PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निषेधाज्ञामा कलाकारको दैनिकी : कोही पुस्तक लेख्दै, कोही राहत बाँड्दै



लक्ष्मी बलायर

निषेधाज्ञामा कलाकारको दैनिकी : कोही पुस्तक लेख्दै, कोही राहत बाँड्दै

काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दियो। जसअनुसार हालसम्म ७४ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ। बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा हालसम्म जारी छ। कोरोनाले भयावह अवस्था बनाएपछि अन्य जिल्लामा पनि निषेधाज्ञा थपिने क्रम पनि जारी छ। सबै क्षेत्र ठप्प हुँदा कलाकारहरु पनि फुर्सदिला भएका छन्।

कलाकार लक्ष्मी गिरी पुस्तककी सौखिन हुन्। गत वर्षको लकडाउन झै यो निषेधाज्ञाको समयमा पनि उनी पुस्तक पढिरहेकी छिन्। सामाजिक संजाल चलाउनु अहिले धेरैको दैनिकी भइसक्यो। गिरीले भने सामाजिक संजाल छोडेको चार वर्ष भइसक्यो। अहिले महामारीको समायमा समाचार र सूचना थाहा पाउन उनी रेडियो र टिभीको भर पर्छिन्।

सामाजिक संजालसँग धेरै खेलिएन भने लकडाउन कटाउन सजिलो हुने उनको तर्क छ। भन्छिन् 'जो सामाजिक संजाल हेर्छन्। तिनीहरु आत्तिन्छन्। हेरेपछि मनमा त्रासहरु आउँछन्। मैले जानेर नै गएको चुनावदेखि फेसबुक चलाउन छोडेकी। अहिले किताबहरु नै मेरा साथी बनेका छन्।'

मन आतिएको बेला  पुस्तक 'आइ क्यान' दोहोर्‍याएर पढ्ने उनले बताइन्। महामारीको समयमा सबैभन्दा ठुलो कुरा सामाजिक अनुशासनलाई मान्छिन् उनी। 'जहाँ हामी आफैभित्र अनुशासित हुदैनौँ। त्यहाँ मात्र रोगले च्याप्ने हो। पहिले पनि त धेरै रोग आएको होनी। तर अहिले त धेरै रोगको ‌औषधी आइसकेको छ।' उनले भनिन् 'हामीले आफैलाई सुरक्षित गर्ने समय हो।'

सामाजिक अनुशासनको लागि राजनीतिक अनुशासन जरुरी रहेको उनको मत छ। सरकारले लगाएको नियमहरु पालना गर्नुका साथै वैज्ञानिकहरुले गरेका तथ्यहरुलाई अनुशरण गरेर आफूलाई सुरक्षित राख्न सकिने उनको भनाई छ।

नृत्य निर्देशक भैरव बहादुर थापा उमेरले ८९ लागे पनि अहिलेसम्म निकै फुर्तिला छन्। जसको कारण हो सन्तुलित भोजन र स्वस्थ जीवनशैली। गत वर्ष लकडाउनको समयमा नृत्यसम्बन्धि पुस्तक लेखेका उनले यो लकडाउनमा पनि पुस्तक लेख्नै व्यस्त छन्।

उनी पुस्तक 'हिँड्दा हिँड्दै बनेका तस्विर' लेखिरहेका छन्। भन्छन् 'बुढेसकाल भयो। कलम चलाउने काम भइरहेको छ। पुस्तक लेख्नुका साथै कविताहरु समेत लेखिरहेको छु।'

शरीरलाई नै भगवान मान्छन् उनी। आफ्नो शरीरको आफैल नै 'केयर' गरेर आत्माको पनि ख्याल राखे कोरोना नलाग्ने बताउँछन् उनी। साथै सबैलाई लकडाउनको पूर्ण पालना गर्न समेत उनले सुझाए।

अभिनेत्री लक्ष्मी बर्देवा भने श्रीमान जीवन भट्टराईसँगै घरमै छिन्। सधै फिल्म हेर्नु उनको दैनिकी बनेको छ। साथै खाली समय सिरिजहरु हेरेर बिताउने गरेकी छिन्।

यो समयमा सबैलाई मानसिक तनाव निकै हुन सक्ने उनको तर्क छ। भन्छिन् 'यस्तो बेला डिप्रेशन, एन्जाइटीहरु जस्ता समस्याहरु देखिन् सक्छन्। त्यस्तो समस्या नहोस् भनेर म आफुलाई जे गर्दा खुसी लागिरहेको छ, त्यहि गरिरहेकी छु।'

यो समयमा घरभित्र बस्नु र सरकारले लगाएको लकडाउनको पुर्ण ‌रुपमा पालना गर्नु बाहेक विकल्प नरहेको उनले सुनाइन्।

'पछि हुने कुरामा चिन्ता मान्न अहिले छोडिदिनुपर्छ। सबैभन्दा ठुलो कुरा बाँच्नु हो। अहिलेको संघर्ष जीवनको लागि हो। जीवन छ भने हामी सबै कुरा गर्न सक्छौँ। बाचे पो संसार देखिन्छ।'उनले बताइन्।

सेल्फ केयर र अनुशासित जीवनशैली अपनाउनुका साथै आफु लगायत अरुको स्वास्थ्यको ख्याल राख्न समेत उनले आग्रह गरिन्।

यता, कोरोना महामारीको दोस्रो लहरबिच अभिनेता दिलिप रायमाझी पनि 'इन्ट्रा फाउन्डेसन अफ अमेरिका' मार्फत राहत बाड्ने कार्यक्रममा व्यस्त छन्। माक्स, सेनिटाइजर र पीपीईहरु बाँडिरहेका छन् उनी।

झापाको भुटानी शणनार्थी शिविरमा राहतको सामाग्रीहरु बाँडेको उनले हाल आफुलाई जतिसक्दो सुरक्षित राखेर बस्ने बेला भएको बताउँछन्।

अभिनेता सलोन बस्नेत पनि घरमै फिल्महरु हेरेर बसिरहेका छन्। नेपाली र हलिउड फिल्महरु सँगै साथीहरुसँग अनलाई गेमहरु खेल्नु उनको दिनचर्या हो।

उनलाई कोरोना महामारीको बेला सामाजिक संजालमा अरुको आत्मबल घट्ने पोष्ट सेयर गर्न मन पर्दैन्। भन्छन् 'मैले अरुको मनोबल घट्ने समाचार र पोष्टहरु सेयर गरेको छैन।  नराम्रा पोष्टहरु देख्दा एकछिन डर लाग्छ। तर कुनै दिन सबै ठिक हुन्छ भनेर सकरात्मक सोच्ने गर्छु।'

यो समयमा सरकारबाट आशा गर्ने भन्दा पनि आफ्ना लागि आफैले सोच्ने समय रहेको उनले बताए। आफ्नो सुरक्षा आफ्नै हातमा रहेकाले सकेसम्म आफै नै सचेत भएर सुरक्षित रहन उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell