PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धनाढ्य मारवाडी घरानालाई मात्र कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको भन्दै मेयर पराजुलीको चर्को आलोचना



अनन्तराज न्यौपाने

धनाढ्य मारवाडी घरानालाई मात्र कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको भन्दै मेयर पराजुलीको चर्को आलोचना

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अक्सिजन सिलिन्डर र कोभिसिल्ड भ्याक्सिनको वितरणमा अनियमितता गरेको भन्दै उनकै पार्टीभित्रबाट असन्तुष्टि सार्वजनिक हुन थालेको छ।

प्रमुख पराजुलीले अक्सिजन सिलिन्डर गत हप्ता आफ्नै गाडीमा राखेर बिना प्राविधिक आफूनजिकका बिरामीलाई वितरण गरेका थिए।

त्यस्तै विराटनगरका ठूला औद्योगिक घराना शारडा, जाजू, लुनिया र मुन्दडा ग्रुपका परिवारका सदस्यलाई उनीहरूका घरमै आफूसहित महानगरको मेडिकल टिम लगेर कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोज दिएका थिए।

प्रमुख पराजुलीले प्रदेश सरकारसित सीमान्तकृत केही नगरवासीका लागि भन्दै जबर्जस्ती कोभिसिल्ड लिएका थिए।

प्रमुखको एकल निर्णयले गरिएको उक्त कार्यप्रति महानगरका उपप्रमुख इन्दिरा कार्कीले खुलेर विरोध गरेकी छन्।

स्थानीय मकालु टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उपप्रमुख कार्कीले प्रमुख पराजुलीले गरेको कार्य सस्तो लोकप्रियताका लागि विधि र प्रक्रिया मिचेर गरेको भन्दै असन्तुष्टि जनाइन्।

‘कोभिडग्रस्त कुनै पनि बिरामीलाई अक्सिजनको आवश्यकता छ भन्ने ठहर स्वास्थ्यकर्मी र प्राविधिकले गर्ने हो’, पहिलोपोस्ट संवाददातासित उपप्रमुख कार्कीले भनिन्, ‘बिरामीलाई कति मात्रामा अक्सिजन चाहिन्छ भनेर स्वास्थ्य प्राविधिकले निर्णय दिने हो। त्यसैगरी सिलिन्डर कसरी खोल्ने, कसरी अक्सिजन चलाउने र कसरी बन्द गर्ने भन्ने कुरा सिकाउने पनि प्राविधिकले नै हो। यो खोल्न र चलाउन जानिएन भने विष्फोट लगायतका ठूला दुर्घटना पनि हुन सक्छन्।’

उनले विषयमा ज्ञान नभएको कुनै पनि व्यक्ति जतिसुकै ठूलो पदमा पुगे पनि अक्सिजन सिलिन्डर सञ्चालन गर्ने कुरामा उसले अधिकार नराख्ने जिकिर गरिन्।

‘सस्तो लोकप्रियताले क्षणिक आनन्द त आउला तर यसले निम्त्याउने दुर्घटना दुर्दान्त हुन्छ’, उनले भनिन्, ‘प्रमुखज्यूले महानगरको स्वास्थ्य महाशाखामार्फत् प्राविधिक साथमै लगेर अक्सिजन सिलिन्डरको वितरण गर्नु भएको भए मेरो कुनै टिप्पणी हुने थिएन।’

उनले महानगरको स्वास्थ्य महाशाखालाई निष्क्रिय बनाएर एकल निर्णयले गरिएको काममा आफ्नो समर्थन हुन नसक्ने उल्लेख गरिन्।

‘स्वास्थ्य र विशेषतः कोभिडको नियन्त्रणसम्बन्धी काममा स्वास्थ्य महाशाखालाई परिचालन गरिनुपर्छ’, उपप्रमुख कार्कीको आग्रह छ, ‘हामीले महानगरको बोर्ड बैठकमा पनि यो कुरा उठाएका छौं। अन्य वडाध्यक्षले पनि एक स्वरले यहीँ भनिरहनु भएको छ। तर अरूको कुरा सुन्ने र त्यसमा चिन्तन गर्ने बानी हाम्रा प्रमुखज्यूमा रहेनछ। प्रमुखज्यूले महानगरको संयन्त्र प्रयोग गरेर एक द्वार प्रणालीबाट विधि र प्रक्रिया अपनाउँदै कोभिड नियन्त्रणका काम गर्नुपर्छ।’

त्यस्तै नेपाल तरुण दलका महानगर सभापति सन्तोष न्यौपानेले पनि सीमान्तकृत नगरवासीका लागि भनेर प्रदेश सरकारलाई झुक्याएर प्रमुख पराजुलीले ल्याउनु भएको कोभिसिल्ड भ्याक्सिन मारवाडी समुदायका केही ठूलाबडाका घरमा मात्र वितरण गरिएको भन्दै आपत्ति जनाए।

‘जनताको सेवा गर्नु स्वागतयोग्य छ’, विराटनगरका मेयर साबलाई मेरो प्रश्न भन्दै सभापति न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर उच्च कोटिका व्यापारीलाई मात्र घरमा बोलाएर कोभिड भ्याक्सिन लगाउने? अरू जनता तपाईंका होइनन् कि क्या हो मेयर साब? सस्तो लोकप्रियता अहिलेको आवश्यकता होइन, बाँचियो भने प्रतियोगिता गरुँला। हाललाई स्वास्थ्यकर्मीहरूको सल्लाहअनुसार एक द्वार प्रणालीबाट काम गरे राम्रो हुन्छ होला। महानगरको संयन्त्र प्रयोग गर्न मेरो सुझाव छ।’

न्यौपानेले प्रमुख पराजुलीले एक हप्तामा पनि आफ्नो कार्यशैली नसुधारे तरुण दलको महानगर समितिले स्वास्थ्यका सबै मापदण्ड अपनाएर देखिने गरी विरोधका कार्यक्रम गर्ने चेतावनी दिए। उनको आक्रोश छ, ‘एकै पार्टीका भनेर हामी छाड्नेवाला छैनौं। हाम्रो कर्तव्य पूरा गर्छौं।’

सुशील कोइराला फाउन्डेसनका महासचिव एवम् काङ्ग्रेस युवा नेता दीपक चापागाईंले पनि प्रमुख पराजुलीले मारवाडी समुदायका केही औद्योगिक घरानाका व्यक्तिलाई मात्र कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको भन्दै रोष व्यक्त गरे।

‘मेयर पराजुलीले व्यक्तिगत रूपमा सस्तो लोकप्रियता कमाउन चाहनु भएको छ’, नेता चापागाईंले भने, ‘यसले अन्ततः नेपाली काङ्ग्रेस पार्टीलाई नै क्षति पुर्‍याउँछ। आज महानगरका वृद्ध, रोगी र फ्रन्टलाइनरहरू दोस्रो डोज नपाएर छट्पटाइरहेका छन्। मेयर साब अत्यन्त पक्षपाती ढङ्गले नवधनाढ्य वर्गलाई खुशी पार्ने काम मात्र गर्दै हुनुहुन्छ। हामी उहाँको कार्यशैलीको खुलेर आलोचना गरिरहेका छौं।’

उनले मेयर पराजुलीले अत्यन्त अहङ्कारी चालमा भारतका मोदी र नेपालका केपी ओलीकै शैलीमा आफूले मात्र जस पाउने गरी काम गरिरहेको टिप्पणी गरे।

पहिलोपोस्टसित मेयर पराजुलीले आफूले व्यक्तिगत रूपमा आफ्नै गाडीमा राखेर कोभिडका बिरामीलाई ५० वटा सिलिन्डर वितरण गरेको स्वीकार गरे।

‘मैले बिनाअधिकार केही गरेको छैन’, पराजुलीको भनाइ छ, ‘आफू पनि केही नगर्ने अनि गर्नेको पनि इर्स्या गर्नेले दिएका अभिव्यक्तिप्रति मेरो मतलब छैन। कोभिड नियन्त्रण मेरो दायित्व हो। मैले जति सेवा महानगरमा कसैले गरेको छैन भन्ने मेरो दाबी छ।’

तर सिलिन्डर वितरण गर्दा महानगरको स्वास्थ्य महाशाखालाई किन जानकारी र परिचालन गरिएन भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘मसित स्वास्थ्यकर्मी थिए। प्राविधिक जनशक्ति थियो।’

पराजुलीले आफूले कसैका घरमा गएर कोभिसिल्डको दोस्रो डोज उपलब्ध नगराएको जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell