PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कमलपोखरीको अग्रवाल भवनमा १०० शय्याको आइसोलेसन सेन्टर



पहिलोपोस्ट

कमलपोखरीको अग्रवाल भवनमा १०० शय्याको आइसोलेसन सेन्टर

काठमाडौं: नेपाल चिकित्सक संघले कमलपोखरीको अग्रवाल भवनलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर बनाएको छ।

कोभिड १९ महामारीविरुद्धको लडाईमा होमिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालसँग समन्वय गरी संयुक्त रुपमा अग्रवाल भवनमा १०० शय्याको सुविधा सम्पन्न क्वारेन्टिन सेन्टर बनाएको छ। यसलाई केही दिनभित्रै आइसोलेसन सेन्टर बनाएर सञ्चालन गर्ने तयारी छ।

यसको सोमवार भारतीय राजदूत विनय मोहन क्वात्राले भर्चुअल माध्यमबाट उद्घाटन गरेको चिकित्सक संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

उक्त क्वारेन्टिन सेन्टरको संचालनका लागि चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा संघका केन्द्रीय सदस्य डा. रितेश थापा, बरिष्ठ प्रशासकिय अधिकृत मिलनचन्द्र खनाल सम्मिलित ३ सदस्य समिति समेत गठन गरिएको छ।

क्वारेन्टिन सेन्टरमा स्वस्थ खाना उपलब्ध गराइने छ। केही समय पश्चात् संचालन गरिने आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि तथा स्वास्थ्य परीक्षणका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको उपलब्धता गराई गुणस्तरीय सेवा उपलब्ध गराइने प्रतिबद्धता संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell