काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको बताएको छ। केन्द्रले आज सूचना जारी गर्दै अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको बताएको हो।
कोरोना संक्रमणको रोकथाम नियन्त्रण मात्रै सबै भन्दा प्रभावकारी हुने भन्दै केन्द्रले बैशाख ६ गतेको नेपाल सरकारको आदेश अनुसार जिम्मेवार निकायहरुबाट तोकिए अनुसार भूमिकाहरु बढाउन सुझाव दिएको छ।
सूचनामा भनिएको छ, ‘अझ बढी संक्रमण भएका काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडिरहेको देखिन्छ। त्यसैले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन सम्बन्धित सबैमा मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ।’
विवाह ब्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा भेला हुने ठूला जनमानस यसको कारण र भुक्तभोगि दुवै भएको भन्दै केन्द्रले अबका केहि हप्ता अझै पनि चुनौतिपूर्ण रहेकोले सबै संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ।
‘जनजीवनमा कठिनाई पर्न गए पनि हामीसँग संक्रमण रोगथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधाज्ञाको अझैपनि बुझी नबुझी लुकीछिपी वा खुल्मखुल्ला उल्लंघन भइरहेको देखिन्छ,’ सूचनामा भनिएको छ।
संक्रामक रोगहरुको महामारीमा रोकथाम मात्रै उपाय हुन सक्ने केन्द्रको भनाइ छ। त्यसैले कोभिड-१९ को संक्रमण फैलिन नदिनु धेरै बुद्धिमानी हुने केन्द्रले सुझाव दिएको छ।
