकारको भएको बताउँदै देउवाले भ्याक्सिन ल्याउने काम पनि सरकारको भएकाले बाध्य पार्ने बताए। 'संक्रमणमा सरकारले काम नगरे पनि हामी काम गर्छौं,' देउवाले भने।

वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्र सरकारले स्थानीय र प्रदेशलाई कोरोना विरुद्धको लडाईमा साथ दिनुपर्ने बताए।

'स्थानीय सरकारले मात्र गरेर हुन्न, केन्द्रले सहयोग र सपोर्ट गर्नुपर्छ। सक्यो भने केन्द्रीय सरकारलाई ध्यानाकर्षण, घच्घच्याउनु पर्ने देखिन्छ। नभए बाध्य बनाउनु पर्ने देखिन्छ जिम्मेवारी पालनाका लागि,' पौडेलले भने। उनले कोरोना विरुद्धको लडाईमा समेत राज्यले समेत पक्षपात गरेको आरोप लगाएका थिए।

कांग्रेस सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजनमा विभिन्न प्रदेशका नेता तथा जनप्रतिनिधिसँग सोमवारबाट छलफल शुरु गरेको हो।

महामन्त्री डा शशांक कोइरालाले सरकारले केही गर्न नसकेको उल्लेख गर्दै सबैलाई सचेत बन्न आग्रह गरे। 'भारतबाट जाँचबिना निर्वाध प्रवेश गराइरहेको छ। हामी सबै सचेत बनौं,' कोइरालाले भने।

के भने जनस्तरमा खटिएका नेताले?

कांग्रेस गण्डकी प्रदेशका नेता तथा जनप्रतिनिधिले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले केही नगरेको उल्लेख गर्दै कांग्रेस केन्द्रले आवश्यक कदम चाल्न आग्रह गरेका थिए।

गोरखा नगरपालिकाका मेयर राजन पन्तले पीसीआर रिपोर्ट आउनै हप्ता दिन लागिरहेको बताए। त्यसैगरी स्थानीय सरकारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि केन्द्र सरकारले कुनै सहयोग नगरेको उनको आरोप रह्यो। उनले भने, 'पीसीआरको रिपोर्ट आउन ६ दिन लाग्छ। केन्द्र र प्रदेश सरकारको कुनै सहयोग छैन।'

प्रदेश सांसद मनकुमारी गुरुङले पीसीआर रिपोर्ट ढिलाइले संक्रमितले समयमै उपचार नपाइरहेको उल्लेख गरिन्। प्रदेश सांसद बिन्दुकुमार थापाले गण्डकी सरकार लकडाउन गरेर सुतिरहेको उल्लेख गर्दै उपचार सेवा महँगो हुँदै गएको बताइन्। 'मनलाग्दी शुल्क लिइरहेका छन्। उपचार महँगो परिरहेको छ। सरकार लकडाउन गरेर सुतिरहेको छ,' उनले भनिन्।

तनहुँ ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले आफ्नो नगरमा कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला नै नभएको जानकारी गराए।

'कांग्रेसले झक्झक्याउन पर्‍यो'

यता, वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले सरकारले केही नगरे पनि स्थानीय सरकारले बलबुताले संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि परेको अनुभव सुनाइन्।

'कांग्रेसको ध्यान आकृष्ट होस्। हामी स्थानीय सरकारले आफ्न बलबुताले चलाइरहेका छौं। सरकारलाई झक्झक्याउनुपर्‍यो,' उनले भनिन्।

बाग्लुङका कांग्रेस सभापति दीपेन्द्र थापाले सरकारबाट पार लाग्ने नदेखिएकाले संक्रमण रोक्न कांग्रेस आफै लाग्नुपर्ने सुझाए।

'सरकारबाट पार लाग्ने देखिएन। दिन दुई गुणा रात चार गुणा बढ्दैछ। बाग्लुङमा एकै परिवारका चार जना जनाको ज्यान गयो,' उनले भने।

के गरिरहेको छ गण्डकी कांग्रेसले?

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पोखरामा संक्रमितको संख्या बढ्दो रहेको उल्लेख गर्दै पार्टीका दुई वटा कार्यालयलाई सरकारले चाहेमा आइसोलेसन बनाउन सक्छ भनेर निर्णय गरिसकेको जानकारी दिए। त्यसैगरी कास्की कांग्रेसले २ वटा गाडीलाई एम्बुलेन्सको रुपमा सेवा प्रदान गरिरहेको बताए।

सांसद मोहन पाण्डेले एमालेको सरकारले कोरोना पार लगाउने छाँट नदेखिएकोले चाँडो सर्वदलीय बैठक डाकेर रोकथाम तथा नियन्त्रणमा लागि कांग्रेसले पहल थाल्नुपर्ने प्रस्ताव गरेका थिए।

कास्की क्षेत्र नम्बर २ "ख" का सभापति प्रकाश बरालले निजी अस्पतालमा कोरोना उपचार शुल्कका विषयमा ध्यान दिनुपर्ने बताए। 'निजी अस्पतालमा कोरोना बिरामी जाँदा १ लाख रुपैयाँभन्दा बढी पैसा राख्नुपर्छ। यसमा ध्यान दिनुपर्‍यो। अहिले आइसोलेसन निर्माण भनिरहँदा अस्पताल डाक्टर नर्स हुँदा समेत बिरामीले ज्यान गुमाएका त्यसैले अस्पताललाई समक्ष बनाउनतिर सोच्नुपर्छ,' बरालले भने।

'सरकारले जनताको हत्या गर्‍यो'

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोनाको बिरामीको हत्या सरकारले गरेको बताए। 'अहिले जति कोरोना बिरामीको मृत्यु भयो त्यो सरकारले हत्या गरेको हो कमिशनको खेलमा जनतालाई खोप दिन नसकेर मृत्यु भएको हो,' उनले भने। पौडेलले कांग्रेसको भवनलाई आइसोलेसन निर्माण गर्न र चिकित्सक संघद्वारा चेतनामूलक कार्यक्रम चलाउन पहल गरेको बताए।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले अहिलेको समयमा सरकारलाई दबाब दिनुपर्ने सुनाए। अहिलेको अवस्थामा सम्पूर्ण दायित्व राज्यको बताउँदै उनले भने, 'महामारी संसारमा छ जताततै राज्यले गरेको उपचार राज्यले हेर्नुपर्छ महामारीमा राज्यले जनताको समस्यालाई हेर्नुपर्छ।'

केन्द्रिय सदस्य अर्जुन जोशीले कांग्रेस प्रतिपक्षी भएका कारण पनि अहिलेको समयमा प्रभावकारी काम हुनुनसकेको बतए।

उद्योग वाणिज्य विभागका प्रमुख चीनकाजी श्रेष्ठले कांग्रेसले नेतृत्व र नहेरेको स्थानमा मान्छेले समस्या झेल्नुपरेको बताए। 'कांग्रेसले नेतृत्व र नहेरेको स्थानमा मान्छेले कस्तो समस्या झेल्नुपरेको होला, कोरोना नियन्त्रणका लागि लकडाउन सधै गर्न मिल्दैन। यो संक्रमण अझै केही समय रहनसक्छ,' श्रेष्ठले भने ।

कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरु, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्य समितिका सभापति, गाउँ/नगरपालिका कार्यसमितिका सभापतिहरु तथा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागी थिए।

कांग्रेसले यस्तो अन्तर्क्रिया मंगलवारसम्म गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell