काठमाडौं: नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिले कोभिड १९ महामारीमा संक्रमित र विरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
समिति संयोजक अधिवक्ता सुनिलकुमार पोखरेलले सोमवार विज्ञप्ति जारी गरेर महामारीबाट थप मानवीय क्षति हुन नदिन र नागरिक जीवनको रक्षाका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण सरोकारवालालाई समितिले अक्सिजन, भेन्टिलेटर, औषधि लगायत आधारभूत वस्तुको समुचित व्यवस्थापन गर्न अपिल गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालभर महामारीको यस्तो अबस्थामा नागरिकको जीवन रक्षाका लागि अत्यावश्यक अक्सिजन, औषधि, अस्पतालको शय्या समेतको चरम अभाव भएको र सामान्य उपचार पनि नपाएर हजारी व्यक्तिहरुले मृत्युवरण गर्नु परेको कारुणिक अवस्थाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ।’
नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकार र सम्मानपुर्वक बाँच्न पाउने अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि महामारीमा जनताको जीवन रक्षाको जिम्मा लिएका तिनै तहका सरकारहरु नागरिकको जीवनरक्षा गर्नमा पूर्णत. उदासिन देखिएको विज्ञप्तिमा उल्लेख छ।
खोप लगायतका बस्तुको आयात कमिशनका कारणले रोकिएको, मुलुक मै उपलब्ध स्वास्थ्य सामाग्रीको उपलब्धतामा कृतिम अभाव र कालोबजारीको बिडम्बनापूर्ण अवस्था रहेको भन्दै समितिले भनेको छ, ‘यो गैर जिम्मेवारीको पराकाष्टा मात्र नभई अमानवीय पनि हो। नागरिकप्रतिको यस्तो गैर जिम्मेवारीपना प्रति यो समिति खेद व्यक्त गर्दछ।’
समितिले महामारीको यस घडीमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरुको तत्काल व्यवस्थापन गरि थप मानवीय क्षति हुन नदिन र नागरिक जीवनको रक्षा गर्न तिनवटै सरकार र सरोकारवालसँग अपिल गरेको छ।
महामारीमा संक्रमितहरुको जीवनरक्षाका लागि आफनो जीवन समेतको प्रवाह नगरि दिनरात खट्ने स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, गैरसरकारी संघसंस्थाहरु लगायत सम्पूर्ण सहयोगी हातहरुप्रति समितिले धन्यवाद पनि ज्ञापन गरेको छ।